इन्सपेक्टर केशव बोहरा सेती अञ्चल गुल्ममा कार्यरत थिए । थरुहट आन्दोलन चर्किंदै थियो । बिदा सकेर दुई दिनअघि काठमाडौँबाट धनगढी गएका उनलाई ०७२ भदौ ७ को बिहान एसएसपी लक्ष्मण न्यौपानेले भने– ‘बोहरा ! टीकापुर जानुपर्ने भयो, हिँड।’
चुस्ता र बुट उन्दै उनले पत्नी शारदा कडायतलाई फोन गरे– ‘म टीकापुर गएँ है।’
शारदा काठमाडौँमा थिइन् । फोनमा उनले भनिन्– ‘खुला सिमाना छ, पहिले भजनीतिरबाट डाका आउँथे, चौधरीहरु हतियार बोकेर आउलान्, भीडमा सीधै अगाडि नजानु है।’
सीमाङ्कनको विरोधमा दुई दिनअघि सुर्खेतमा आन्दोलनकारीको आक्रमणबाट डीएसपी घाइते भएका थिए । केशवले त्यही उदाहरण दिँदै भने–‘मलाई थाहा छ, सुर्खेतको आन्दोलनबाट हामीले पाठ सिकेका छौँ।’