कोरोनाविरुद्ध खोप किन्न विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ सहयोग दिने घोषणा

मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोस
मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोस

विश्व बैंकले नेपाललाई कोराेनाविरुद्ध लड्न आठ अर्ब सात करोड नेपाली रूपैयाँबराबर सहयोग गर्ने भएकाे छ । बैंकको कार्यकारी निर्देशक बोर्डले शुक्रवार यस्तो निर्णय गरेको हो।

'नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ, सुरक्षित र कोभिडविरूद्धका प्रभावकारी खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत् आठ अर्ब सात करोड नेपाली रूपैयाँ (७.५ करोड अमेरिकी डलर) बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छु', बैंकको मुख्यालय, वाशिङ्गटनबाट जारी विज्ञप्तिमा उल्लेख छ, 'यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तिमा एकतिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको छ।'

मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने, 'यस महामारीले हाम्रासामु विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउन हामीले चालेको यस शीघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो।'

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो।

यस नवीन वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत् प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ।

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै– निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ।

साथै यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्याउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउनेछ।

विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने, 'यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ।' 

प्रकाशित मिति: : 2021-03-19 12:52:00

प्रतिकृया दिनुहोस्