नेपाल एयरलाइन्स : गैर जिम्मेवारीको अर्को नाम

पहिलोपोष्ट

काठमाडाैं
  • दुर्गा पंगेनी-

यस्तै पाराले हाम्रो ध्वजावाहकले प्रगति गर्ला त ‘प्रकाश’ सर?

'ह्या नेपाल एयरलाइन्स? हुन्न हुन्न। त्यही दिन कतार एयरलाइन्सको टिकटको मूल्य कति छ? चार सय मात्र महँगो? को उड्छ त्यो भर नै नभएको जहाजमा! कतार एयरलाइन्स कै टिकट काट्दिनु।'

कार्यालयको आडैमा छ - ट्राभल एजेन्सी। त्यहाँ काम गर्ने टिकट एजेन्ट एक ग्राहक कुरा गर्दै थिए।

म उनको नेपाल एयरलाइन्सप्रतिको वितृष्णा देखेर अचम्मित भएँ। त्यस्तो किन हुन्छ?

मनमा उब्जिएको जिज्ञासा सम्बोधन गर्न मैले ती मानिसलाई सोधेँ - किन यत्रो आक्रोश पोख्नुभएको आफ्नै राष्ट्रिय ध्वजावाहकमाथि?

उनले मलाई प्रतिप्रश्न गरे – तपाईँ कहिल्यै उड्नुभएको छ आरएनएमा?

उनी जवाफ नपर्खिइ अघि बढिसकेका थिए। हातमा कतार एयरलाइन्सको टिकट बोकेर।

+++

एक समय, कारणबस् नेपाल एयरलाइन्सको उडान ठप्प थियो। मैले हिमालयन एयरलाइन्सको टिकट काटेको थिएँ। विरक्त लाग्दो जहाज, क्रु मेम्बरहरूको कर्कश व्यवहार, अघिल्लो उडानको फोहोर टिस्यु पेपर र पोखिएको तरकारी अनि वान्‍ता होलाजस्तो शौचालयका फोटा खिचेर मैले पत्रिकामा छपाएँ।

त्यो लेख हटाउन या परिमार्जन गर्न ठूला ठाउँबाट फोनहरू आए। मुद्दा हाल्ने धम्की खेप्नु पर्‍यो। धन्न सम्पादकले आफू कानूनी लडाइ लड्न तयार भएको जवाफ दिए। हिमालयन एयरलाइन्सका स्टाफको कर्कश व्यवहारको भिडियो। फोहोर शौचालय र तरकारीको झोलले भिजेका सिटका फोटोहरू – मसँग भएका प्रमाणहरूले पनि केही आड दिएको थियो।

त्यस उप्रान्त मैले हिमालयन एयरलाइन्सको जहाज सकेसम्म नचढ्ने निधो गरेँ।

राष्ट्रिय ध्वजावाहक प्रति भने मेरो बेग्लै लगाव थियो। दर्जनौँ पटक म यसको जहाजमा उडेको छु। भलै आजसम्म तोकिएको समयमा जहाज उडेको अनुभव सम्झन सक्दिनँ। कति पटक दुई घण्टासम्म पनि धैर्यवान् रहेको छु। कति पटक व्यवस्थापनलाई गाली गर्दै पर्खिएको छु।

'नेपाली टाइम'जस्ता सस्ता बहाना बनाएर ध्वजावाहकका कमजोरीहरूलाई ढाकछोप गर्दै त्यसैमा यात्रा गरिरहेँ। आफूमात्र होइन सम्पर्कमा रहेका साथीहरू र मसँगै काम गर्ने अन्य कर्मचारीलाई पनि 'आफ्नै जहाज'मार्फत् यात्रा गरौं भनेर प्रोत्‍साहित गरेँ। ती मान्छेहरूले आरएका कमजोरीहरू भट्याउदै गाली नगरेका होइनन्। आखिर चढ्न सुझाव दिएकै हुँ! गाली सहेँ।

प्रकाशित मिति: : 2021-03-18 08:51:00

प्रतिकृया दिनुहोस्