वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन ‘बुक बिल्डिङ’

Merolagani
Merolagani

पछिल्ला दिनमा वास्तविक क्षेत्रका उद्योग तथा कम्पनी एकपछि अर्को गर्दै साधारण शेयर बिक्रीमा केन्द्रित भइरहेका छन्। शिवम् सिमेन्टले शुरु गरेको साधारण शेयर बिक्रीको क्रम चन्द्रागिरि हिल्ससम्म आइपुगेको छ।

शेयर बजारको विस्तार र विकासका लागि वास्तविक क्षेत्रका कम्पनी तथा उद्योग शेयर बजारमा प्रवेश गर्नु जरुरी रहेको भन्दै सरकारले बजेटमा समेत सो व्यवस्था समेटेको छ। 

सरकारको सोही योजनाअनुसार नै  वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा आकर्षित गर्ने ध्येयका साथ नेपाल धितोपत्र बोर्डले साधारण शेयरमा ‘बुक बिल्डिङ विधि’ कार्यान्वयनमा ल्याएको जनाएको छ। यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा  साधारण शेयर बिक्री गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ। 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना गरेको छलफलमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले शेयर बजारको विस्तारका लागि बुक बिल्डिङ विधि पनि एउटा उपाय भएको बताए। यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनको भनाइ छ।  

नेपाल राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि शेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा कम असर पर्ने उनको भनाइ छ। 

धितोपत्र निष्कासनको लागि गराइएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसतभन्दा कम जोखिम भएको चुक्ता पूँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो तीन आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट साधारण शेयर बिक्री गर्नसक्ने बोर्डको भनाइ छ। 

सो विधिबाट साधारण शेयर निष्काशन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कूल निष्काशन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। निष्काशन भएको छ महीनासम्म संस्थागत लगानीर्ताले शेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ। साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को  १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ।

पहिले अनिवार्यरुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था रहे पनि बोर्डले केही समय अगाडि मात्रै चुक्ता पूँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ। 

यसैबीच, सर्वोत्तम सिमेन्टले साधारण शेयर बिक्री  गरेको तीन महीनाभित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गरेकामा बोर्डले त्यस्तो गतिविधि नियालीरहेको बताएको छ। कार्यकारी निर्देशक गिरीले भने, 'कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौँ’ भन्न मिल्दैन।' रासस  

प्रकाशित मिति: : 2021-03-23 20:39:00

प्रतिकृया दिनुहोस्