फेवाताल बचाउन दीर्घकालीन योजना

बुद्धिनारायण श्रेष्ठ

राणाकालीन पाँडे बाँधलाई विस्थापित गर्दै ०१८ साल मंसिर ३ मा ड्यामसाइटमा आधुनिक बाँध बनाएर फेवातालको पानी निश्चित सतहसम्म जम्ने गरी थुनियो । तर, १७ पुस ०३१ मा बाँध फुट्यो । ०३४ मंसिर ११ मा आधुनिक तवरले त्यसै स्थानमा नयाँ बाँध बन्यो । पर्यटकीय नगर पोखरामा यसरी निर्माण गरिएकोे फेवातालको क्षेत्रफलबारे पटक–पटक कुरा उठ्ने गरेको छ । सबभन्दा पछिल्लोपटक सरकारले ११ फागुन ०७७ मा तालको क्षेत्रफल ११,२५५ रोपनी भनी निर्णय गर्‍यो, १७ फागुनमा राजपत्रमा फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित सूचना प्रकाशन गरेको छ । यसपछि पोखराकै बासिन्दाले जिज्ञासा गरेका छन्– कसरी र किन घट्यो तालको १,६०९ रोपनी क्षेत्रफल ? यो लेख यिनै जिज्ञासाको सेरोफेरोमा छ । 

पृष्ठभूमि : पोखरामा फेवाताल छ । देश–विदेशका पर्यटक फेवाताल हेर्न पोखरा जान्छन् । पोखराका स्थानीय बासिन्दा आफूकहाँ फेवाताल रहेकोमा गर्व गर्छन् । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी ‘लेक सिटी पोखरा’को भ्रमण गर्छन् । उनीहरू पोखरालाई केवल पोखरा मात्रै सम्झँदैनन्, ‘फेवाताल भएको सहर पोखरा’ भनेर सम्बोधन गर्छन् । पर्यटक फेवातालमा डुंगा (नौका) शयर गर्छन् । विदेशीहरू प्रायः आफैँले बहना चलाई डुंगा हाँकेर फेवातालको शयर गर्छन् । फेवातालको पानीमा पौडी खेलेर आनन्द लुट्छन् । फेवातालकै कारण थुप्रै भारतीय नवदम्पतीले ‘हनिमुन’ मनाउन पोखरा रोज्ने गरेका छन् । पदयात्रा गर्न रुचाउने पर्यटक ‘लेक सिटी पोखरा’ भएर अन्नपूर्ण सर्किटको ट्रेकिङ जान्छन् । फेवाताल रहेको पोखरा उपत्यकामा बलिउड र हलिउडका केही फिल्म पनि छायांकन गरिएका छन् । 

पोखराको सारङकोट डाँडाबाट उड्ने प्याराग्लाइडिङ फेवाताल संरक्षण क्षेत्रको जमिनमा ‘ल्यान्डिङ’ गरिन्छ । कोभिड–१९ संक्रमणअघि बढ्दो संख्याका चिनियाँ पर्यटकले लुम्बिनी लक्षित गर्दै ‘लेक सिटी पोखरा’लाई गन्तव्य स्थान तोक्ने गरेका थिए । त्यसैले केही चिनियाँ व्यवसायीले फेवाताल भएको पोखरामा होटेल पर्यटन व्यवसायमा लगानी गरेका थिए । कोरोना संक्रमण मत्थर हुँदै जाँदा पर्यटक संख्याको ग्राफ उकालो लाग्दै छ । अधिकांश आन्तरिक पर्यटक डुंगा चढेर फेवातालबीचको बाराही मन्दिर पुग्छन् । तालको बीचमा रहेको मन्दिरको रेलिङमा अडेस लाग्दै फेवातालको निलो पानी, तालछेउको जंगल, डाँडाकाँडा, माछापुच्छ्रे–धौलागिरी हिमाल दृश्यावलोकन गरेर आनन्द लिन्छन् । 

प्रकाशित मिति: : 2021-03-16 07:39:00

प्रतिकृया दिनुहोस्