शेयरबजारमा फेरि उत्साह, हालसम्मकै उच्चविन्दुमा पुगेर फर्कियो नेप्से

फाइल तस्वीर
फाइल तस्वीर

सेयर खरिदबिक्री रकममा दिनदिनै वृद्धि हुन थालेको छ। बढ्दो क्रममा रहेको नेप्से सूचकलाई कारोबार भोलुम दिनहुँ वृद्धि हुँदै साथ दिइरहेको छ। यसबाट बजार दिगो सुधारतर्फ अघि बढेको अनुमान गर्न थालिएको छ।

बिहीबार २१८ कम्पनीको ७४ हजार २०८ पटकको कारोबारमा ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। पछिल्लो समय कारोबार भोलुमले ७ अर्ब नाघ्न सकेको थिएन।

बजारमा उत्साह आउँदा ८ कम्पनीको भाउ ९% भन्दा बढी तथा सर्किट लाग्ने तहमा वृद्धि भएको हो। नेप्से सूचक १२.८८ अंकले वृद्धि भएर २६३१.९० विन्दुमा आइपुगेको छ।

अघिल्लो कारोबार दिन ४३.३५ अंक बढेर २६१९.०२ विन्दुमा पुगेको नेप्से साताको अन्तिम दिन बिहीवार दिन प्रि–ओपन सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको थियो।

अलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लाग्यो तर आधा घण्टापछि बजार सम्हालिएर उकालो लागेको थियो।

साताको अन्तिम दिन बिहीबार ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

शतप्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको एचआईडिसिएलको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.५३ प्रतिशत घटेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। बिहीबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६३ प्रतिशत बढेको छ।

त्यसैगरी, अन्य उपसमूहको परिसूचक ३.२६ प्रतिशत, विकास बैंकको २.०३ प्रतिशत र वित्तको १.९६ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ५६ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन एचआईडिसिएल, अपि पावर र नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: : 2021-04-01 16:10:00

प्रतिकृया दिनुहोस्