मल कारखाना खोले पनि कच्चा पदार्थमा भारतकै भर

अनलाइनखबर

काठमाडाैं

नवीन ढुंगाना

आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने आशयको प्रतिवेदन पेश गर्‍यो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल सदस्य रहेको कार्यदलले भारतबाट प्राकृतिक ग्याँस आयात गरेर नेपालमा मल कारखाना खोल्न सकिने प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो ।

२४ कात्तिक २०७७ को मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव समावेश छ । ‘शुरू पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ’, प्रतिवेदनको निष्कर्षमा उल्लेख छ ।

अन्तिम रूप नपाउँदै हतारमा प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनको सारमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गरेमा मल आपूर्तिको दिगो समाधान हुने र कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भई मुलुकको आर्थिक विकासमा योगदान पुग्ने जनाइएको छ ।

प्रकाशित मिति: : 2021-03-17 16:38:00

प्रतिकृया दिनुहोस्