मिथिलाको आँगनमा कर्णालीको विरह सुन्ने फुर्सद कसलाई पो होला !

शिलापत्र

काठमाडाै‌ं

 सरला गौतम

धिपधिप धिपधिप रङ्गीन उज्यालोमा खुलेको थियो मिथिलाको आँगन जानकी मन्दिर  । यही रङमा खुल्दै थियो मधेस–पहाडको मायाको अपूर्व माधुर्य । तारादेवी जनकपुर गइन् गइनन् होला तर उनले गाएको गीतको गुञ्जनमा हराइरहेको थियो एउटा साँझ ।

चन्द्रेशा पाण्डेको जादुमयी आवाजमा मधेस-पहाड मायाको अर्केस्ट्रा बौरिँदै थियो । काठमाडौंबाट परपर देखिने कर्णाली र उस्तै पर देखिने मिथिला नगरी हातेमालो गरिरहेको त्यो क्षण साच्चै अभूतपूर्व थियो । जनकपुर साहित्य मेलाको स्वप्नद्रष्टा अमित झा निष्प्राण भएर उत्सवकै दिन लडेका थिए । शोकमा डुबेको मिथिलाको काँध थाम्दै थियो कर्णाली । दुई भूगोलको दुखाई थियो उस्तै, गाढा हुँदै थियो माया उस्तै । मिथिला रोएको दिन, रोएर पनि हिम्मत नहारेको दिन ।

कर्णालीले जनकपुरको काँध थामेको क्षण केवल शब्दहरूको, विचारहरूको  मात्र उत्सव थिएन । अक्षरहरूको बहानामा साटिएको मित्रता र बन्धुत्वको उत्सव थियो । साँच्चै खुलेको थियो सातौँ रङको उज्यालोमा मिथिलाको आँगन । सुसेल्दै कर्णाली नदी भन्दै थिइन् होला, अलिकति दु:ख अलिकति सुख साटेर हेर, झाँकेर हेर हृदयमा एक अर्काको, तिमीहरूको घाउ उस्तै देखिन्छ । राजनीतिको रोटी सेक्नेहरूले लगाइदिएको मनहरूको घाउ, मितेरीको मलमले पुर्दै थियो ।

ठाडी भाकामा विरह पोख्ने कर्णाली मिथिलाको गीत सुन्दै थियो । मुग्लान जानेहरूको कहर मिथिला सुन्दै थियो । मुग्लानी लाहुरेको वीरता र विरहको कथा  मिथिलाको आँगनमा सुनाउन पाँउदाको त्यो क्षण सुन्दर तस्वीर बनेर बसिदियो मेरो मनमा पनि । संयोग सुनौलो मिल्यो । मिथिलाको आँगनमा कर्णालीको विरह पोखिएको क्षणको साक्षी बसेपछि कर्णालीको आँगनमा मिथिलाको बह बहेको हेर्ने मौका मिल्यो ।

 

प्रकाशित मिति: : 2021-04-04 11:54:00

प्रतिकृया दिनुहोस्