स्कूल जाँदा प्रकाश दर्जीसँग राम्रो लुगा थिएन। बाल्यकालमा पनि राम्रो लुगाएको याद छैन उनलाई। अझ उनका हजुरबुवा तथा बुवा भने अरूका लागि नयाँ लुगा तयार पारिरहेका हुन्थे।
बुवा-बाजेले सिलाइ पेशा गर्दाको पीडा देखे-भोगेका प्रकाश सोच्थे, ‘म त यो काम कहिल्यै गर्दिनँ।’ त्यही पीडाबोधले उनलाई पुर्ख्यौली पेशालाई फरक तरिकाले अघि बढाउन प्रेरित गर्यो।
सुदूरपश्चिमको बझाङबाट महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं पुग्दा उनले सिलाइको कामलाई नै 'ब्रान्ड' बनाएका छन्। धनगढीमा यसलाई उनले ‘सुटगढी’ नाम दिएका छन् भने काठमाडौंमा ‘सुटमान्डु’ बनाएका छन्।
उनी डेढ दशकमै कैयौंलाई रोजगारी दिने व्यवसायी त बनेका छन् नै, आफू पनि लाखौं आम्दानी गरिरहेका छन्। यो कसरी सम्भव भयो? प्रकाशको छोटो उत्तर छ, “पुर्ख्यौली पेशालाई आधुनिकतासँगै जोडेर व्यावसायिक बनाएँ।”