ऋग्वेदको सारतत्व 

उदयचन्द्र वशिष्ठ

पूर्व  सिक्किम 

ॐ  अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम् |
होतारं रत्नधातमम्  |

यो ऋग्वेदको पहिलो मंत्र हो। यस मन्त्रद्वारा यज्ञकर्ता ऋषिगण धन, पुष्ठी र वीरता दिने साथै हवी लैजाने एवं ज्ञान र कर्ममा लगाउने देवगण विशेष अग्नि देवताका स्तुति गर्दछन्।

वेदको अर्थ जान्नु  हो र जान्नु  भनेको ज्ञान हो। यसलाई श्रुति पनि भन्दछन्। ऋषिहरुले आफ्नो हृदयमा वेदलाई सुने यसर्थ यो श्रुति भयो। चारवेद औऋक् , यजुर, साम र अथर्ववेद मध्ये ऋग्वेद धेरै दृष्टिले सारै महत्वपूर्ण छ। यसमा सुन्दर कथन र सुक्तिहरु भएका मन्त्रहरुको समूह अर्थात् ऋक् अथवा ऋचा पनि समावेश हुँदा ऋग्वेदको शब्दको अर्थ ऋचाहरुको ज्ञान भन्ने बुझिन्छ। 

ऋग्वेदका ऋचाहरुमा मुख्यतया देवताहरुको स्तुति लगायत ऋषिहरुले आफ्ना चारैतिर देखेर पाएका अनुभव र ज्ञानलाई मन्त्ररूपमा बाँधेर राखेका छन्। प्राकृतिक सबै वस्तु ऋषिहरूका चिन्तनका विषय हुन पुगेका छन्। यसबाट सृष्टिका अनेक रहस्यको उद् घाटन भएको पाइन्छ। हाम्रा पुर्खाहरुको सामाजिक, धार्मिक, आर्थिक, वैज्ञानिक र नैतिक उन्नति उजागर गर्ने विश्वको पहिलो ग्रन्थ ऋग्वेद नै हो भन्ने कुरा पश्चिमी देशका विद्वानहरुले पनि नि:सन्देह  मानिसकेका छन्।

ऋग्वेदमा जम्मा १० मण्डल छन्। प्रत्येक मण्डलमा सुक्त अर्थात् मन्त्रको समूह अष्टक अर्थात् ८-८  सुक्तको विभाग त्यसमा ८ अध्याय , वर्ग, अनुवाक र सुक्त रूपमा विभाजित छ। सुक्तपनि धेरै मन्त्र अथवा ऋचामा छ | यस हिसाबले ऋग्वेदमा जम्मा १०५५२ मन्त्रहरु छन्।

श्रुति नित्यज्ञान अनादि परम्पराले  सुनेर पाइन्छ। वेद भगवानको नि: श्वास हो |यसलाई सृष्टिको आदिमा स्रष्टाले जगत् कर्ताको नि: श्वासलाई सुने। स्रष्टाबाट प्रजापति  ब्रह्माले अग्निद्वारा ज्ञानको यस नि:स्वासलाई सुनेको हुनाले यो श्रुति भयो। यो भनाई  ईश्वरीय पूर्णज्ञान नै वेद हो। उपयोगको  दृष्टिले ज्ञानकाण्ड, उपासनाकाण्ड र कर्मकाण्ड गरी सबै वेद ३ भागमा बाँडिएका छन्। यसैकारण वेदलाई ‘त्रयी’ ( वेदत्रयी) भन्दछन्। सत्ययुगका मानिस तप र ध्यान गर्दथे तर त्रेता युग लागेपछि यज्ञभ्यास पनि शुरु भयो र एउटै वेदलाई यज्ञादिमा सुविस्ता होस् भनि व्यासले चारवेदमा छुट्याएका हुन्। यज्ञ गर्दा वा कर्म गर्दा ऋग्वेदी होता, यजुर्वेदी अहवर्यु, सामवेदी उद्गाता र अथर्ववेदी ब्रह्माका रूपमा वरण गरिन्छन्।

अरे अस्य महतो मुतस्य नि : श्वसितमेतद् ऋग्वेदो यजुर्वेद : सामवेदोर्थवाङ्गिरस :

 वृहदारणयक: 

ऋग्वेदका दुई  विभाग पाइन्छन्। पहिलो विभागमा  मण्डल, अनुवाक्, र सुक्त र दोस्रो विभागमा अष्टक, अध्याय र सुक्त। मण्डलमा जम्मा गरिएको मन्त्रको थुप्रोलाई  सुक्त भन्दछन् अनि सुक्तको प्रत्येक खण्डलाई ऋचा वा मन्त्र भन्दछन्। अष्टक ८ छन्। प्रत्येक अष्टकमा ४ अध्याय छन्।

वेद पछि ब्राह्मण ग्रन्थ आउँछ। यसले यज्ञको विधि विधान र कर्मकाण्डमा प्रकाश पारेको छ। ऋग्वेदका कौषीतकी  र ऐतरेय नामका दुई ब्राह्मण छन् जसमा सोमयज्ञ र राजसूय नामका यज्ञको वर्णन छ। यसका ऐतरेय अरण्यक ग्रन्थमा  उपनिषद् ज्ञानकाण्डमा कुरा संग्रहित छन्।उपनिषद् वेदान्त ग्रन्थको रूपमा गनिन्छ। कौषीतकी  ब्राह्मणोपनिषद कर्मकाण्डले परिपूर्ण छ। ऋग्वेदमा दश मण्डल अर्थात् खण्डहरु छन्। अरु मण्डल भन्दा पहिलो र दशौँ मण्डल ठूला छन्। यिनमा सुक्तहरु छन्। यी दुवै मण्डलमा विभिन्न ऋषिहरुले प्रकट गरेका सुक्त अर्थात् सुन्दर कथन भएका ऋचाहरुको संग्रह छ। धेरै जस्तो सुक्त एकला-एकलै ऋषिका छन् भने कतै एउटै सुक्तका  द्रष्टा ऋषि एक भन्दा धेरै पनि छन्। यसप्रकार  ऋग्वेदमा गृत्समदम् , विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज, वशिष्ठ, गौतम, अगस्त्य, गर्ग, भृगु आदि पुग नपुग ३०० ऋषिहरूको नाम आउँछ जसले ऋग्वेद प्रकट गरे। वेद मानवद्वारा रचित होइन। यो सर्वप्रथम  ईश्वरद्वारा ब्रह्माले पाएको ज्ञान हो। ऋषि मन्त्रका द्रष्टा अर्थात् देख्नेवाला हुन् , रचयिता होइनन्|  वेद स्वत: प्रमाणित छ। जस्तै घामलाई अर्को उज्यालो चाहिंदैन त्यस्तै वेदलाई अर्को प्रमाण चाहिंदैन।

मन्त्रद्रष्टा ऋषि बाहेक प्रत्येक मन्त्रका देवता हुन्छन्।मन्त्र देव स्वरूप मानिन्छन्। ऋग्वेदमा परमात्माको शक्ति स्वरूप प्रकृति र संचालन गर्ने अरु अग्नि, मरूत ( वायु) , इन्द्र , विश्वेदेवा , पुषा , मित्रावारूण , द्दावा  -पृथिवी आदि धेरै मन्त्रात्मक देवता छन्। प्रत्येक पदार्थमा र विधामा र विधानमा जड र चेतन शक्तिलाई नै महत्व दिन्थे। मनुष्यमा पनि चैतन्य शक्तिको निकै विकास भए पछि जड वस्तुसित पनि चेतनताको व्यवहार हुन थाल्छ। रोग निवारक औषधि र मन्त्र- तन्त्रमा विद्वानहरु देवताको शक्ति जगाउँछ। मन्त्रहरुलाई देव शक्ति सम्पन्न मान्नुको तात्पर्य यही हो। वैदिक ऋषिहरू शरीरको शक्ति, मनको शक्ति धेरै बलियो हुन्छ र त्यो भन्दा पनि आत्मशक्ति अति प्रबल हुन्छ भनेर जान्दथे। यसैले ,उनीहरुले मनुष्यको मानसिक , आध्यात्मिक शक्तिलाई उपयोगमा ल्याउन सिकाए।

वेद विधाको अर्को नाम हो। वेद अनन्त छ। 
‘अणोरणीयान् महतो महियान् ‘- सबैभन्दा सानो र सबै भन्दा ठूलो त्यही अव्यक्त - अनन्त अक्षर तत्व हो। यस अनादि – अनन्त विश्वको मुहान पनि त्यही हो।

सबै वैदिक मन्त्र झैँ  ऋग्वेदका वैदिक मन्त्रहरु पनि छन्दमा छन्।छन्द ज्ञान नभईकन वेदका मन्त्र शुद्धरुपले पढ्न सकिंदैन र उचित फल पाइंदैन। संस्कृतका मध्यकालीन र आधुनिक काव्यका चारपाउ छन्द भन्दा वैदिक छन्द भिन्नै हुन्छन्। वैदिक छन्दको शास्त्रलाई पिंगलशास्त्र भन्दछन्। गायत्री, उष्निक, अनुष्टुप, वृहती, पंक्ति, त्रिषटुप जगती, ककुम् आदि मुख्य छन्दहरु  हुन्। वेदलाई अनन्त भनेको छ। त्यसै गरी यसका देवता र छन्द पनि अनन्त छन्।

वैदिक ऋचा र अक्षरहरु उच्च, मध्यम र मन्द आवाजले उच्चारण गरिन्छन्। यसरी बोल्ने नियमलाई स्वर भन्दछन्। उदात्त , अनुदात्त र स्वरित गरी वैदिक स्वर मुख्यरूपले तीन वटा छन्। अनुदत्तमा स्वरवर्णको उच्चारण निर्धारित स्थानबाट तल तेस्रो रेखा गरिन्छ, स्वरितका लागि अक्षरमाथि ठाड़ो रेखा र दुई स्वरका  बीचबाट उदात्तको उच्चारण गर्ने चलन छ। शरीरका अङ्ग रोक्नु, बोली खस्रो पार्नु, जोरसित बोल्नु, आदि उदात्त शरीर –अङ्ग लुलो पार्नु, कमलो बोली,  घाँटी चौडा पार्नु आदि अनुदात्त र दुवै मिलाएर बोल्नु स्वरित स्वर हुन्छ। यसका लागि तेर्सा र ठाडा रेखाहरु लाग्दछन्।
 ऋग्वेद उत्तम विचारको महासागर हो। वेदको अध्ययन सही मानेमा जीवनको निर्माण गर्नु हो। वेदहरु मध्ये ऋग्वेदबाट पूर्खाहरुका भाव, भाषा, धर्म, समाज, वाणिज्य,  भूगोल, इतिहास, विज्ञान आदिको यथार्थ भेद पाउन सकिन्छ। ४० अध्याय भएको यजुर्वेदमा कर्मकाण्ड प्रधान मन्त्रहरुको संग्रह छ। सामवेदमा कर्मकाण्ड र यज्ञमा तथा उत्सवहरुमा गाइने मन्त्र छन् र अथर्व वेदमा झारफुक गर्ने, दवाई गर्ने र अभिचारका मन्त्रहरु र हितकारी मन्त्रहरु छन्। यसैगरी वेदका शाखा, सुत्र, ब्राह्मण, आरण्यक र उपनिषद्हरु पनि छन्। यस हिसाबले वेद अथाह ज्ञानको सागर हो।

वेदका मन्त्रको अर्थ अति गहिरो छ। यसको अर्थ दैविक र आध्यात्मिक दृष्टिले खोजिन्छ। स्थूलरूपमा बाहिरी कर्मकाण्ड, पूजा, उपासना, प्रार्थना र शिक्षाको विषय र सूक्ष्मरूपमा सूक्ष्म पदार्थ अथवा कुनै कामको वैज्ञानिक रहस्यलाई प्रकट गरेर उन्नतिका बाटामा लाग्ने ज्ञान गराउने र कारणरुप अर्थभित्र श्राप, वरदान , अष्टसिद्धि र आत्मज्ञान सम्बन्धि कुरा आउँछन्।

ऋग्वेदको यस प्रथम मन्त्रमा स्तुति गरिएका अग्नि स्थुलरुप नभएर त्यसको चेतनशक्ति हो। ऋषि मरणशील अग्निमा व्याप्त अमरताका उपासक थिए । उनी भन्छन्  “ अपश्यमस्य महतो महित्वममर्त्यस्य मर्त्यासु विक्षु।“

यसैगरी इन्द्र आदि देवतामा पनि परमात्माको शक्ति देख्तथे। यसरी देवशक्तिले घेरिएका ऋषिहरूले शक्तिसित भौतिक मनुष्यसित झैं बातचित गर्दथे। यसरी संसारमा रहेर पनि भावना उच्च धरातलमा राखेर जीवनको परम सत्यलाई देख्ने सामर्थ्य थियो।
अर्को कुरा, वैदिक ऋषिहरू समन्वयवादी थिए। मनुष्यको आध्यात्मिक प्रगतिका लागि चाहिने ज्ञान ,उपासना र कर्मको पूर्णसमन्वय वेदमा पाइन्छ।

“तस्माद् यज्ञात् सर्वहुत ऋचः सामानि जज्ञिरे।
छंदा सि जज्ञिरे तस्माद् यजुस् तस्माद् अजायत।“

अर्थात् ऋक् , यजु: , साम अथर्व चारै वेद ईश्वरीय ज्ञानबाट प्रादुर्भाव भए। ज्ञान , उपासना र कर्ममध्ये एउटैलाई समातेर अर्काको निन्दा गर्नु , स्वार्थ-बुद्धि हो। गीतले पनि समन्वयको उपदेश दिएको छ तर सम्प्रदायवादले गर्दा पूर्वीय समाजमा भेद – भाव आएको छ। यदि समाजलाई संगठित र शक्तिशाली बनाउने हो भने वेदको सर्वश्रेष्ठ समन्वयलाई अंगाल्नु पर्छ।

ऋग्वेदले भन्छ –“ ॐ संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।
                     देवा भागं यथा पूर्वे सञ्जानाना उपासते।।“

अर्थात्,  हे  मानिसहरु! सामन्य रूपमा सँगै बस ; सँगै बोल; एक अर्कालाई बुझ ; जसरी प्राचीन कालमा  देवताहरूले पनि एक अर्कालाई चिनेका थिए ,बुझेका थिए त्यसैले तिनले एक अर्कालाई सहयोग गरे । तिमी पनि  यसप्रकारका धार्मिक कार्य गर्दै जाउ।

इति शुभम्।

प्रकाशित मिति: : 2021-03-27 13:47:00

प्रतिकृया दिनुहोस्