गोविन्दराज नेपाल
नेपालको पहिलो अक्सन बेस्ड क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)का जन्मदाता हुन् सुवास शाही । उनले क्रिकेटमा खेलाडीदेखि आयोजकसम्मको भूमिका निर्वाह गरिसकेका छन् । केही समयअघि उनी तेक्वान्दोमा समेत जोडिए ।
अहिले उनी फेरि अर्को भूमिकामा देखा परेका छन् । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेण्ट नेपाल सुपर लिग (एनएसएल)मा सुवास एउटा फ्रेन्चाइजको मालिकको रुपमा छन् । धनगढी फुटबल क्लबको सञ्चालक गो ड्रिमर्सका उनी अध्यक्ष हुन् ।
चौधरी ग्रुपअन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालमा हुने एनएसएलमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि क्रिकेटमा आफैं आयोजक रहेर खेलाडीको अक्सन गराएर लिग गराएका सुवास अहिले भने फ्रेन्चाइज फुटबल लिगमा आफै एउटा टिम लिएर अघि बढेका छन् । एनएसएलको सात फ्रेन्चाइजमध्ये धनगढीबाहेक अरु सबै व्यवसायिक क्षेत्रमा नाम कमाएका व्यक्तिहरु मालिक बनेका छन् ।
तर सुवास भने खेलकुदकै पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । त्यही पनि फुटबल भने उनको लागि फरक खेल हो । उनी आफैंले पनि फुटबलमा सिक्दै अघि बढ्दै गरेको बताउँछन् । ‘हामीसँग राम्रो म्यानेजमेन्ट टिम छ । अनुभव छ । म विस्तारै फुटबलबारे सिक्दैछु । हामी हाम्रो अनुभव प्रयोग गर्नेछौँ’ सोमबार विशाल राईलाई मार्की खेलाडीको रुपमा प्रस्तुत गरेपछि सुवासले भने ।