अब अक्सब्रिज छाडेर लन्डन जाऔं। पात अहिले पनि झरिरहेका थिए। हजारौं अरू कोठा जस्तै कुनै एउटा कोठाको कल्पना गरौं। झ्यालबाट मानिसका ह्याट, भ्यान, मोटर, कार हेर्दै अर्काे झ्यालसम्म पुगौं। त्यस कोठाको टेबलमा एउटा खाली कागज छ, त्यसमा ठूला अक्षरमा महिला र आख्यान मात्र लेखिएको छ। अरू केही छैन। अक्सब्रिजमा लन्च र डिनर खाएपछि दुर्भाग्यवश यस शृंखलामा तेस्रो ठाउँ ब्रिटिश म्युजियमको भ्रमण नगरी भएन। मलाई जे लाग्यो त्यसमध्येबाट व्यक्तिगत र संयोगवश भएका कुरा फालेर सत्यको सुगन्धित तेल निकाल्नुपरेको छ।
अक्सब्रिजको त्यो भ्रमण, लन्च र डिनरले मेरा दिमागमा झुन्डका झुन्ड प्रश्न खडा गरे। पुरुषले वाइन खाँदा महिलाका भागमा पानी मात्र किन परेको होला? एउटा लिंगका मानिस त्यति समृद्ध छन् भने अर्काे लिंगका मानिस किन गरीब? आख्यानमा गरीबीको कस्तो प्रभाव पर्छ? सिर्जनात्मक कृति तयार गर्न कुन कुन अवस्था नभई हुँदैन? एकै पटक हजारौँ प्रश्न मेरा दिमागमा आए। तर, प्रश्नको के काम? उत्तर पो चाहिएको छ। उत्तर पाउनका लागि जानकार र पूर्वाग्रह नभएका त्यस्ता मानिससँग परामर्श गर्नुपर्छ जसले आफ्नो वचन जथाभावी चलाउँदैनन्, आफ्नो शरीरको भ्रान्ति देखाउँदैनन् र आफ्नो विवेक र अनुसन्धानले जे देख्छ सो कुरा किताबमा लेखेका हुन्छन्। यस्ता किताब ब्रिटिश म्युजियममा भेटिन्छन्। सत्य ब्रिटिश म्युजियमका किताबका चाङमा भेटिँदैन भने कहाँ भेटिएला त? नोटबुक र पेन्सिल उठाउँदै मैले आफैंलाई सोधेँ।