४० वर्षपछि भारतीय जेलबाट छुटे इलामका दुर्गाप्रसाद

अनलाइनखबर

काठमाडौँ

सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन्। उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन्।

कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको अनलाइनखबरलाई बताए। उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ।’ उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो। प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुटेका हुन्।

अदालतले प्रत्येक ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ। त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो।

प्रकाशित मिति: : 2021-03-20 15:09:00

प्रतिकृया दिनुहोस्