विश्व राजनीतिमा नयाँ हलचल, अमेरिकी नेतृत्वको एकध्रुवीय विश्वको सूर्यास्त !

लोकान्तर

काठमाडौं

विगत दुई महिनामा विकसित भएका घटनाक्रमले अमेरिकी नेतृत्वको एकध्रुवीय विश्वलाई बहुध्रुवीय शक्तिहरूले कठोर चुनौती दिइरहेको र एक कदम अघि बढेर भन्नुपर्दा युरेसियाली शताब्दीको उदय भएको देखिएको छ। 

पछिल्ला घटनाक्रमहरू यसप्रकार छन्। पहिलो, चीन र भारतबीच लद्दाखमा सेना फिर्ती तथा तनाव घटाउने प्रयास। दोस्रो, भारत र पाकिस्तानबीचको युद्धविराम। तेस्रो, रुसको एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किनेमा भारतलाई प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी। चौथो, चीन र अमेरिकाबीच अलास्कामा भएको तिक्ततापूर्ण संवाद आदानप्रदानपछि चीन र रुसले अमेरिकी प्रभुत्वको विश्व व्यवस्था नमान्ने बयान। पाँचौं, अफगान युद्ध अन्त्यका लागि भइरहेका प्रगति। छैटौं, चीन र इरानबीच २५ वर्षको रणनीतिक सम्झौता। यसैसँग सन् २०२० मा चीनले युरोपेली संघसित गरेको लगानी सम्झौता तथा रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप जस्तो बहुपक्षीय सम्झौता पनि जोडिन आउँछन्। 

यी घटनाक्रमका पछाडि चीन केन्द्रीय शक्तिका रूपमा रहेको छ। बहुध्रुवीय विश्वलाई अघि बढाउनमा चीनको भूमिका अपरिहार्य देखिन्छ। 

अमेरिकामा बाइडन प्रशासनले पूर्ववर्ती ट्म्प प्रशासनकै जस्तो गरी चीन र रुसप्रति शत्रुतापूर्ण नीति अपनाएपछि चीनको अगुवाइमा युरेसियाली उदयले थप गति पाएको हो। 

चीन, भारत र पाकिस्तान तीनै मुलुकको रणनीतिक चासो रहेको कश्मीर युद्धको प्रखर सम्भावना बोकेको क्षेत्र हो। तर यी तीनै मुलुकले यस क्षेत्रमा तनाव घटाउन र सेना फिर्ता गराउनुमै स्थिरता जोडिएको छ भन्ने कुरा महसूस गरी शान्तिका लागि पहल गरेका छन्। आफ्ना विमतिहरूलाई शान्तिका साथ हल गर्नका लागि उनीहरू तत्पर देखिनु युरेसियाली क्षेत्रका लागि सुखद खबर हो। 

प्रकाशित मिति: : 2021-03-29 16:42:00

प्रतिकृया दिनुहोस्