सोनी शाही
आइतबार बिहान १० बजेतिर भक्तपुरको पाँचतले मन्दिरअगाडि चहलपहल थियो । कोही ट्र्याक्टरमा काठ ल्याउँदै थिए, कोही आएको काठ झार्नमा व्यस्त थिए, कोही काठमा बुट्टा भर्दै थिए । वृद्धदेखि युवा रथनिर्माणमा जुटेका थिए ।
६० वर्षीय प्रेमलाल शिल्पकार नेवारीमा अह्राउँदै थिए, ‘थो सिं अखे टि’ -यो काठ उता राख_ । उनी आफैँ पनि काममा खटिँदै थिए । उनी रथ बनाउने नायः -नाइके_ रहेछन् ।
भक्तपुरमा बिस्का (बिस्केट) जात्राका अवसरमा भैरवको रथ तान्ने गरिन्छ। प्रेमलालले बिस्केट जात्राका लागि भैरवनाथको रथ (भैल खः) बनाउने जिम्मा लिएर नायःका रुपमा काम गर्न थालेको १९ वर्ष भयो। त्यसो त यो उनको पुख्र्यौली पेसा हो। उनले जिम्मा लिनुअघि पनि रथ बनाउने काम उनकै परिवारले गर्र्दै आएको थियो। ‘पहिले मेरो हजुरबुवाले गर्नुहुन्थ्यो, उहाँ बितेपछि बुवाले गर्नुभयो र बुबापछि अहिले मैले यो काम गरिरहेको छु,’ प्रेमलाल हाँस्दै भन्छन्, ‘अहिले रथ बनाउने अरु नाइके भन्ने नै छैनन् यहाँ। अब यो रथ बनाउने जिम्मा लिएन भने हामीलाई पुलिसले लान्छ होला।’
प्रेमलाल पेसाले कार्पेन्टर हुन्। उनले पाटी, सत्तल र मन्दिर बनाउने काम गर्छन्। उनका दुई छोराले फर्निचर पसल खोलेका छन्। उनका छोरा प्रेमकृष्ण शिल्पकार पनि भैरवनाथको रथ बनाउने काठमा बुट्टा कुद्न व्यस्त थिए। ‘बुवाबाटै यो काम सिकेको हुँ। हरेक वर्ष बुबालाई सहयोग गर्न म आउँछु।’ उनका अनुसार, पछिल्लो पुस्तालाई बनाउने काम आउँदैन।
जात्राको सबै जिम्मा गुठी संस्थान कार्यालय लिन्छ। गुठीबाट रथ निर्माणका लागि बजेट आउँछ। अहिले रथ बनाउन ६ जना खटिएका छन्। अहिले प्रेमलाललाई दैनिक ज्याला २२ सय रुपैयाँ आउँछ भने अन्यको एक हजार भन्दा माथि ज्याला छ।