रामनवमीदेखि रेल सञ्चालनको तयारी: कर्मचारी ज्यालामा, ३२ हजार आवेदकलाई शुल्क फिर्ता गरिने

लोकान्तर

काठमाडौं

जनकपुर-जयनगर रेल आगामी रामनवमीदेखि सञ्चालन गर्ने तयारी अगाडि बढेको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार यही चैत २५ गतेसम्म जनशक्ति व्यवस्थापनको काम सकेर वैशाख ८ गते रामनवमीका दिनदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको हो।

'जनशक्ति व्यवस्थापनको काम चैत्र २५ भित्र सकेर चैत २५ देखि नै वा नभए रामनवमीको दिन देखि सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाइएको छ,' भट्टराईले लोकान्तरसँग भने, 'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुनेछ।' उदघाटन गर्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि आउनसक्ने आकलन गरिएको छ।

'उताका डीप्लोम्याटहरूले कहिलेदेखि सञ्चालन हुने भनेर चासो देखाइरहनुभएको छ, तर मोदी वा अन्य उच्चस्तरका मन्त्री आउनुहुने वा नहुने भन्ने कुराको कुनै टुंगो भने लागेको छैन,' भट्टराईले भने, 'उता उहाँहरूको के कति समय मिल्छ वा मिल्दैन त्यो हेरेर भारतका प्रधानमन्त्री मोदीको भ्रमण हुने हो वा उताबाट नै घोषणा हुने हो, त्यो तय हुन्छ ।'

प्रकाशित मिति: : 2021-03-19 16:29:00

प्रतिकृया दिनुहोस्