रङको पर्व, रङको खेल, रंगीन आनन्द अनि रंगीन मदहोश भरिएको उत्सव होली जस्तो अरू पर्व खोजेर पनि भेटिन्न। भक्ति—सूत्र, प्रवचन नं १६ मा ओशोले गर्नुभएको वर्णन सुन्दा होलीको व्याख्याले ध्यान मग्न बनाइदिन्छ।
विचार शून्यतामा तल्लीनता महसुस गराउने, स्वछन्द नृत्यमा डुबाउने, सप्तरंगी मन र प्रेमले ओतप्रोत पार्दै हाँसो मजाकमा रङ उडाउने, उल्लासको महोत्सव जति विशेषण दिए पनि अपूर्ण नै हुन्छ किनकि होली आफैंमा पूर्णताको पर्वभन्दा अनुपयुक्त हुँदैन।
प्रल्हाद र हिरन्यकश्यपु बाबु छोराको ऐतिहासिक सम्बन्ध
होली भन्नासाथ त्रेतायुगमा हिरन्यकश्यप असुरहरूका राजाले आफ्नै छोरा भगवान् भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए।
भगवान् विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती जोडिएर आउँछ। पुराण इतिहास होइन यो त महाकाव्य हो।
पुराणमा जे कुरा उल्लेख हुन्छ त्यो तत्कालीन समयको सूचक मात्र होइन त्यस्तै अवस्था वर्तमानमा पनि छ भन्ने सूचक हो। पुराणमा घटनाको मात्र उल्लेख हुँदैन त्यसमा उल्लेखित सत्यले आजको अवस्थामा समेत के शिक्षा प्रदान गरिरहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ।