‘२०४८ सालमा पहिलो लहर चल्दै थियो कोरिया जाने। रिस्क नै थियो। म र मेरा अन्य दुई साथी ७५ हजार खर्च गरेर अवैधानिक रुपमा कोरिया प्रस्थान गर्यौँ। तर एकजना साथीलाई एयरपोर्टबाटै फिर्ता पठाइदियो डकुमेन्ट मिलेन भनेर,’ आफ्ना सुरुवाती दिन सम्झिँदै थिए ताप्लेजुङका ४९ वर्षीय प्रेम गुरुङ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण प्रेमले एलएलसी पास गरेपछि अध्ययनलाई अगाडि बढाउन पाएनन्। दुई वर्ष गाउँकै प्राथमिक विद्यालयमा पढाए। ब्रिटिस लाहुरेमा पनि नभिडेका भने होइनन् तर फेल भएपछि विदेश जाने सोच बनाए।
आफूले पढाएर जम्मा गरेको आठ हजार रुपैयाँ बोकेर साउदी जान्छु भनेर उनी काठमाडौँ हानिए। काठमाडौँ आएपछि उनका एक साथीले दक्षिण कोरिया जान सल्लाह दिए।
प्रेम भन्छन्, ‘मसँग पैसा त थिएन। तर बुवाले घर जमिनदारलाई जिम्मा लगाइदिएर ७५ हजार लिएर काठमाडौँ आउनुभयो। अनि कोरिया जाने प्रोसेस सुरु गरेको थिएँ।’