नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको पाखुरा समातेर सोधे- अझै पनि केपी ओलीलाई प्रधानमन्त्री बनाइराख्ने?
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार डाकेको सर्वदलीय बैठक सकेपछि शितल निवासमै पौडेल र महतोबीच छोटो कुराकानी भएको थियो। उक्त भेटको संवाद पौडेलले आज बाँके पुगेर नेता/कार्यकर्तालाई सुनाएका छन्।
‘राष्ट्रपति भवनबाट बाहिरिँदै गर्दा मैले राजेन्द्र महतोलाई पाखुरामा समातेर- ए राजेन्द्र, ओलीलाई अझै प्रधानमन्त्री बनाइराख्ने भनेर सोधेँ,’ उक्त भेटबारे पौडेलले भने, ‘नयाँ जनादेश र अझै संसद विघटनका कुरा गर्नेलाई प्रधानमन्त्री पदमा बचाइराख्ने?’
पौडेलका कुरा सुनेपछि महतोले जवाफ दिए- केपीलाई प्रधानमन्त्री पदमा बचाइराख्या मैले हो र तपाईंहरूले हो। यसपछि पौडेलले भने, ‘मैले होइन।’ उसो भए तपाईंहरूको सभापतिले हो, महतोले भने।