तपाईंको ‘लगेज’ काठमाडौं विमानस्थलमै छुटेको त छैन ?

बाह्रखरी

काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३०० ‘लगेज’ थुप्रिएका छन्। विमान कम्पनीहरुले यात्रुसँगै लगेज समयमै नल्याइदिँदा कतिपय नेपाली यात्रु बिनालगेज आफ्नो घर पुग्छन्। कतिपय यात्रुको त विदेश फर्किएपछि मात्रै लगेज यहाँ आइपुग्ने गरेको पनि छ । त्यस्ता यात्रुको लगेज विमानस्थल कार्यालयको ‘कन्भेयर वेल्ट’मा राखिएको छ।

यात्रुले नलगेका लगेजको व्यवस्थापन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मा पाएको नेपाल वायुसेवा निगमले गर्दै आएको छ। विमानस्थलको ‘कन्भेयर बेल्ट’मै ठूलो कोठामा आल्मुनियमको खापा बनाएर ती सामान राख्ने गरिन्थ्यो। तर, अहिले विमानस्थल सुधारको क्रममा सामान राखिएको कोठा भत्काइएको छ। ती सामानलाई विमानस्थलभित्रै सुरक्षित रूपमा राखिएको निगमले जनाएको छ।

निगमको एयरपोर्ट शाखा प्रमुख अनिल घिमिरेका अनुसार असोजयता करिब ३०० लगेज विमानस्थलमा छन्। ती लगेज नागरिक उड्डयन प्राधिकरण, भन्सार, विमानस्थल प्रहरी र निगमको संयुक्त निगरानीमा राखिएको छ। उनका अनुसार कुनै यात्रुले आफ्नो लगेज लिनको लागि तीन महिनासम्म दाबी गर्न सक्छन्। तर, त्यसपछि पनि लगेज नलगिए लिलामीका लागि भन्सार कार्यालयलाई हस्तान्तरण गरिन्छ।

प्रकाशित मिति: : 2021-03-22 11:20:00

प्रतिकृया दिनुहोस्