सविता बुढा
धनगढी, कैलालीका वीरेन्द्र रम्तेलका हजुरबुवा जुत्ता सिउँथे। उनका बुवाले यही काम गरे। वीरेन्द्रले पनि सुरूसुरूमा आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिए।
सडकमा बसेर अरूका जुत्ता सिउँदै आएका बाजेबुवाको कामलाई वीरेन्द्रले अहिले उद्यम बनाएर नयाँ उचाइमा लगेका छन्। उनी अहिले जुत्ता उद्योगका मालिक हुन्।
'बाजे पुरानो राष्ट्र बैंक भएको भवनअगाडि सडकमा बसेर जुत्ता सिउने काम गर्नुहुन्थ्यो,' वीरेन्द्रले सम्झिए।
यो उद्यमको बीउ भने उनका हजुरबुवाले नै रोपेका थिए। जुत्ता सिलाउने कामबाट मात्र परिवारको आर्थिक भार खेप्न पुग्थेन। हजुरबुवाले गाउँमै जुत्ता बनाउने काठको साँचो (फ्रेम) बनाउन लगाए। उतिबेला बाहिरबाट सामान ल्याउनेबारे थाहै थिएन। त्यही काठको साँचोमा हालेर हजुरबुवाले आफैं छालाका जुत्ता बनाउन थालेका थिए।
'हजुरबुवा दिनभरी सडकमा फाटेका जुत्ता सिउनुहुन्थ्यो। बचेको समयमा आफैं जुत्ता बनाउनुहुन्थ्यो। हप्तामा दुई-चार जोर बिक्थे,' यी कुरा वीरेन्द्रलाई उनका बुवा राजेन्द्रले सुनाएका हुन्।
वीरेन्द्रका अनुसार त्यसबेला खासगरी सरकारी कर्मचारीहरूले जुत्ता अर्डर गर्थे।
'उनीहरूले लगाउने बुटहरू एक-दुई जोर अर्डर आएपछि मात्रै बनाउनुहुन्थ्यो,' आफ्ना बुवाका भनाइ सम्झिँदै वीरेन्द्रले सुनाए।
वीरेन्द्र ५ वर्षका छँदा हजुरबुवा बिते। उनका बुवा राजेन्द्रलाई यो काममा खास रूचि थिएन। राजेन्द्र १४ वर्षकै उमेरमा काम गर्न भनेर भारत गए। भारतमा फर्निचर बनाउने ठाउँमा काम गर्थे। तर रम्तेल परिवारको गरिबीको उक्सेन। झन् धेरै चपेटामा पर्यो।
१७ वर्ष जति उतै काम गरेपछि राजेन्द्रले आफ्नै देश फर्किने निधो गरे। अर्काको देशमा मजदुरी गर्नुभन्दा आफ्नै गाउँमा बुवाको पेसालाई अपनाएर गुजारा चलाउने सोचे।