साहित्य सङ्गमद्वारा विभिन्न सम्मान तथा पुरस्कार घोषणा

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ। साहित्य सङ्गमका अनुसार १० सम्मान तथा १० पुरस्कार प्रदान गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको हो।

मकवानपुरको अग्रणी साहित्य संस्था सङ्गमले २० हजार राशिको गोपालप्रसाद रिमाल स्मृति सम्मान काठमाडौँ निवासी कवि तथा नाटककार गोपाल पराजुलीलाई प्रदान गर्ने जनाएको छ।

यो सम्मान साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको सङ्गमका अध्यक्ष निमेष निखिलले जानकारी दिए। यसअघि यो सम्मानबाट साहित्यकार एवं नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन्।

यस्तै पारिजात स्मृति सम्मानबाट डा अरुण उप्रेतीलाई सम्मान गर्ने संस्थाले जनाएको छ। आर्दश टोल विकास संस्था हेटौँडा–१० ले स्थापना गरेको सम्मानको राशि १५ हजार ५५५ रहेको छ। साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्याएबापत उनलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

यसैगरी मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ। सङ्गमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो। सम्मानपत्रसहित १५ हजार ५५५ प्रदान गर्न लागिएको हो। उनले साहित्य सङ्गमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर नेतृत्व गरेका तिए। 

व्यङ्ग्यकार भैरव अर्यालको परिवारले स्थापना गरेको २१ हजार १११ राशिको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवं व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ। यो सम्मानबाट धुर्मुस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन्।

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते सङ्गमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिईन्। सम्मान तथा पुरस्कार सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष एकपटक प्रदान गर्न लागिएको हो। रासस

प्रकाशित मिति: : 2021-03-22 11:04:00

प्रतिकृया दिनुहोस्