म हराएको साँझ

वविता घिमिरे / कृष्णउदाशी

असार चौध गतेबाट कलेज बिदा हुने थियो। मैले यमुनालाई निक्कै अगाडिदेखि भनेकी थिएँ 'कलेज बिदा भएपछि म पनि पहाड तिम्रो घर जान्छु।' ऊ मलाई भन्दै थिई 'नजाऊ, हाम्रो गाउँमा त घरैपिच्छे बडाबडा भोटे कुकुर पालेका छन्, नचिनेका मान्छेलाई त खेदाई खेदाई टोक्न सक्छन्। त्यतिमात्रै हो र? थाहै नपाई रुखबाट खरिजुकाहरू जिउमा झरेर टाँसिन्छन् र खुब खुन चुस्छन्।'

म कहिल्यै पहाड गएकी थिइनँ, पहाड कस्तो हुन्छ भन्ने बारे सुनेकी थिएँ तर आफैले नदेखेकाले पहाड हेर्ने रहर साह्रै लागेको थियो। फेरि मलाई के पनि विश्वास थियो भने यमुनाको साथमा जाँदा म कुकुर र जुकाबाट असुरक्षित हुँदिन। त्यसैले भित्र कताकता अलिअलि डर र आश्चार्य राखेर भनें यमुनासँग 'मलाई केही कुराको पनि डर लाग्दैन, यस पटक त तैँले मलाई जसरी पनि लैजानै पर्छ।' तर ऊ मलाई अनेक बहाना बनाएर टार्दै थिई। फेरि पहाडबाट आएका मेरा साथिहरूमा यमुनाबाहेक अरु कोही पनि थिएनन्। 

ऊ र म प्राय सँगै कलेज आउने जाने गथ्र्यौं। म बाटामा अघिल्लो दिन हेरेको कोरीयन फिल्मको कहानी सुनाउथें, ऊ केही नबोली सुनीमात्र रहन्थी। कहिलेकाँही फेसबुकमा कस्ताकस्ता सम्वाद भए ती पनि सुनाउथें। उसको प्रतिक्रिया केही रहँदैनथ्यो। म विदाका दिनमा छोइला, चट्टामरी, बुल्ला, पिज्जा र कहिले कोरीयन खाना जस्ता नयाँ नयाँ खानेकुराका परिकारहरू बानाएर खुवाउन मन पराउँथें। म आफुले बनाएका खानेकुराको पनि खुब प्रशंसा गर्थें यमुनासँग। एकदिन उसले मसँग झर्किँदै भनी 'यो कोरीयन फिल्मको त के कुरा हिन्दी फिल्म त अहिलेसम्ममा एकदुइवटा हेरेकी छु होला, अनि तैले बनाएका परिकारहरू खानको त के कुरा नाम पनि अहिले सुन्दैछु। मलाई तेरा गफले झर्को लाग्छ, बरु लोकगीतका कुरा गर, खीर, खिचडी, खोलेडल्लाका कुरा गर, जुनेलोको भात, सिस्नुको दाल, कोदोको रोटी जस्ता परिकारहरूको कुरा गर न, अनि यो फेसबुक त तँ समय बिताउन प्रयोग गर्छेस त्यसबाट केही कुरा लिन होइन, तर मलाई समय बिताउन त के नयाँनयाँ विषय बस्तुकोबारेमा जानकारी लिन नै समय पुग्दैन, आधुनिकताको अनुसरण गर्नुपर्छ तर अनुसरण गर्ने क्रममा यथार्थ भन्दा माथि गइहाल्नु र आफ्नो धरातल बिर्सिहाल्नु राम्रो होइन।' त्यस दिनदेखि मैले ऊसँग यस विषयका गफहरू गरिन। 

यमुनालाई साथी बनाउनुको पनि एउटा स्वार्थ थियो मेरो। त्यो के भने, म प्राय कोरीयन फिल्म हेर्ने र फेसबुक चलाउनाले अघिल्लो दिन पढाएको कुरा हर्ने फुर्सद नहुने तर यमुना कलेजमा सरले पढाएको कुरालाई निक्कै अध्ययन गर्थी। विभिन्न विषयमा शिक्षकहरूसँग तर्क गर्थी नोट पनि राम्रो बनाएकी थिई। सुरुमा स्वार्थले नजिकिएँ तर पछि त साँच्चै आत्मीय बनी। कलेज छुट्टी हुने दिनहरू नजिकिँदै गर्दा उसले मलाई गाउँ लाने कुरा बिर्सी कि भनेर सम्झाई रहेकी थिएँ। ऊ मलाई खुब जिस्काउँदै थिई 'हाम्रो गाउँमा गएर पनि आमा, दिदीबहिनीहरूलाई कोरीयन फिल्मको कहानी सुनाउने त होला नि, फेरि यहाँ आएर यमुनाको गाउँ यस्तो र त्यस्तो भनेर गलत प्रचार गरेर मलाई यहाँ टिक्नै पो नदिने होस् कि? पर्दैन जान।' उसको कुराले मलाई नरमाइलो लाग्यो र गम्भीर हुँदै भने 'यमुना तँ मात्र होस् मेरी पहाडबाट आएकी साथी, त्यसमा पनि हिजो आज तँ मेरा लागि धेरै आत्मीय बनेकी छेस् त्यसैले पो त यति जिद्दी गरेकी, यति भन्दा पनि तेरो मलाई लाने इच्छा छैन भने ठीकै छ म तेरो साथी बन्न लायक रहिनछु, तँलाई मप्रति साह्रै धेरै अविश्वास रहेछ। मैले तेरो मन जित्न नसकेकोमा दुःखी छु।' उसले पनि गम्भीर भएर भनी 'तँ कहिल्यै पहाड नगएकी मान्छे, बसबाट ओर्लेर पनि निक्कै उकालो ओरालो हिँड्नुपर्छ। यहाँ जस्तो भोगविलाशमा समय बिताउन पाइदैन। मेलापात जानुपर्छ। हामीले रमाइलो गर्ने कुरामा तँलाई रमाइलो नहुन पनि सक्छ। त्यसो भयो भने एक महिना कसरी बिताउँछेस् ?' मैले एक्छिन्् सोचें उसले मेरा लागि व्यवहारिक कुरा नै गरेजस्तो लाग्यो र सहज बनाउँदै भनेँ 'त्यही यहाँ नभएका कुरा त्यहाँ छन् र त जान्छु भनेकी त, म पाँच दिनको पैदल यात्रा पनि हिँड्न सक्छु तैंले मलाई कति कमजोर सम्झेकी हँ?' उसले हाँस्दै हास्दै भनी 'तैंले साह्रै जिद्दी गरिस्, त्यहाँ गएर तैले हरेक काममा मसँगै सहभागी हुनुपर्छ सक्छेस् ?' मैले पनि हास्दै हाँस्दै 'सक्छु' भने। 

असार चौध गतेबाट कलेज बिदा भयो। हामी भोलिपल्टै गाउँ जाने भयौं। म अनेकौं कल्पनाले निदाउनै सकिन। बिहान पाँच बज्दा तयार परिवरि ममी ड्याडीसँग बिदा मागेर यमुनाको डेरामा पुगें। ऊ त अगि नै पो तयार परेर मलाई कुरिरहेकी रहिछे। 'चाँडै जानुपर्छ निशाना, भरे तँ हिँड्न सकिनस् भने घर पुग्न रात पर्छ।' मलाई देख्नेबित्तिकै यमुनाले भनी। हामी साढे पाँच बजेको गाडीमा चढ्यौ। जब बस भेडेटार ओरालो झ¥यो मेरो मुटु ढुकढुक गर्न थाल्यो। मेलै अगाडिका ती भीर, पाखा, छहरा बसबाट नियाल्न सकिन। बस त भीरैभीर पो कुदेकोे देख्न थालें। म यमुनाको काखमा घोप्टो परेँ। कोही कोही बस भित्रै प्लाष्टिक थापेर उल्टी गर्दै थिए कोही झ्यालबाट टाउको निकालेर, कसैले भित्रै गरिरहेका थिए। म यी सब दृष्य हेर्न नसकेर घोप्टो परेता पनि वाकवाकको आवाज सुन्दै थिएँ। घरीघरी यमुना मलाई बोलाउँदै थिई। म भने अब कतिबेला पुगिन्छ भनेर सोध्दै थिएँ। मनमा बेकारमा आएछु भन्ने पश्चाताप पनि लाग्दै थियो। 

धनकुटा, हिले हुँदै त्रिशुले पुगेर बस रोकियो। हामी बसबाट ओर्लियौँ। मैले चारैतिर आँखा डुलाएँ। तराईमा गर्मीले ब्याकुल भएको शरीरमा चिसो बतासले स्र्पश गर्दा थकाई, भोक, तिर्खा, डर सबै हरायो। हरियो डाँडा र चौर अनि सल्लेरीको सुसाइले मन पुलकित बन्न पुग्यो। शरीरमा एक किसिमको जोश आयो। मैले मुस्कुराउँदै सोधें 'यमुना यही हो तेरो गाउँ?' 'कहाँ यो हुनु नि, मैले तँलाई पहिले नै भने की थिनँ बसबाट ओर्लेर निक्कै हिँड्नु पर्छ भनेर ? आइज हिँड अब, सक्दिनचाहिँ भन्न पाउँदिनस्' भन्दै यमुना अघि लागी मैले 'किन हिँड्न नसक्नु? जति पनि हिँड्न सक्छु' भने। गाडीको बाटो छोडेर हामी साँघुरो गल्लीतिर ओरालै ओरालो लाग्यौ। 

ओरालो आधा घण्टा झरेपछि एउटा सानो खोला त¥यौँ र फेरि उकालो लाग्यौं। उकालो एक घण्टा हिँडेपछि मैले अब कति समय लाग्छ भने। उसले अझै एकघण्टा लाग्छ भनी। मैले 'नाई यमुना अब त म हिँड्नै सक्दिन' भने। उसले 'त्यसो भए बसिराख न त' भनी। म निरीह भएर उसलाई पछ्याउँदै थिएँ। अचानक एउटा कुकुर कुदेर आयो। मैले अचानक सम्झेँ यमुनाले 'गाउँमा त घरैपिच्छे भोटे कुकुर पालेका छन्, नचिनेका मान्छेलाई खेदाई खेदाई टोक्छन्' भनेको कुरा। म आत्तिएर चिच्याएँ तर कुकुर त मतिर नआएर उफ्रिँदै यमुनालाई चाट्दै कुइँकुइँ गर्न थाल्यो। म एकै ठाउँ उभिरहें। 
यमुना नजिकैको घरमा पसी। मलाई परै उभिएको देखेर आइज न निशाना यही हो हाम्रो घर भनी र पनि म उभिरहैँ कुकुरलाई झोलाबाट बिस्कुट निकालेर दिँदै भनी 'आइज न छिटो के भयो तँलाई?' मैले डराउँदै भने 'तेरो भोटे कुकुर?' ऊ बेस्सरी हाँसी र कुकुरलाई समाती।

यमुनाका घर वरिपरि फुलेका फूलहरूले हाम्रो स्वागत गरिरहेछन् झैं लाग्यो मलाई। मैले सबैजनालाई नमस्कार गरेँ। हामीले कपडा फे¥यौं, हातमुख धोयौं र भान्छामा पस्यौं। हुन त काठमाण्डौ जाँदा यो भन्दा टाढाको यात्रा गरेको थिएँ तर पहाडी गाउँतिर भने यो पहिलो पल्ट नै हो। त्यसमा पनि हिँडेरै त कतै गएकै थिँन, त्यत्रो बाटो हिँडेर पनि नौलो अनुभव भएकाले होला थकाई भने पटक्कै लागेको थिएन। भान्छाकोठाभित्र दही, केरा र चिउरा प्रसस्तै राखिएको थियो। आलुदमकोे मगमग बास्ना आइरहेको थियो। कसैकसैले दही चिउरा पु¥याउन ल्याएको पनि देखिन्थ्यो। मैले यमुनालाई खुसुक्क सोधें 'आज यहाँ पूजा छ हो?' यमुनाले भनी 'आज असार पन्द्र मनाउने दिन हो नि त लाटी, तँलाई त कोरियालीहरूले केके चार्ड मान्छन् थाहा होला, नेपालमा मानिने चार्डहरूको बारेमा के थाहा हुन्थ्यो त, आजको दिनलाई धान दिवस पनि भनिन्छ।' म छक्क परें यहाँ त छिमेकी पनि घरपरिवार जस्तै आत्मीय हुँदा रहेछन्। मैले फेरि यमुनालाई साउती मारेर भनें 'तेरा ममी डेडीलाई अंकल आण्टी भन्नु कि के भन्नु?' उसले भनी 'बुबा आमा भन् अरुलाई म जेजे भन्छु त्यहीत्यही भन्।' मैले फेरि खुसुक्क भने 'पछि तैले तेरो श्रीमानलाई 'बूढा' भनेर बोलाइस् भने म पनि त्यही भन्नु?' हामी निक्कैबेर हाँस्यौ। मैले यमुनाका बुबा आमालाई बुबाआमा नै भनेर बोलाउन थालेँ। मैले कहिले कसैलाई बुबा आमा भनेकी थिँन। घरमा ममीड्याडी भन्थेँ। हजुरआमालाई हजुरी भन्थें। आमा शब्द त कविता पढ्दा मात्र उच्चारण गरेकी थिएँ। उहाँलाई आमा भन्दा बेग्दै अनुभूति भइरहेको थियो। बेलुका सबैजना परिवार बसेर खाना खायौँ। यमुनाले तँ साह्रै थाकेकी छेस् हिँड आज चाँडै सुतौँ भनी ओछ्यानमा पुग्ने बित्तिकै म सिरक ओडेर ढल्किएँ। ऊ कोठामा केके समान मिलाउँदै थिई। तलबाट कसैले यमुना भन्दै बोलायो। उसले खुसी हुँदै भनी 'सुब्रत दाइ माथि नै आउनु न।' हामी विराटनगरमा हुँदा यमुनाले खुब कुरा गर्थी सुब्रत दाइको, वहाँबाट हिँड्नेबेलामा पनि दाइलाई पुस्तकहरू लगिदिनु छ भनेर साझामा गएर कृष्ण धराबासीको आधाबाटो, बुद्धिसागरको कर्णाली ब्लुज, रामायण र महाभारतका सीडीहरू किनेर झोलामा हालेकी थिई। यमुनाले सँधै कुरा गरिरहँदा कस्ता होलान् त सुब्रत दाइ हेर्ने मन थियो। तर म सुतिसकेकाले बोल्न अल्छी/अप्ठ्यारो लाग्यो। यमुनाले परिचय गर्न लगाउली भनेर निदाएको बहाना गरेँ। म सुतिरहेकी थिएँ सुब्रतले साउती मार्दै सोधेका थिए को हो भनेर। यमुनाले 'म कहिलेकाही कुरा गर्थें नि निशाना उही हो। बिचरी पहिलो पटक पहाड टेकेकी थाकी होला कति चाँडो निदाइछे। तपाईका सबै पुस्तकहरू पनि उसैले बोकेर ल्याइपु¥याई।' भनी। सुब्रतले 'तैँले पाहुनालाई यत्रो पुस्तक बोकाएर ल्याइस् ? आफै ल्याउनु पर्दैन ?' भने। मैले सोचेँ यमुनाले त मसँग सुब्रतको र सुब्रतसँग मेरो कुरा गर्दिरहिछे।

यमुना र सुब्रतले कुरा गरिरहँदा मैले निदाएको बहाना गरेकी हुँदा बोली मात्र सुनेकी थिएँ, कस्ता होलान् भन्ने खुलदुली थियो। बिहान उठ्ने बित्तिकै सोध्न मन थियो। तर यमुनाले जिस्काउली भनेर आँट गर्न सकेकी थिइन। यमुना ठट्टाको भाषामा बोल्छे यो बानी मलाई मन पर्छ तर कहिलेकाही साह्रै अप्ठ्यारो पनि पार्छे। मैले शाहस गरेर सोधें 'सुब्रतको घर कुन हो, अनि सुब्रत भनेकाचाहिँ कुन मान्छे हुन् ?' यमुनाले भनी 'घरचाहिँ यही अगाडिको हो। सुब्रत दाइलाईचाहिँ चिनाउँदिन आफैं चिन् अस्ति आउने बितिकै हुलमुलमा नमस्कार गर्दै थिइस् त। तँलाई त सुब्रत दाइले मज्जाले चिन्नु हुन्छ। म तेरो कुरा पहिलेदेखि नै गर्थे, तँ निदाएको बेला तँलाई हामीले राम्रो हे¥यौं, कति राम्री देखिएकी निदाउँदा तँ ?' 

हामी कुरा गर्दा गर्दै एकजाना ढाका टोपी लगाएका, अलिअलि दाह्री जुँगा पालेको मान्छे आयो। केके केके गफगाफ चलिरहँदा हामीले पढ्ने विराटनगरको कलेजको कुरा गर्छ, परीक्षा फर्म खुले नखुलेको कुरा गर्छ। अन्य पनि विभिन्न विषयमा गफ गर्छ। म पनि थप्दै थिएँ तर उसका अगाडि यमुना र मेरा तर्क फितलो बन्दै थियो। कुरा गर्दा गर्दै ऊ 'आज वन उपभोक्ता समितिको बैठक छ' भनेर निस्कियो। मैले यमुनासँग सोधें 'को हो यमुना यो मान्छे? निक्कै कुरा पो जान्या रहेछ त।' उसले भनी 'तैले सुब्रत दाइलाई अझै पो चिनेकी छैनस्? उहाँ नै हो त।' 'हो र? कति न ठूलो मान्छे हो भन्थिस् त, सामान्य रहेछन्' मैले भने। 'तैंले सुब्रत दाइलाई सामान्य ठानेकी? उहाँसँग हरेक विषयको ज्ञान छ, विराटनगरकै आदर्श कलेजमा अहिले बि.बि.एस. तेस्रो वर्षमा पढ्नुहुन्छ। असफलताको त के कुरा कहिल्यै दोस्रो हुनुभएको छैन। पहिले सी.एम.ए. पनि पढ्नु भएको हो। गाउँघरमा सबैले मान्छन्। कोही बिरामी हुँदादेखि लिएर धार्मिक, सामाजिक हरेक कार्य उहाँको अनुपस्थितिमा सफल हुँदैनन्। म कहिलेकाहीँ घर आए जस्तै उहाँ कहिलेकाही कलेज जानुहुन्छ।' यमुनाले यसो भन्दा म छक्क परेँ। मैले त यमुनाले 'सुब्रत दाइलाई आफै चिन' भनेदेखि सुकिलो टाइसुटमा खोज्दै थिएँ। मेरो दिमागमा त पढेका र बुद्धिमान मानिसहरू त प्राय शहरतिर मात्र बस्छन्, टाइसुट लगाएर हिँड्छन् भन्ने रहेछ। यमुना मलाई जिस्काउदै थिई। 'तेरा कोरीयन फिल्मका कहानी सुब्रत दाइलार्ई सुना न बुझ्नु हुन्छ। अंग्रेजी हिन्दी र नेपाली भाषाका पुस्तकहरू धेरै पढ्नु हुन्छ। महाभारत, वेद, रामायणका बारेमा पनि जान्नु हुन्छ। तेरो कोरीयन भाषा कसो नजान्नु होला ?' 'कोरीयन भाषा जान्नु पनि मेरो कमजोरी भयो कति जिस्काउँछेस् हँ ?' मैले अलि अप्ठ्यारो मानेर भने। 'कोरीयन भाषा तेरो व्यक्तिगत भाषा हो कि? बाबु पट्टिको भाषा न आमा पट्टिको भाषा कति कुरा गर्थिस् त विराटनगरमा हुँदा ?' फेरि मैले भने 'एक पटक कोरिया जाने भूत चढेर भाषा सिकेँ, पछि उमेर नपुगेर जान पाइँन। त्यसैमा रस भिजेर खुब लागि परेँ। यहाँ आएपछि मलाई यही रहेछ कोरिया जस्तो लाग्न थालेको छ। भो है अबचाहिँ कुरा निकालिस् भने रिसाउँछु नि।'

म यमुनाले भनेजस्तै हरेक काममा सहभागी भएँ। हामी मेलापातमा पनि गयौँ। कहिले धान रोप्न, कहिले कोदो रोप्न, घास काट्न। कुनै पनि काम आउँदैन भनिँन। रहरले गरेँ। घरमा बस्दा खाना पकाउन पनि सघाएँ। गाग्रीमा कुवाबाट पानी पनि ल्याएँ। कहिले आरु टिपेर खायौँ। यति ताजा फलफुल बोटैबाट टिपेर कहिल्यै खाएकी थिइँन। दही, मोही, सागसब्जी, फलफुल केही किन्नु नपर्ने। पानीको विल पनि तिर्नु नपर्ने। जरुवा पानीको स्वादै अर्को। मेरा गाला पनि राताराता हुन थालेका थिए। मेलापात र घाँसदाउरा, पानी पँधेरो जाँदा, सुब्रतसँगै हुन्थ्यौ तर यमुनाले नाम जोडेर जिस्काउन थालेकीले खुलेर बोलचाल हुन सकेको थिएन। एक महिनाको बिदा सकिन लागेछ मलाई पटक्कै विराटनगर जाने मन थिएन। म दशैंमा पनि आउँछु भनेर कर गर्दा 'दशैंको सामान टन्न बोकेर आउनुपर्छ सक्दिनस' भन्दै थिई यमुनाले। 'म जति पनि बोक्छु' भनेँ। उसले सुब्रतलाई भनी 'सुब्रत दाई यसपालि दशैंको सामान बोक्न त्रिशुलेसम्म आउनुपर्दैन सबै  निशानाले बोक्छे।' सुब्रतले एकोहोरो मेरो अनुुहारमा हेरेर मुस्कुराए। ऊ अझ जिस्काउँदै थिई 'सुब्रत दाइ यसको अनुहारमा हेरिरहन लायक के छ र हेरिरहनु भएको ? म त केही देख्दिन त।' मसँग खासै नबोल्ने सुब्रतले भने 'म त निशानाको अनुहारमा सुनचाँदी, हिरामोती, जूनतारा, महासागर सबै देख्छु।' म रिसाए जस्तो गरे पनि कता कता रमाइलो अनुभव गरिरहेकी थिएँ। 

बेलुका सुत्न ओछ्यानमा पसेका थियौं यमुनाले 'आज सुब्रत दाइले तेरो खुब कुरा गर्नु भो' भनी। मैले आतुर हुँदै सोधेँ 'के कुरा गर्नु भो ?' उसले भनी 'निशाना यो गाउँमा कति सजिलै घुलमिल भइन्, कहिल्यै काम नगरेकी मान्छे, हरेक काममा ध्यान र मिहेनत लगउँछिन्। सबै काम जानिसकिन्, घमण्ड भन्ने पटक्कै छैन। सोझी र सुशिल रहिछिन् भन्नुभयो।' 'निशानाले पनि एउटा कुरा भन्नुछ अरे भनि दे है भोलि ' मैले भने। तत्कालै उसले सोधी 'के कुरा मलाई त भन्नु हुन्छ होला नि ?' 'भन्दिन तैँले सुनाइहाल्छेस्' भनेँ। उसले 'ल ल भनिदिउँला' भनी।

सँधै यमूनासँगै हिड्थेँ, त्यसदिन यमूना कता लागी पत्तै भएन। मलाई जुका लाग्यो भने सँधै यमूनाले टिपिदिन्थी, यमूना नहुँदा एक्लै हिड्नै डर लाग्ने। तै पनि यमूना नभएको मौकामा म सानो गाग्री चेपेर कुवामा पानी भर्न गएँ। मलाई कम्मरमा गाग्री राखेर पानी बोक्न खुब रहर लागेको थियो। यमूनाले कस्तो मज्जाले कम्मर लच्काई लच्काई पानी ल्याउँथी, मलाई सक्दिनस् भनेर बोक्नै दिएकी थिइन, आज मौका प¥यो भन्ने लागेको थियो। सिमसिम पानी पर्देै थियो। म गाग्री बोकेर कुवामा गएँ। पानी थापेर यसो डिल उक्लिउँ भन्दा त लडेँ पो। सुब्रत खेतमा पानी नपुगेको गरातिर पानी लगाउँदै थिए, देखेछन् कुदेर आएर डिल उकालेर 'गाग्री म पु¥याइदिन्छु' भने। मैले मान्दै मानिनँ अनि कम्मरमा राखीदिए। यसरी बोक्नुपर्छ भन्दै म गाग्री बोकेर पर्तिर मात्र के पुगेकी थिएँ। खुट्टामा जुका आयो। म आत्तिएर कराएँ। गाग्री भुईँमा राखेँ। सुब्रत फेरि के भो भन्दै आएर हाँस्दै जुका टिपीदिए र भने 'अँ साँच्चै मलाई के भन्छु भन्दै हुनुहुन्थ्यो रे, के कुरा हो भन्नु न।' 'नाईँ, पछि दशैँमा आउँदा भन्छु ' मैले भनेँ। 

निशानालाई आफ्नो डायरी कहाँ छुट्यो भन्ने कुनै हेक्का छैन होला। झोलामा थियो क्यार, कुवामा कपडा धुँदै गरेको देखेथेँ त्यही छोडीछन्। यो मन पनि घरिघरि त पाप सोच्छ 'कि उनले यो डायरी मैले भेटुँ भनेर कुवामा लुगा धुँदा छोडेर गएकी हुन् ?' होईन तर यस्तो के हुन्थ्यो, विराटनगर जस्तो शहरमा जन्मेर उतै हुर्केकी मान्छे यस्तो ठाउँका मान्छेलाई के...।

हुन त तिनको कोरिया मोह रहेछ। मलाई थाहै भएन। कुरै कुरामा यमूनालाई कोरियाको बारेमा बताउँदा भनेको थिएँ 'नेपालीहरूको बुद्धि देख्दा पनि उद्धेक लाग्छ, खाली विदेश विदेश, आफ्नो देशकोचाहीँ कुनै मतलवै छैन। एकातिर राजनैतिक जटिलता, अर्कातिर बल बैश भएका सबै विदेश। देशमा केटाकेटी र बुढाबुढीको हेर विचार कसले गर्छ ? आजभन्दा चालिस पचास वर्ष अघिमात्र नेपालले कोरियालाई भोकमरी चल्दा खाद्यान्न अनुदान दिन्थ्यो। तर पछि त्यहाँको राजनीतिमा सुधार आयो। हरेक जनताले आफै काम गर्नुपर्छ भन्ने संस्कारको विकास भयो। त्यहाँका जनताले कृषि पेशाबाट नै आफ्नो जीवनस्तर सुधार गरे। नेपालका जनता त्यही कोरिया गएर महिनाको सत्तरी असी हजार कमाउन लालायित छन्। तर तिनै युवाहरू त्यही कृषि पेशा नेपालमा गर्न तयारी छैनन्। प्राकृतिक हिसाबले विश्वमै नमूना हो नेपाल। जहाँ जडीबुटीको खानी हिमाल छ, जहाँ वनजंगल हरियाली पहाड छ। जहाँ समथर अन्नको भण्डार तराई छ। विश्वका थोरै देशका जनताले मात्र यस्तो गर्व गर्न पाउँछन् जुन हामीले गर्न पाएका छौँ। हामीले पनि कृषिमा नयाँ प्रविधि, अर्गानिक प्रणाली र बेमौसमी खेतीको विकास गर्ने हो भने नेपालमै महिनाको लाखौँ कमाउन सक्छौँ। त्यसका लागि हामीले सबैभन्दा पहिला संस्कारको विकास गर्नुपर्छ।' निशाना पनि सँगै थिइन्। पछि पो थाहा भयो तिनले मसँग मन दुखाइन् होला। अँ जे होस् मन दुखाए पनि मैले सत्य कुरा त भनेको हुँ नि।

यसरी निशानाले छोडेको डायरी पढेर मेरो मनमा अनेक तरहका तर्कना खुब चल्न थाले। निशानासँग त्यत्रो पुरानो चिनजान पनि होइन। यमूनासँग गाउँ आएपछि चिनजान भएको न हो। मैले निशानालाई सम्झी रहने पनि थिईँन होला। तर बिचमा यो डायरी आयो। त्यसैले निशानालाई सम्झीरहने बनायो। त्यसमा पनि विराटनगर फिर्ने अघिल्लो दिन 'पछि दशैँमा आएर एउटा कुरा भन्छु' भन्थिन्। के कुरा थियो होला त्यस्तो ? 

'खुल्दुली खुल्दुली मै दुई तीन महिना बिताइयो। खेतीपाती, गाउँघर, विहान बेलुका अध्ययनमै व्यस्त यस्तै भयो। मलाई काम गर्न साह्रै रहर लाग्छ। बल बैँश हुँदा काम गर्न पछि पर्नु हुँदैन। विलाशी जिवनको कल्पना मात्र गर्दै सरकारले जागिर दिएन भनेर आन्दोलन गर्नु त साह्रै मुर्ख लाग्छ मलाई। खेत बारी बाँझै छोडेर बेरोजगार छु भन्दै रातदिन सुतेर बिताउनु त साह्रै घटिया लाग्छ मलाई त तर के गर्ने आफ्नो दलबल ठूलो पार्न जुनसुकै पार्टीले पनि कार्यकर्ताहरूलाई आश्वासनको खीर खुवाएर बकम्फुसे बनाएका छन्।' यस्तै सोच्दै म कामतिर लागेँ।

असोज पनि अन्तिम अन्तिम भइसकेको थियो। दशैंले लगभग छोपिसकेको जानकारी सुब्बाहरूको घरमा बजेका नगरा र विस्तारै सिंगारपटार हुँदै गइरहेका घरहरूले दिँदै थिए। सबैले आ–आफ्ना घर, आँगन हुँदै आफ्ना खेतबारीमा पर्ने बाटोसमेत सफा पारिसकेका थिए। बाटातिर आएका कोदो र धानका बालाहरूलाई व्यवस्थित पारेर गरातिरै लर्काएको थियो। आकाश खुल्ला भएर क्षितिजहरू रमाइला बनेका थिए। चराचुरुङ्गीहरूको भाका फेरिएको थियो। बिहानीपख सर्रर्र चल्ने हावामा शारदी फुलका बास्नाहरू रुमल्लिएर मगमगाउन थालेका थिए। घरबाट टाढा बसेर पढ्ने विद्यार्थीहरू, धन कमाउन परदेश गएका परदेशीहरू धमाधम घर आइरहेका थिए। एकै शब्दमा भन्नुपर्दा वातावरण मनमोहक बनेको थियो। बेलुका गोधुली साँझ भएको हुँदो हो। म खेतका भित्तामा झ्यासले झ्याप्प भएर मुसाले धान काटेका ठाउँहरू सफा गरेर घर आई मात्र पुग्दै थिएँ, काकीले खुसी हुँदै 'सुब्रत भोलि यमुना आउने अरे, त्रिशुलेसम्म जा अरे सामानहरू ल्याउन।' भन्नु भो। अचानक सम्मझेँ अस्ति जाने बोलामा यमुनाले 'यसपालि दशैँमा आउँदा सामान लिन आउनु पर्देन, यही निशानाले बोकेर ल्याउँछे रे।' भनेको। झस्स भयो मन। 'ला ! निशाना त आइनन् कि क्या हो ?'

काकीलाई सोधुँ कि जस्तो पनि लाग्यो, फेरि सोध्नै आप्ठ्यारो लाग्यो। नसोधी कस्तो कस्तो मन पार्दै घरतिर लागेँ।

बेलुका ओछ्यानमा पसेर फेरि निशानाको डायरी हेरेँ। मलाई थाहा नै भएन त्यो आकर्षण डायरीप्रतिको हो या निशानाप्रतिको। यसरी डायरी हेर्दा हेर्दै सम्झैँ जानेबेलामा मैले निशानालाई राम्ररी हेर्दा यमुनाले 'सुब्रत दाइ यसको अनुहारमा हेर्न लायक त्यस्तो के छ र हेर्नु भएको ? म त केही पनि देख्दिन' भनेकी थिई। मैले भनेको थेँ 'म त निसानाको अनुहारमा सबैथोक देख्छु सुनचाँदी, हिरामोति, जूनतारा, महासागर।' निशानाले साह्रै अप्ठ्यारो मानेकी थिइन्।

खासमा त म यमुनाले सामान लिन त्रिशुले आउनु भनेकाले पो निराश बनेको रहेछु, निशाना आइनन् भनेर। त्यो त यनुनाले ठट्टा पो गरेकी थिई त सप्पै सामान निशानाले नै ल्याउँछे भनेर तर सामान लिन त जसरी जानु पथ्र्यो नै। झल्यास्स सम्झेर फेरि पुलकित भएँ।

भोपिल्ट यमुनाले बोलाएको समय भन्दा अलि छिट्टै त्रिशुले पुुगेँ। निक्कैबेर पर्खेपछि गाडी आयो। परैबाट यात्रुहरू ओर्लेको हेरिरहेँ। यमुना सामान झार्न खलाँसी भाइलाई सहयोग लिन थाली। धन्न आइछिन् निशाना पनि। निशाना र यमुना यताउता हेर्दै सामान उतार्दै थिए। म अलि परैबाट निशानालाई नियलिरहेको थिएँ।

सानो हाते ब्याग बोकेकी, सामान्य बुट्टेदार कुर्ता सुरुवाल लगाएकी, मोटी पनि होइन सारै पातली पनि होइन, उचाइ पनि लगभग पाँच फिट, तीन इन्च हुनुपर्छ। 'कति राम्री निशाना' मनमनै सोचेँ।

यमुना र निशानाले सामान गाडबाट ओराली सके। म पनि उनीहरूको छेउमा पुगेँ। दुवैले नमस्कार गरे। मैले पनि नमस्कारको फिर्ता गरेँ। यमुना त आफ्नै बहिनी हो काकाकी छोरी, उसको त सबै बानी बेहोरा थाहा छ। निशानासँग भने गहिरो चिन्जान छैन। गफगाफ पनि कताबाट थाल्ने मैले मेलै पाइनँ। सुरुमै रेला गरैँ 'हैन तिमीहरू दशैमनाउन घरै आएका हौ ?' निशाना बोलेकै थिइनन्, यमुनाले यमुनाले ठट्टा गरिहाली 'मचाहिँ दशै मान्न माइत आएकी, खोई यो निशानाचाहिँ कता हिँडेकी हो?' हामी हास्यौँ निशाना पनि।

बाटाभरि हामी यस्ता रेला ठट्टा गर्दै घर पुग्यौँ। दबैं पनि रमाइलै बित्यो। पिङ खेल्यौँ, कहिले यमुनाकोमा, कहिले हाम्रोमा भेला भएर मिठन मिठा परिकारहरू पनि बनाएर खायौं। पाक कलामा त निशानालाई जित्न नसकिँदो रहेछ। 

टीका लाउँदा यमुनाको बुबाले निशानालाई खुब रमाइलो आशिर्वाद दिनु भो। भन्दै हुनुहुन्थ्यो 'यसपालिको दशैंको टीको सहस्र दशैंको निम्तो, निशाना नानीलाई यो गाउँ साह्रै मन प¥यो दुर्गादेवीले यही घरबार गराई दिउन्।' हामी सबै हाँसेका थियौँ। 

आमालेचाहिँ टीका लाउँदा भन्नुभो 'अब यमुनाको विहे गर्ने बेला भो, यसको बिहे गरेपछि यहाँ शुन्य हुन्छ निशानालाई यतै राख्नु पर्छ।' निशाना लजाएकी थिइन्। 

यसरी दशैं खुब रमाइलो गरी मनाइयो। निशाना पनि हाम्रो परिवारमा मज्जाले परिचित भइसकिछिन्। उनी पनि रेलाठट्ट मज्जाले गर्न÷पचाउन थालिन्। गर्दागर्दै यमुना र निशाना विराटनगर जाने बेला भयो। 

आमाबुबा, काककाकीले निशाना गएपछि पनि खुब प्रशंसा गरिरहनुभयो। कहिले खाना खाँदा प्रसंग आउँथ्यो त कहिले काम गर्दा, कहिले कुवामा पानी ल्याउन जाँदा। यसरी निशाना विराटनगर गएपछि पनि हाम्रा घरमा रहिरहिन। 

मंसिर सुरु भयो अन्नबाली थन्क्याउन सबै ब्यस्त भयौँ। धान काट्नु, बिटा लाउनु, दाइँ गर्नु, मंसिरको धमाधम भन्ने चलन नै छ। धान काट्ने बित्तिकैदेखि गहुँ छर्ने, तोरी छर्ने आलु रोप्ने काम सुरु भइहाल्छ। पुस बाह्र गते देखि मेरो बि.बि.एस. तेस्रो वर्षको परीक्षा थियो। म पुस लाग्दै विराटनगर झरेँ। परीक्षा पुस चौबिस गते सकिने भएकाले एम महिनलाई एउटा होटलमै बस्ने निधो गरेँ। क्याम्पस नजिकै रहेको धनकुटे होटलमा बस्न थालेँ। तर प्राय खानचाहिँ यमुनाको कोठामै खाएँ। कहिलेकाहीँ हतार हुँदा र परीक्षाको दिन मात्र होटलमा खाना खाएँ। 

निशानाले छोडेको डायरी मैले अस्ति मैले अस्ति दशैँमा आउँदा दिइनँ। उनले पनि कुरा उठाइनन्, मैले पनि डायरी छोडेको कुरा गदैगरिनँ। यमुनाको कोठामा खाना खान जाँदा प्राय सँधैजसो निशानासँग भेट हुन्थ्यो।

मलाई निशानाको डायरी राख्न त मन थिएन तर कुन प्रसंगमा दिनु त्यो पनि तरिका मनमा आएको थिएन। तर निशानाको डायरी त खोई किन हो मेरा लागि निक्कै महत्वपूर्ण चिज बनेको थियो। 

बाहिर हुस्सु लागेर पुरै ढाकेको थियो। विराटनगरको शीतलहर साह्रै खराब हुन्छ। म कोठा मै बसिरहेको थिएँ। अघिल्लो दिन नै परीक्षा सकिएकाले पढ्नु पर्ने चिन्ता पनि थिएन। खाना खान यमुनाको कोठासम्म जान पनि चिसोले निक्कै गाह्रो पर्ने अवस्था थियो। किताबहरू मिलाएर झोलामा रखेँ र निशानाको डायरी झोलाबाट निकालेर हेर्न थालेँ। मेरो पनि फर्किने बेला भो अब त निशानालाई उनको डायरी जिम्मा दिनुप¥यो भनेर पनि नियालेको थें खासमा त तर निशानालाई त्यो डायरी दिन्छु भनेर तयारी पर्ने बेलामा पो थाहा भयो त्यो डायरीले त मलाई निशानाको सामिप्यता पो दिलाइरहेको रहेछ। म त निशानासँग प्रेम पो गर्न थालिसकेको रहेछु। अचानक सोचेँ 'यो डायरी पनि निशानालाई दिइसकेपछि मसँग निशानाको केही पनि रहँदैन याद शिवाय। प्रेम गर्न कहाँ तिमीलाई प्रेम गर्छु भनिरहनु पर्दोरहेछ र? विचरा ! निशानालाई के थाहा मेरो कमजोरी।

म त डायरी हातमा लिएर केके सोच्न थालेछु थालेछु। निशाना र उनको डायरीलाई विराटनगरमै छोडेर म कसरी घर पुग्नु जस्तो भयो। मन त कताबाट बटारिएर आयो आयो? मलाई खाना खान समेत मन परेन। खानाखानेबेला टरिसक्दा म नगएपछि यमुनाले फोन गरी र भनी 'झन परीक्षा सकिएपछि बिहान जुरुक्क उठेर आउनु पर्दैन? किन ढिला गरेको खाना खान? झन आज त निशाना पनि बिहानै आएर मुसु कतिमिठो पकाकीछे। तपाईको परीक्षा पनि सकियो तपाईलाई मसु पनि सह्रै मन पर्छ भनेर।'

म निशनासँग टाढिनुपर्छ भनेर यता दुःखी हुँदै बसेँ। उता निशाना त बिहानै पो आएर पर्खिरहेकी रहिछिन्। एक्छिन्लाई मन हलुका भयो। हतार हतार उठेर खाना खान गएँ। किन यती राम्री देख्छु म निशानालाई। त्यस दिन त मैले निशानालाई यति राम्री देखेँ कि मैले त्यति राम्रा मान्छे त कहिल्यै देखेकै थिनँ।

खाना औधी मिठो लाग्यो। खाना कै क्रममा सोधिन निशानाले 'परीक्षा पनि सकियो समग्रमा कस्तो गर्नुभयो परीक्षा ? घर कहिले पिर्नुहुन्छ ?' घर फिर्नुपर्छ भन्ने कुरा सम्झिँदै मलाई नरमायलो लागेर आयो रै पनि रेला गरेर भने 'किन र निशाना म तिमीहरूको विराटनगरमा अटाउँदिन र?' यमुनाले हास्दै भनीहाली 'म त विराटनगरकी होइन, निशाना तै भन् है सुब्रत दाइलाई पाल्न सक्छेस कि सक्दिनस् ?' सबैजना हस्यौ अलिअलि लजाइन् निशाना र भनिन् 'मैले के गरेर पाल्नु र आफै पाल्लिहाल्नु हुन्छ नि, परेको बेला सघाउँला नि।' यमुनाले राम्रो मौका पाई निशानालाई जिस्काउने र भनिहाली 'कति पहाड पहाड भन्थिस् त जा न दाइसँगै यसपाली पनि पहाड। दाइ यसलाई पहाड लगेर जानु है नत्र यसले मलाई पहाड जौँ भनेर दिग्दार लाउँछे फेरि।' मलाई मनमनैै रमाइलो पनि अलि अलि अप्ठ्यारो पनि भयो। निशानालाई त झन धेरै अप्ठ्यारो लाग्यो होला। मैले सामान्य भएर एकदुइ दिनमा घर फर्किने कुरा बताएँ।

दिउँसोतिर म कोठामै बसिरहेको थिएँ, निशाना पो टुप्लुक्कै आइपुगिन। म त झसंगै भएँ। त्यसरी निशाना र म मात्र त कहिल्यै सँगै भएका थिएनौ। एक्लै त निशाना कहिल्यै आउँदिन थिइन्। अप्ठ्यारो मान्दै भित्र बोलाएँ। उनले सामान्य तरिकाले 'के गर्दै बस्नुभा‘छ' भनिन्। मैले त्यतिकै आराम गर्दैछु भने। म त निशाना मात्रै हुँदा त गफ गर्ने पो नजान्दो रहेछु। काहाँबाट गफ थाल्ने जवाफ कसरी फर्काउने। 

मैले सम्झेँ अस्ति दशैँमा पनि निशानाले भन्छु भनेको कुरा भनिनन्, भन्ने माहोल नै मिलेन। अनि सोधेँ 'अस्ति के भन्ने भन्थ्यौ नि? भन न के कुरा हो ? खल्दुली झनझन बढिरहेको छ।' उनले त कुरा तर्कान् केके भनेर टारिन्। मैले पनि अड्को थापेँ 'तिमिले मलाई भन्यौ भने, मसँग तिम्रो एउटा सामान छ त्यो दिन्छु।' उनलाई पनि निक्कै खुल्दुली बढेछ ढिपी गर्न थालिन्। मैले एक्छिन त नदिने अडान गरेँ तर म त उनको ढिपीका अगाडि अडान गर्नैपो नसक्दो रहेछु। कस्तो दिउँदिउँ पारिन् उनले। उनले भनिन् 'आज तपाई मलाई त्यो दिनु भालि म आजकै समयमा आउँछु र भन्छु।' मैले उनको डायरी दिएँ।

डायरी पाएपछि उनी साह्रै छक्क पन् ि। त्यो डायरी कहाँ छुट्यो उनलाई पत्तै रहेन छ। उनी त साह्रै खुसी भइन्। 

उनी मेरो कोठामा साह्रै धेरैबेर त बसिनन् तर मलाई उनीसँगै विताएको त्यो समय मैले बुझेर बिताएका सबै समय भन्दा आनन्दको समय रहेको महशुस गरेँ। बेलुका खाना खाँदा पनि यमुनाकोमा निशाना देखा परिनन्। भोलिपल्ट बिहान पनि उनी आइनन्। मलाई त दिउँसोको पर्खाइले पुरै छट्पटि भइरहेको थियो। नभन्दै दिउँसो अघिल्लो दिन भनेकै समयमा आइन्। मेरो ढुक्ढुकी बढेर कहाँ पुग्यो पुग्यो। के होला निशानाले मलाई भन्नुपर्ने कुरा भनेर। 

उनी अलि चन्चले लाग्यो त्यो दिन मलाई। चनचले नै भएकी हुन् यो आफुलाई चन्चले देखाउन खाजेकी हुन् मलाई केही पत्तै भएन। मैले अलि गम्भीर भएर भने 'निशाना तिमीले मलाई के भन्न लागेकी हौ भन न, मलाई सुन्न साह्र हतार भइसक्यो।' उनले चन्चले भएर भनिन् 'कति हातार लागेको हौ तपाईलाई त्यस्तो केही पनि हैन त' 'जे भए पनि भन न' मैले भनेँ।

त्यतिकै निक्कैबेर सम्म केके भनेर टारिन्। निक्कैबेर बसेपछि त त्यतिकै पो जान्छु भन्न थालिन्। मैले केही भनिन हेरी मात्र रहेँ तर अलि दुःखी भएछु। उनले मलाई राम्ररी हेरिन्। मैले उनका आँखामा नियाल्ने प्रयास गरेँ उनले मलाई भन्ने सम्भावित कुरा तर केही पत्तै लागेन। म निशानालाई आफ्ना सबै भावना राखौँ कि जस्तो पनि लाग्यो तर तेत्रो हिम्मत म बिचरा ! सँग कहाँबाट हुनु र?

निशानाले जान्छु ढिलो भयो भनिरहे पनि उठेर भने गइहिलनन्। टुक्राटुक्री गफ जोड्दै बसिरहिन्। म त साह्रै गम्भीर भएछु खासै केही पनि बोलिन। उनले सोधेका कुराको पनि साह्रै छोटो उत्तर दिएँ। 'के हो तिमीले भन्ने कुरा' पनि भन्न छाडेँ।

रात पर्न लागेको थियो। उनले आफ्नो सानो ब्याग समातिन् र जुरुक्क उठेर 'म जान्छु ल' भनिन्। म त कस्तो रातो भएछु, रुँला रुँला जस्तो पो भएछु। कान पुरै तातेका थिएँ। उनले मलाई थोरै हेरिन्, सायद आँखामा। मेरा आँखा भने उनलाई निवेदनका भाषामा नियालीरहेका थिए। त्यो निवेदन मलाई भन्दा ज्यादा उनलाई थाहा थियो।

उनले आफ्नो ब्यागको जिपर खोलिन् र पट्याँदा पट्याउँदा पारेको कागज निकालेर दिइन् र भनिन् 'यहाँ एउटा कथा लेखेकी छु पड्नु ल' यति भनेर उनी सरासर गइन्।

मन अधिर थियो। स्थिर गर्ने प्रयत्न गरेँ। कृष्णपक्षको सँझ झमक्कै प¥यो। बत्तिको उज्यालोमा कागज फुकाउन निक्कैबेर लाग्यो।
हामी नेपालीको धारणा कस्तो बन्दै छ भने विदेश गएर धन सम्पती आर्जन गरे मात्र सम्पन्न भइन्छ, इज्जतदार भइन्छ। त्यसैले मैले किरिया मोहलाई निक्कै बढाएकी थिएँ। यदि म यमुनासँग पहाड नगएकी भए सुब्रतसँग भेट हुने थिएन। मालई स्वदेशको माटोको गन्द थाहा हुने थिएन, विदेशको मोहले मलाई सँधै पीडित बनाइ रहने थियो। यमुनाको कारण सुब्रत र मरो भेट हुनु मेरो लागि जीवनको साह्रै ठूलो उपलब्धी हो। हुन त जहाँ भए पनि एउटा न एउटा मन मिल्ने साथी हुन्थे मेरा, तर यमुना यस्ती साथी हो जसको गाली र मायाले मलाई सँधै अगाडि बडाइरह्यो। पछाडि फर्किनैै परेन। यमुनाको गाउँ जाँदा भेटिएका यमुनाका दाजु सुब्रत मेरो मार्गदर्शन नै भएर आउनु भयो। हुन त म सुब्रतसँग चाहे जति नजिक हुन पाइनँ। 

पहिलो पल्ट पहाड जाँदा चिनेका सुब्रतलाई मैले मनमै बोकेर विराटनगर आएकि थिएँ। त्यसैले मैले दशैँमा ममी ड्याडीलाई सम्झाएर फेरि यमुनासँगै दशैँ मनाउने निधो गरेँ। त्रिशुलेबाट घर पुगिन्जेलको सयम मलाई निक्कै रमाईलो लागेको थियो। अनि सँगैसँगै पिङ खेल्दा, खाना पकाउने प्रतिस्पर्धा गर्दा पाएको रमाइलो मलाई जीवनमै सबैभन्दा रमाइलो लागेको हो। यमुनाको बुबा र सुब्रतको आमाले टीका लाउँदा दिनु भएको आशिष सँधै मेरा कानैमा बसेका छन्। 

यसरी सम्झिँदै ल्याउँदा सुब्रतसँग मैले जति समय विताएँ ती समय त मेरा लागि बिर्सिनै नसक्ने समय पो रहेछन्। यसरी हेर्दा मैले सुब्रतलाई बिर्सनु भनेको एउटा आँखा फुट्नु जस्तै पो भइसकेछ। हुन त सुब्रत धेरै तर्क गर्ने मान्छे, अलि ज्यादा बोल्छ जस्तो लाग्थ्यो, धेरै भावनामा बहकिने मान्छे हो जस्तो लाग्थ्यो। तर जब एकान्तमा तीनै कुरा सम्झिँदै ल्याउँथे सबै सत्य लाग्दै आउँथे। त्यसमा पनि सुब्रतले आफ्नो गाउँमा बनाएको छवीले सुब्रत सारै राम्रो मान्छे लाग्न थालेको थियो। हुन त सुब्रतलाई पहिलो पल्ट देख्दा यो मान्छे सारै अनौठो, सोझो, अझ भन्ने हो भने त समयको अपवाद जस्तो लागेको थियो मलाई। शहरका कति सुन्दर मानिसमा त मेरो आँखा अडिन नसकेका अठारौ सताब्दीको जस्तो। तर जबजब ऊसँग गफ हुन्थ्यो, उसका कुरा गाउँमा सुन्न थालँे चामत्कारी पो लाग्न थाल्यो। दिनदिनै सुन्दर लाग्न थाल्यो। म त उसलाई टाढैबाट हेरिरहन थालेँ।

उसले भनेको सुनेकी थिएँ 'ज्ञान हासिल गर्न सबैखाले किताब पढ्नुपर्छ। सबै किताबमा ज्ञान हुन्छ तर ज्ञान चिन्न सक्नुपर्छ।' मैले यो कुराको गहिरो मनन् गरेँ। विराटनगर पुगेपछि किताबहरू किनेर खुब पढ्न थालें। एकदिन हरिभक्त कटुवालको किताब पढ्दै गर्दा पो आश्चार्य लाग्यो। मेरो मनमा एउटा के भ्रम थियो भने नाम चलेका मानिसहरू सबैभन्दा इमान्दार मान्छे हुन्, तिनीहरूले न त रक्सी पिउँछन् न त गल्ती वा फटाई नै गर्छन्। यो कुराको भ्रम मलाई उक्त जिवनीले मेटाइदियो। इमान्दार ठानिएका मान्छे त मैले सोचेभन्दा फरक पो हुँदा रहेछन्। हरिभक्त कटुवालको जिवनी पढ््दै जाँदा मैले सुब्रतलाई हरिभक्त कटुवालसँग दाँज्दै गएछु। सुब्रत भविष्यमा हरिभक्त कटुवाल जस्तै बन्छ भन्ने सोच्दै घरीघरी दुःखी पो बनेछु। तर न सुब्रत त्यस्तो थियो न त सुब्रतको भविष्य नै देखेकी थिएँ मैले। यो त मेरो भ्रम मात्र थियो। हुन त हरिभक्त खराब मान्छे हो ऊ जस्तो बन्नु हुँदैन भन्न खोजेको होइन तर मेरो व्यक्तिगत धारणामा हरिभक्त कटुवालले देशको लागि धेरै ठूलो योगदान ग¥यो। साहित्यको उत्थान ग¥यो। तर उसको जिउने शैली मलाई मन परेन। दुईदिन बाँच्नु छ जिन्दगी फूल हो यसलाई जिउन पनि जान्नुपर्छ। म त भन्छु हरिभक्त कटुवालले जस्तो योगदान सबैले दिउन तर त्यस्तो जीवन कसैले नजिउन्। 

अब मैले मेरो प्यारो मान्छे सुब्रतसँग पनि टाढिनु पर्छ। म घरिघरि कल्पना गर्छु। अब केही समयमा नै हामी टाढा हुन्छौ। दिनदिनै सुब्रतसँग भेट्न चाहने मेरो मन पनि टाढाटाढा हुन्छ। फोनमा सबैकुरा आदानप्रदान गर्न ज्यादै गाह्रो हुन्छ। हाम्रो भेट पनि सायदै होला नहोला, हाम्रो आफ्नै परिवार होला, अनि शंका होला। यस्ता यस्ता नाताहरु पनि तोड्नु पर्ने कस्तो विडम्बना। 

हुन त कहिलेकाहीँ सुब्रतले आफ्नो बनाउन चाहिरहेको पो होकी भन्ने शंका हुन्थ्यो। यसबारे खुल्ला रुपमा कुरा उठाउँकी भन्ने लाग्थ्यो। तर फेरि सोच्थेँ यो केटीले मलाई मन पराउछे भनेर अरुलाई सुनाएर मेरो मर्मको ख्याल नगर्ने हो कि भन्ने डरले यो कुरा गरिनँ। फेरि मेरो पो ऊ सबैभन्दा मन परेको मान्छे हो त उसका त म जस्ता कति होलान्। यस्तै सोचिरहेको बेला दशैँमा आमाले यमुना र मसँग सुब्रतको बिहेको बारेमा केटी खोज्दै गरेको र उसले कुनै पनि केटीप्रति खासै चासो नदेखाएको कुरा सुनाउनु भयो। मैले सोचेँ 'सुब्रतले अरु नै केटी हेरेको रहेछ, र त कुनै केटीप्रति चासो देखाएन।' अनि पो मलाई थहा भयो म त सुब्रतसँग प्रेम पो गर्न थालेछु। तर उसले अरु नै हेरिसकेको छ भने मैले ती सपना मात्र किन पाल्ने। बिस्तारै सहज हुन थालेँ। मलाई त विराटनगर नै फिर्न पो मन लाग्न थाल्यो। मनमनै सोचेँ अब म विराटनगर फर्केपछि कहिल्यै हाम्रो भेट हुने छैन। 

मलाई पनि आफ्नो बिहेको कुरा सोच्नु पर्ने महशुस हुन थाल्यो। कारण फूल फुलेको ठाउँमा भमरा आउँछ भनेझैं बिबाहको लागि धेरै कुराहरू आउन थाले। अप्रत्यक्ष रुपले प्रेम प्रस्ताव पनि तर यी प्रस्तावहरू स्वयम् ममाथि आए, यो कुरा घरमा ममी डेडीलाई थाहा थिएन। घरमा ममी डेडीले त 'जबरजस्ति बिबाह नगरी दिने बरु आफूलाई मन परेको मान्छे भए ल्याए हुन्छ' भन्नु भएको थियो। यस्तै क्रममा एउटा साथी मसँग नजिकिँदै थियो। उसले धेरैदिन अगाडिदेखि फोन गरेर मसँग केही कुरा गर्न खोजिरहेको रहेछ। एकदिन उसले केही कुरा गर्ने अनुमति माग्यो मैले स्विकृत गरें। उसले भन्यो 'निशाना जि यो जिन्दगी एक तरिकाले त लामो पनि छ र एक तरिकाले छोटो पनि। यो जिन्दगीमा छोटो यात्रा गर्नका लागि मन मिल्ने एउटा सथी चाहिन्छ र यसका लागि मैले तपाईलाई रोजें। हुन त तपाईलाई यसले एक दुई पटक देख्दैमा प्रेम प्रस्ताव राख्ने? भन्नु होला तर मैले तपाईलाई राम्ररी चिन्ने कोशिस गरें र तपाईको बारेमा मलाई सम्पूर्ण कुरा थाहा छ।' भन्यो। उसले थप्यो 'निशाना जी अबको समयमा हामीले खुल्ला रुपमा प्रेम गर्नुपर्छ। तपाईको साथ पाएँ भने जीवनमा केही गर्न सक्ने अठोट लिई म तपाई समक्ष यो सुनाउँदै छु यदि तपाईले कसैलाई वचन दिनुभएको छ भने अहिले नै भन्नुहोस् म कसैको जीवन भत्काउन चाहन्न।' दुईचार पटकको प्रश्नपछि मैले त्यस्तो त केही छैन भनें। यसरी  प्रत्यक्ष रुपमा पहिलो पटक कसैले रिक्वेष्ट गरेको थियो मलाई। मैले केही भन्न सकिनँ। हुन त त्यो मान्छेको बारेमा मलाई केही कुरा त थाहा थियो। उसको बिचार नै एकदमै मन प¥यो मलाई। रै पनि मलाई कताकता डर लाग्यो म त्यो मान्छेदेखि टाडिन खोजें। फोन रिसिभ गरिनँ। एस.एम.एसको रिप्लाई दिइनँ तर एकदिन उसले फेरि 'निशाना जी मैले तपाइलाई...।'

जे होस् सुब्रतसँगको आत्मीयता म कहिल्यै भुल्न सक्दिन। अब मैले सुब्रत जस्तै सुब्रत कहिल्यै पाउदिन। न त मेरो जीवनसाथी नै सुब्रत जस्तो हुने छ। न त मेरा भावी साथीहरू। उससँगको चिनजान साँच्चै अविस्मरणीय बन्यो। ऊप्रति मेरो समपर्णको बारेमा विश्व इतिहास नबन्ला, नेपालको इतिहास नबन्ला, तर मेरो इतिहासबाट ऊ कहिल्यै मेटिने छैन। ऊ मेरो जिन्दगीमा सँधै रहिरहने भए यति मुल्यवान हुने थिएन होला। तर मेरो जिन्दगीबाट ऊ गुम्दै छ। र न यति मूल्यवान छ। गुमाएको चिज मूल्यवान हुन्छ भनेको यही होला। 

यो कापीको पानामा हाम्रो सम्बन्ध अटाएर म साँघुरो बन्न चाहान्न किनकि कतिपय भावनाहरू म यहाँ पोख्न सक्दिन। जे छन् मेरो अदृष्य मनभित्र सबै कुरा छन्। मैले कसैले नदेख्ने र पढ्न नसक्ने गोप्य ठाउँ यो मनमा नै राखेकी छु। यो कापीमा त सुब्रतले मलाई भावना लेख्न सिकायो कतिपय आचरण सिकायो...। यति लेख्न सक्छु। तर यो कथा लेखिसकेपछि मलाई च्यातौँ च्यातौँ लाग्दैछ। किनकि यहाँ लेखिएको यो शब्दले हाम्रो भवनालाई साँघुरो बनाउँछ। मनमा अटाउन नसकेर पोखिए जस्तो लाग्दैछ।

वास्तवमा हामी प्रेमि प्रेमिका होइनौँ तर हामी प्रेम र प्रेम हौं। 

निशानाको कथा पढिसकेपछि म त्यही साँझको अँध्यारो मै हराएँ। मैले केही सोच्नै सकिन। यमुनाको फोन कतिपल्ट बज्यो मलाई हेक्का नै रहेन। पढिसक्दा आँखा र नाकबाट पानी निक्कै बगिसकेको थियो। रातभरि केही खान त के त्यसैत्यसै पेट बाउँडिएर आयो। कतिपल्ट त उल्टी नै गरेँ। केही गरे पनि रात बितेन।

भोलिपल्ट साह्रै निराश भएर यमुनालाई सबै कुरा भनेँ। यमुनाले अलि गम्भीर भएर भनी। 'मैले जति अरुले निशानालाई कसैले जान्दैन। निशानाले कोकोसँग संगत गर्छे मलाई थाहा छ। उसले तपाईलाई असाध्यै माया गर्छे। जतिबेलै तपाईको कुरा गर्छे। तपाईकै बारेमा सोचेर रातदिन बिताउँछे। यो त उसले तपाईको मन पो चोरेको हो त।'
 

प्रकाशित मिति: : 2021-03-14 07:15:00

प्रतिकृया दिनुहोस्