संघर्ष पन्त
‘झुम्कागिरा रे ... बरेली के बजारमे झुम्कागिरा, झुम्कागिरा, झुम्कागिरा... ओए होएएए। ...ए...ए...ए...ए..., लौन के गर्या!’ (झ्याप्प ब्रेक लाग्यो, टायर चिप्लिएर, घिस्रेर अर्कै गन्ध आयो।)
सुनसरीको इनरुवाबाट इटहरी फर्कने क्रममा झुम्का चोक आइपुगेपछि यही गीत गुनगुनाउँदै थिएँ। म चढेको टेम्पोले झयाप्पै ब्रेक लगाएपछि हामी सबै अगाडि हुत्तियौं। टायर घिस्रियो, गन्धी आउनेगरी। धन्न टेम्पो पल्टिएन। एकछिन त होसहवास उडेजस्तो भयो। चालक दाइलाई सोधें- के भयो, अलिक हेरेर चलाउनु न यार।
‘हेरेरै चलाको हो के बैनी। तर, तो अगाडिको ट्रकको हाइ-बीम लाइटले आँखा चिम नै पो भयो होउ। मैले त केही पनि पो देखिन त। झण्डै बाइकलाई पो हानियो नि।’
उहाँले यसो भनिरहँदा मलाई अघिल्लो दिनको सम्झना भयो। म सात दिनको कार्यक्रमका निम्ति सुनसरीमा थिएँ। इनरुवा र इटहरीबीच लगातार आवतजावत गरिरहेको आज तेस्रो दिन थियो। दुई दिनसम्म कार्यक्रममा सहभागी हुनेहरुको बाइकमै हामीले यी दुई गन्तव्यबीचमा यात्रा गरेका थियौं। बिहान इटहरीमा कार्यक्रम अनि दिउँसो इनरुवामा। इनरुवामा कार्यक्रम सक्दा यस्तै बेलुकीको ६, साढे ६ बजिसक्थ्यो। अनि इटहरी फर्कंदा अँध्यारो भइसक्थ्यो।