प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियाे अविश्वास प्रस्ताव 

तेजन खड्का

विराटनगर
फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश १ प्रतिनिधिसभा बैठकबाट प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ।

अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गर्दै नेकपा माओवादी नेता इन्द्र आङ्बोले वर्तमानमा अविश्वासको प्रस्तावको औचित्य सकिएकाले प्रस्ताव फिर्ता लिने निर्णय गरिएको बताए।

‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको परिस्थितिमा औचित्यहीन भयो,’ आङ्बोले भने, ‘त्यसैले यो प्रस्ताव फिर्ता लिन्छौँ।’

अविश्वास प्रस्तावको समर्थकमध्येका नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले आङ्बोको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै सरकारप्रतिको आफूहरूको अविश्वास भने अझै नसकिएको बताएका थिए।

उनले भने, ‘विशेष परिस्थितिमा संसद्मा अविश्वास प्रस्ताव फिर्ता भए पनि सरकारप्रति अझै हाम्रो विश्वास छैन।’

त्यसैगरी, विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका सचेतक केदार कार्कीले सरकारको कार्यशैलीको विरोध गरे।

वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको उनले आरोप लगाए। ‘यो सरकार माथिल्ला नेता र मन्त्रीहरूप्रति मात्र उत्तरदायी भयो,’ उनको भनाइ थियो, ‘जनताप्रति यसको कुनै जवाफदेहिता देखिएन।’

त्यस्तै, प्रदेश १ जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर रहेको बताए।

‘तीन तहको सरकारको कुरा गर्ने,’ उनले भने, ‘अनि हामी आफैँ (सरकार र सांसदहरु) संघीय सरकारकै मुख ताक्ने भइरहेको छ।’ यो तीन वर्षमा सरकारले तय गरेका एउटै नारा पूरा गर्न नसकेको आरोप बताए।

शून्य समयमा विभिन्न दलका सांसद्हरूले समेत आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा सभामुखले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेश १ प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र र मन्त्रिपरिषद्का सदस्य हेरफेर सम्बन्धमा प्रदेश १ मन्त्रिपरिषद सचिवालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

आगामी चैत २६ गते २ बजेका लागि प्रदेशसभाको अर्को बैठक तोकिएको छ।



प्रदेश १ मा माओवादी केन्द्रले समर्थन र अविश्वासको प्रस्ताव फिर्ता लिने

प्रकाशित मिति: : 2021-04-05 18:11:00

प्रतिकृया दिनुहोस्