उत्तर कोरिया भन्छ- 'शान्तिको नाममा अमेरिकाको हैकमवादी सोचलाई सम्मान गर्न सकिन्न'

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : rand.org
Photo : rand.org

अमेरिकाले उत्तर कोरिया शान्तिको पक्षमा नभएको भनेर गरेको आलोचनामा उत्तर कोरियाले पनि कडा जवाफ फर्काएको छ। 

उत्तर कोरियाले विहिबार 'बैलिस्टिक मिसाइल' परिक्षण गरेपछि अमेरिकाले उत्तर कोरियाले अझै शान्ति नचाहेको आरोप लगाएको थियो। 

उत्तर कोरियाका वरिष्ठ अधिकारी री प्योङ्ग चोलले अमेरिकाले गरेको सैन्य अभ्यासबाट मात्र शान्ति प्रक्रिया हुने तर अरु देशले गर्दा शान्ति प्रक्रिया भंग हुने अमेरिकाको दोहरो मापदण्ड बुझ्न नसकेको बताएका छन्।  

साथै उनले एउटा देशले अर्को देशको आत्मरक्षाको अधिकारलाई हनन गर्न नहुने पनि बताए। उनले भने, 'उत्तर कोरियाको लागि कुनै विकल्प छैन। अमेरिका आफुलाई विश्वको एकमात्र शक्तिशाली देश भएको हेर्न चाहन्छ। जुन विचार केवल एउटा अपराधीको मात्र हुन्छ।' 

उनले उत्तर कोरिया जहिलेपनि शान्तिको पक्षमा रहेको तर शान्ति कायम गर्ने भन्दैमा अमेरिकाको हैकमवादी सोचलाई सम्मान गर्न नसकिनेसमेत बताएका छन्।

पछिल्लो समय अमेरिकासँग परमाणु वार्तामा गतिरोध उत्पन्न भएपछि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति विस्तार गर्दैछ। 

अमेरिकाले भने उत्तर कोरिया जहिले पनि युद्धको 'मुड'मा हुने र हरेक विषयलाई उल्टो तरिकाले व्याख्या गर्ने बताउँदै आएको छ। 
 

प्रकाशित मिति: : 2021-03-28 06:29:00

प्रतिकृया दिनुहोस्