के अर्को मेलम्ची बन्दै छ काठमाडौं–तराई द्रुतमार्ग? ४ वर्षमा १३ प्रतिशत मात्रै काम

नेपाल खबर

काठमाडौँ

बसन्त अर्याल

काठमाडौं–तराई द्रुतमार्गमा ५० अर्ब बजेट विनियोजन हुँदा १८ अर्ब ३६ करोडमात्रै खर्च हुनसकेको छ।

२०७४ मा नेपाली सेनालाई जिम्मा दिइएको द्रुतमार्गको हालसम्म करिब १३ प्रतिशत मात्रै प्रगति भएको हो।

आर्थिक वर्ष २०७३/०७४ बाट बजेट विनियोजन सुरु गरिएको आयोजना सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत थियो। २०७४ वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो।

नेपाली सेनाले आयोजनाको जिम्मा पाएपछि सडक तथा पुल निर्माण हुने क्षेत्रमा माटो कटानलगायतका काम तीव्रगतिमा भए पनि द्रुतमार्गको मुख्य संरचना निर्माण सुरु नै हुनसकेको छैन।

संसदको विकास तथा प्रविधि समितिले द्रुतमार्ग दोस्रो मेलम्ची हुनसक्ने बताएको छ।

समिति सभापति कल्याणी खड्काले सुरुमा माटो काट्ने काम तीव्र भए पनि हाल समस्या धेरै देखिएको बताएकी छिन्।

‘सुरुमा ३ वर्षमा सकिन्छ भनेको आयोजना ४ वर्षमा १३ प्रतिशत काम भएको छ’, सोमबार बसेको विकास समिति बैठकमा सभापति खड्काले भनिन्, ‘मुआब्जालगायत ठेक्का प्रक्रियामै विवाद देखिएको छ। यस्तै हो भने मेलम्ची आयोजनाजस्तै हुनसक्छ।’

द्रुतमार्ग आयोजनालाई ११ वटा प्याकेज बनाई निर्माणकार्य अघि बढाइएको छ। जसमा सबैभन्दा जटिल सुरुङमार्ग र अग्ला पुललाई मानिएको छ।

कुल ७२.५ किमिमध्ये द्रुतमार्गमा ६.४१ किमिको तीनवटा सुरुङमार्ग छन्। जसलाई दुईवटा प्याकेजमा काम हुने सेनाले जनाएको छ। पहिलो प्याकेज महादेवटार सुरुङमार्ग ३.३५ किमिको हुनेछ भने दोस्रो प्याकेज धेद्रे १.६३ र लेनडांडा १.४३ किमीको सुरुङमार्ग निर्माण हुनेछ।

प्रकाशित मिति: : 2021-03-22 21:24:00

प्रतिकृया दिनुहोस्