नेत्यानी आमैको चुनाव जित्ने धोको

शिलापत्र

काठमाडाैं

 मकरराज धामी

खप्तडछान्ना गाँउपालिका– १, पौवागडीकी बागमती कार्की ६० वर्षकी भइन् । वडा कार्यालयछेवैमा टिनले बारेको सानो चियापसल छ । वडा कार्यालयमा आउने सेवाग्राहीलाई चियानास्ता खुवाउँछिन् बागमती आमा । 

बिहान उठेर घरबाट एकभारी दाउरा ल्याएर पसलमा पुग्नु र ग्राहकलाई चियानास्ता खुवाउनु उनको दैनिकी बनेको छ । बुढ्यौलीले छोएको पातलो शरीर हेर्दा उनी कमजोर देखिन्छिन् । तर, राजनीतिका कुरा चल्नासाथ उनमा छुट्टै फुर्ती पलाउँछ । 

चियापसलमा अनेक खाले राजनीतिक गफ चल्छन् । उनी बढो चाख मानेर सुनिरहन्छिन् । चिया उमाल्दै गर्दा बेलाबेलामा आफ्ना कुरा पनि राख्छिन् । 

उनले चिया पसलमा आउने ग्राहकलाई आउँदो चुनावमा भोट दिनुपर्छ है भन्न थालेकी छन् । कांग्रेसप्रति आस्था राख्ने बागमती आमा गाउँ समिति हुँदै नेपाल महिला संघको जिल्ला समितिसम्म पुगेकी छन् । गाउँमा उनलाई ‘नेत्यानी आमै’ भनेर बोलाउँछन् । यसो भनेर बोलाउनेसँग पनि उनले भोट माग्ने गरेकी छिन् । ‘भोट दिने बेला अरूलाई अहिले मलाई नेत्यानी ?’ उनी भन्छिन् । 

बुढ्यौलीले छोए पनि बागमती आमाको चुनाव लडने धोको भने पूरा भएको छैन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यको टिकट पाइन् । टिकट पाएसँगै उनी प्रचारमा पनि गइन् । तर, जित्न सकिनन् । एमालेको उम्मेदवारसँग ७ मतको झिनो अन्तरले पराजित भएदेखि नै उनले अर्को चुनावका लागि भोट माग्न थालेकी हुन् । 

प्रकाशित मिति: : 2021-03-18 16:35:00

प्रतिकृया दिनुहोस्