घाँस काट्न गएका ७ किशोरी बेपत्ता

विजय साह

जनकपुर

महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना किशोरी बेपत्ता भएका छन्। 

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू बुधबार बिहानसम्म सम्पर्कमा आएका छैनन्।

बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन्। उनीहरू सबै एउटै टोलका हुन्।

ज्योतिका बुवा विष्णु पासवानले भने, ‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर अहिलेसम्म नफर्केपछि हामी खोजतलासमा जुट्यौँ।'

उनीहरुलाई घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा घाँस काट्दै गरेको अवस्थामा देखेको स्थानीयले बताएका छन्। 

उनीहरु समूहमै दिउँसो घाँस काट्न घर नजिकैको चौरमा गएको र साँझसम्म घर नफर्किदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर संजिव साहले बताए।

‘चेलीबेटीहरु घाँस काट्न गएका थिए। उनीहरु अहिलेसम्म घर आएका छैनन्। खोजीका लागि प्रहरीलाई खबर गरेको छु', मेयर साहले भने। 

साँझ ढिलासम्म घर नफर्किएपछि स्थानीय त्रसित बनेका छन्।

युवती तथा बालिकाहरु बेपत्ता बनेको खबर पाउनसाथ खोजी कार्यको लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। 

प्रकाशित मिति: : 2021-03-31 08:36:00

प्रतिकृया दिनुहोस्