महोत्तरीबाट बेपत्ता भएका ७ किशोरी भारतमा भेटिए, नेपाल फर्काउने तयारी

विजय साह

जनकपुर

महोत्तरीको धर्मपुर टोलबाट बेपत्ता भएका सात जना किशोरी भारतको सीतामढीमा फेला परेका छन्।

भारतकाे बिहार प्रहरीले उनीहरुलाई सीतामढीस्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको छ। उनीहरुलाई सीतामढी प्रहरी चौकीमा राखिएको बुझिएको छ। यसको पुष्टि भने नेपाल प्रहरीबाट हुन बाँकी छ।

प्राप्त जानकारीअनुसार बिहार पुलिसले नियन्त्रणमा लिएको किशोरीहरु सकुशल रहेका छन्। नेपाल प्रहरी वा अभिभावकले प्रमाण खुल्ने आधार लिएर आएमा उनीहरुलाई सुम्पिदिने बिहार पुलिसको भनाई छ।

भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका सात जना किशोरी मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न निस्केका थिए। उनीहरू घाँस काटिरहेकै स्थानबाट सम्पर्कमा विहीन बनेका थिए।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता किशोरी तथा बालिकाहरुको बेपत्ताबारे थाहा पाएलगतै व्यापक रुपमा प्रहरी परिचालन गरिएको बताए। घटनाको विभिन्न एंगलबाट अनुसन्धान थालिएको उनले सुनाए।

यसरी सम्पर्क बिहीन हुनेहरुमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन्। उनीहरू सबै एउटै टोलका हुन्।

‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर आज नफर्केपछि हामी खोजतलासमा जुट्यौँ। प्रहरीलाई पनि जानकारी गराएका छौँ', ज्योतिका बुवा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका थिए।’



घाँस काट्न गएका ७ किशोरी बेपत्ता

प्रकाशित मिति: : 2021-03-31 10:53:00

प्रतिकृया दिनुहोस्