मेलवादेवीको बिग्रिएको त्यो स्वर

नागरिक दैनिक

काठमाडाैं

मनिराज गुरुङ

पहिलो नेपाली रेकर्डेड गीत ‘सवारी मेरो रेलैमा’की सर्जक (शब्द, संगीत र स्वर) मेलवादेवी गुरुङको यो गीतको अन्तिम हरफको शब्द उनकै जीवनसँग ठ्याक्कै मेल खान पुग्यो। संयोग पनि कस्तो भने उनी विविध कारणले नेपालमा रहन नसक्ने अवस्था सिर्जना भएपछि रेल चढेर बिरानो देश भारतको कलकत्ता पुगिन्। अनेकौँ कष्ट सहँदै नेपाली तथा भारतीय गीत–संगीतमा उल्लेख्य योगदान पुर्‍याएकी उनको निधन असामयिक एवं चुपचाप भयो। खाना पकाउने स्टोभ पड्केपछि शरीरमा आगो लागेर उनको निधन भएको थियो। जुन घटना छिमेकीले पनि भोलिपल्ट मात्र थाहा पाए, कलकत्ता मेडिकल कलेजमा पोस्टमार्टम भएको केही दिनपछि मात्र धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे। उक्त दुःखद् घटनाको जानकारी छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले अझै पछि मात्र पाए।

मेलवादेवीले ‘सवारी मेरो रेलैमा’ १९८५ सालमा भारतको कलकत्तास्थित हिज मास्टर भ्वाइस (एचएमभी)मा रेकर्ड गराएकी थिइन्। उनी आफैँ गीत रचना गर्दै धुन पनि भर्थिन्, गायन उनको मुख्य विधा भइहाल्यो। ओखलढुंगाको ठूलो टार एवं ऐतिहासिक गुरुङ बस्ती रुम्जाटारको काफलबोटमा ज्ञानबहादुर लाम्छाने गुरुङ र सपनादेवी गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५४ सालमा भएको थियो, (केही लेख तथा पुस्तकमा उनको जन्म १९५९ मा भएको उल्लेख भए पनि हुलाक टिकटमा भने उनको जन्म १९५४ नै उल्लेख छ)।

कलिलै उमेरदेखि गाउन थालेकी उनको स्वरमा मन्त्रमुग्ध नहुने कोही थिएन। नरेन्द्र प्रसाईंका अनुसार मेलवादेवीको यो असाधारण प्रतिभाले फल्नेफुल्ने मौका पाउनुपर्छ भन्ने मान्यता थियो, उनकी आमा सपनादेवीमा (प्रसाईंले सप्तदेवी लेखेका छन् तर पशुपति बहुमुखी क्याम्पस चावहिलमा अध्यापनरत रुम्जाटारकै संगीता गुरुङले भने मेलवादेवीको आमाको नाम सपनादेवी उल्लेख गरेकी छिन्)। त्यसैले सपनादेवी छोरी मेलवादेवीलाई राणाको दरबारमा भर्ना गराइदिन दिदी बलमायासहित १९६५ सालतिर काठमाडौं आइन्। राणाशासनकै दोस्रो प्रभावशाली श्री ३ महाराज चन्द्रशमशेरको दरबार सिंहदरबारमा दाखिला भएपछि उनको औपचारिक सांगीतिक जीवन आरम्भ भएको मानिन्छ।

प्रकाशित मिति: : 2021-03-20 10:20:00

प्रतिकृया दिनुहोस्