ढुंगेधाराले देखाउँछ १६ सय वर्षअघिको नेपाली सभ्यता, मंगलहिटीकाे शिलालेखले के भन्छ ?

शिलापत्र

काठमाडाैं

सत्यमोहन जोशीको उमेरमा १५०० वर्ष थपिदिने हो भने पाटन मंगलहिटीको उमेर यकिन हुन्छ- १६०० वर्ष ! तर, विडम्बना, १६०० वर्ष पुरानो मंगलहिटीबारे मुस्किलले १६ वटा कुरा पनि हामीलाई थाहा छैन।  

पाचौं शताब्दीमा बनेको मंगल (हिटी) धाराले हालसम्म पाटनवासीका लागि कतिऔँ पटक, कतिऔं पुस्ताका लागि प्यास मेटायो होला त ? 

कुनै गणितले यसको हिसाब निकाल्न शायदै सक्ला !

केही वर्षअघिसम्म मंगलहिटीमा आइरहेको पानी

कुनै समय आम जनजिब्रोको प्यास मेटाएको हिटी हाल भने आफ्नै आँत भिजाउन प्रतिक्षारत देखिन्छ, संघर्षरत छ।

हुन पनि, यतिबेला मंगलहिटी मौसमी भएको छ। आक्कलझुक्कल वर्षातमा मात्रै झुल्किने मंगलहिटीको पानी कुनै बेला २४ घण्टा नै कलकल बग्ने गरेको स्थानीयवासी ६५ वर्षीय दिलेन्द्रराज श्रेष्ठ सम्झन्छन्, ‘मेरो त खानेपानीको धारा मात्रै होइन, खेल्ने आँगन नै थियो, मंगलधारा।’

तत्कालीन पाटन दरबारमा रहेको पद्यम विद्या आश्रममा पढाइ पूरा गरेका श्रेष्ठका लागि मंगलहिटीसँगको नाता बाल्यकालदेखिको नै रहेकाले यादगार रहेको बताउँछन्। ‘हामी त मंगलधारामा गुच्चा खेल्न जान्थ्यौँ’, बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘ढुङ्गामा हान्दा त्यसमा लागेर तुरून्तै फर्किने गुच्चा कति त शिलालेखमै ठोक्काएर पनि खेलियो होला’, बालसुलभ कसूरको पनि लेखाजोखा गर्ने प्रयास गर्छन् श्रेष्ठ। 

पानी नसुकेको भए यतिखेर अधिकांश समय मंगलहिटीमा हरेक दिन पानी थाप्नेहरूको भीड लाग्ने गर्थ्याे । पानी सुकेकाले हिजोआज मानिसहरू इनारको बोरिङ र घरायसी पाइपमा आश्रित हुन पुगेका छन्। 

त्यसो त खानेपानीका लागि मात्रै होइन, मंगलहिटीको पानीसँग विशेष धार्मिक महत्त्व पनि गाँसिएको छ।

प्रकाशित मिति: : 2021-03-27 08:03:00

प्रतिकृया दिनुहोस्