फिल्मी दुनियाँ छाडेर ‘चियावाला’ बनेका गणेशदेव : बुवा–बाजेको पेशामै खुशी

लोकान्तर

काठमाडौं

अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक जितगढी किल्लाको समिप । ३०० वर्ष अगाडिको व्यापारिक केन्द्र (बटौली) पारि बुटवल ।

तिनाउ नदीको काखैमा रहेको पुरानो बटौलीको २०० वर्ष पुरानो ३ तले घर । जहाँ चलचित्र निर्देशक/निर्माता गणेशदेव पाण्डेले शुरू गरेका छन्, चिया पसल । 

आश्चर्यलाग्दो चिया पसल भएको ठाउँ निमचोकले समेत परिचित छ । निमचोकमा आजभन्दा ६०–६५ वर्षअघिसम्म पहाडबाट नून खेप्न बटौली आउने भरियाहरू भारी बिसाउँथे । पहाडबाट ल्याइएका घ्यू ठूलो कराईमा राखेर खारिन्थ्यो । बुटवलको सांस्कृतिक शहरका रूपमा अगाडि बढाइएको त्यो पहाडको काममा अहिले नयाँ तरिकाबाट युवा गणेशदेवले चिया खार्दैछन् ।

जुन ठाउँ बुटवल उपमहानगरपालिका–१ मा पर्छ । त्यहीँ चिया पिएर आनन्द लिने चोकमा बुटवलका गणेश (४२) ले स्थापित हुन पाइला लम्काएका छन् । जहाँ चिया ब्राण्डको थालनीकर्ता पाण्डे बनेका छन् । 

काठमाडौंको बाग्मती करिडोर आलोकनगरमा गत वर्ष उनले शुरू गरेको चियाको व्यापार आफ्नै घरनेर विस्तार भएको छ । बुटवलमै जन्मिएका पाण्डेले बाल्यकाल यतै बिताए । उच्च शिक्षापछि उनी भारतमा चलचित्र सम्बन्धी अध्ययनमा हानिए । नेपाल फर्किएर गाँजाबाँजा, मञ्जरी, मालतीको भट्टी लगायत आधा दर्जन नेपाली चलचित्रको निर्देशन गरिसकेका उनमा बिस्तारै रुचि हराउँदै गयो । नेपालमा चलचित्र सम्बन्धी झन्झटले उनको रुचि फक्रिन पाएन । फिल्म क्षेत्रबाट केही पछाडि हटेपछि उनी एउटा निचोडमा पुगे – म चिया पसल नयाँ ढंगले चलाउँछु ।

प्रकाशित मिति: : 2021-03-20 17:09:00

प्रतिकृया दिनुहोस्