विपन्नता र अपांगताबीच मुसहर बस्तीमा निःशुल्क पढाउँदै एक युवा

आफैँ सुकुम्बासी परिवारका सदस्य हुन्, तर विपन्नलाई सहयोग गर्न उनी अघि सरेका छन्। आफैँ ह्विलचेयरमा हिँडडुल गर्नुपर्ने बाध्यता छ, तर समाजलाई जागृत र शिक्षित बनाउने उनको यात्रा निरन्तर छ। 

आफैँ कठिन जीवन सामना गरिरहेका विराटनगर– १६ रानीनिवासी ४० वर्षीय राजु क्षेत्री सीमा क्षेत्रमा बसोवास गर्ने भूमिहीन मुसहर समुदायका बालबालिकालाई पढाइरहेका छन्। ह्विलचेयरको भरमा उनी हरेक दिन तीन किलोमिटर यात्रा गरेर मुसहरबस्ती पुग्छन् जहाँ करिब ५० बालबालिका जम्मा हुन्छन्। पढ्ने उमेरका यी बालबालिकाका लागि सरकारको दायित्व के हो? थाहा छैन। तर, राजुले उनीहरूलाई निःशुल्क, तर नियमित पढाउँदै आएका छन्। 

मुसहर समुदायका बालबालिकालाई पढाउने मात्र होइन, पैसा जुटाएर कापी–कलम किनिदिने र वेलावेला खाजा र चकलेटसमेत वितरण गर्छन् राजु। उनको स्नेहले बालबालिकालाई आकर्षित गरिरहेको छ। छोराछोरीले पढ्न थालेपछि मुसहरबस्तीका अभिभावक पनि दंग छन्।

प्रकाशित मिति: : 2021-03-28 06:02:00

प्रतिकृया दिनुहोस्