‘यो पत्रकारलाई जुत्ता हान्छु’

किसुनजी अन्तरिम प्रधानमन्त्री थिए। यो २०४७ सालतिरको कुरा हो। म त्योबेला ‘समालोचना दैनिक’मा कार्यरत थिएँ। बहुदल आउनासाथ नेपालमा एनजीओ/आइएनजीओको बाढी आउन थालिसकेको थियो। यस्तैमा एउटा कुनै एनजीओले होटल ‘याक एन्ड यति’ मा ‘प्रजातन्त्रको सुदृढीकरण र गरिबी निवारण’ विषयक गोष्ठीको आयोजना गरेको थियो। निमन्त्रण कार्डमा ‘लन्च’ को पनि व्यवस्था रहेकाले भर्खर सत्र-अठार वर्षको यो केटो समाचार संकलनसहित पाँचतारेको खाना पनि चाखौं भनेर कार्यक्रममा सहभागी भएको थियो। तिनताका यस्ता कार्यक्रममा नबोलाएका पत्रकार पनि परिचय-पत्र बोकेरै सहभागी हुन्थे, खानकै लागि। अझ साँझ ‘ककटेल विथ डिनर’ रहेछ भने त पत्रकारको घुइँचो नै लाग्थ्यो। यसको बेग्लै किस्सा कुनै दिन लेखौंला। 

प्रधानमन्त्री किसुनजी प्रमुख अतिथि हुनुहुन्थ्यो। एक से एक दिग्गज आएर प्रजातन्त्रको सुदृढीकरणमा गरिबी निवारणको महत्वबारे ‘लेक्चर’ छाँटे। आफूलाई भने कहिले यो बकम्फुसे भाषण सकिएला र लन्च खान पाइएला भन्ने हतारो थियो। कार्यक्रम सकियो। सबै सहभागी लन्च लिइरहेकै थिए। किसुनजी कार्यक्रमस्थलबाट बाहिर निस्कदै थिए। सहभागीको भिडमा एकजना खाइलाग्दो ज्यान परेकी गोरी महिला पनि थिइन। किसुनजीलाई देख्नासाथ तिनले नमस्कार गरिन्। किसुनजीले झयाम्मै उनलाई अँगालो मारेर बेस्सरी अँठ्याए।  

झट्ट हेर्दा त्यो दृश्य नैकापतिर असार पन्ध्रमा महिलालाई अंगालो मार्ने उही कृषिमन्त्री हरि पराजुलीकै व्यवहारजस्तो देखिन्थ्यो। तर, सन्त नेता किसुनजीले स्नेहबस ती महिलालाई अंकमाल गरेको दृश्यलाई सबैले सामान्य रुपमा लिए। उनी थिइन, बारबरा एडम्स, जो विदेशबाट आइ लामो समयदेखि नेपालमै लेखन र पत्रकारितामा सक्रिय थिइन। बारबराका लागि त्यो अँगालो कुनै आपत्तिको विषय थिएन, त्यसमाथि बहालवाला प्रधानमन्त्रीले मारेको अँगालो। 

किसुनजीका यस्ता किस्सा अनेक छन्। उनका कतिपय बोलीहरू पनि आम मान्छेलाई असंगत लाग्ने खालका थिए। जस्तै, ‘म रक्सी खान सांसद हुन्छु’ भनेर उनी विवादमा आए। तर, उनले सांसदहरूको भूमिका कति निरिह छ भन्ने अर्थमा व्यंग्य कसेका थिए। किसुनजीको ‘सेन्स अफ ह्यूमर’ को पाटो नबुझ्नेलाई उनको व्यवहार र बोली पच्दैनथ्यो। 

पत्रकारलाई ब्रेकिङ न्यूज दिने किसुनजी

अर्को सन्दर्भ- २०६२/०६३ को आन्दोलन चरम उत्कर्षमा थियो। चैत्रको अन्तिम सातातिर हुनुपर्छ, तात्कालीन राजा ज्ञानेन्द्रले किसुनजीलाई दरबारमा दर्शनभेटका लागि बोलाए। राजाले नयाँ प्रधानमन्त्री बनाउने हल्ला बजारमा चलिरहेको थियो। भित्र दर्शनभेट चलिरहेको थियो, बाहिर दरबारको पश्चिम गेटमा पत्रकारहरू व्यग्र प्रतिक्षामा थिए। 

किसुनजीको गाडी आयो। केही पत्रकार गाडीनेर गएर केही सोध्न खोजिरहेका थिए, किसुनजीको गाडी रोकिएन। त्यस्तोबेला काम लाग्ने त उही ऋषि धमला न हो। ऋषिजी दौडदै किसुनजीको गाडी अगाडी ठिंग उभिए। ऋषिलाई देखेपछि किसुनजीले गाडी रोक्न भने र झ्यालको सिसा खोले।  

‘के छ ऋषि बाबु, सनसनी खोज समाचार चाहियो हैन?’ किसुनजीले सोधे।
‘हो, किसुनजी, राजासँग दर्शनभेटमा के कुराकानी भयो ?’, ऋषिले सोधे। 
‘राजासँग मेरो गम्भीर कुराकानी भयो, सरकारले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभएको छ’, किसुनजीले भने। 
‘तपाइ प्रधानमन्त्री बन्दै हुनुहुन्छ त?’ ऋषिले सोधे। 
‘महाराजले बनाउनुहुन्छ भने म किन नहुने? अवश्य प्रधानमन्त्री हुन्छु’, किसुनजीले भने।  
अनि झयाल बन्द गर्दै उनले भने, ‘ल तपाइहरूले समाचार पाउनु भयो हैन? राम्रो शिर्षक राख्नुहोला।’



ग्लेमरस जिवन र मृत्यु मन नपराउने पारिजात



राजनीति गम्भीर मोडमा पुगेको थियो, आन्दोलनकारी आक्रोशित भइरहेका थिए, सडकमा प्रहरीको गोली लागेर मानिस मरिरहेका थिए। किसुनजी भन्दैथिए, ‘म राजाको प्रधानमन्त्री हुन्छु।’

धेरैलाई लाग्यो, एउटा प्रजातन्त्रका लागि लडेको त्यागी सन्त नेताले लोकतान्त्रिक आन्दोलन चर्किरहेको बेला त्यसो भन्न हुँदैनथ्यो, राजाको प्रधानमन्त्री हुन्छु भनेरभन्दा लोकतन्त्रवादीको मनमा के कति ठेस पुग्थ्यो, हेक्का राख्नुभएन। 

खासमा किसुनजीले त्यो दिन पत्रकारसँग ठट्टा गरेका थिए। किसुनजीलाई पक्कै थाहा थियो, राजाले उनलाई प्रधानमन्त्री बनाउदैनन्। त्यसखालको कुराकानी पनि राजासँग उनको भएको थिएन। तर, पत्रकारमैत्री किसुनजीले एक घन्टासम्म दरबारको ढोकामा कुर्थान हालिरहेका पत्रकारलाई त्यो दिन एउटा गज्जबको ‘म्याटर’ उपलब्ध गराइदिए।  धमलाजीको प्रश्नमा किसुनजीले दिने जवाफ यसबाहेक अर्को के नै हुन्थ्यो र? तर, किसुनजीको ‘सेन्स अफ ह्यूमर’ बुझ्नले त्यसलाई त्यति गम्भीर ‘इश्यू’ बनाएनन्।

किसुनजीको सहिष्णुता 

म तिनताका (२०४९ सालतिर) किसुनजीकै मुखपत्र भनिने जनमञ्च साप्ताहिकमा संवाददाता थिएँ। सोही पत्रिकामा कार्यरत पत्रकार एवं किसुनजीका प्रिय कार्यकर्ता रेवतीरमण सुवेदीजीसँग मेरो घनिष्ठता थियो। एक दिन रेवती दाइले भने, ‘कुसुम बाबु, जाउँ किसुनजीलाई भेटन।’

हामी नयाँ बानेश्वरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गयौं। तिनताका किसुनजी कांग्रेसको कार्यवाहक सभापति थिए, गिरिजाबाबु प्रधानमन्त्री। गणेशमान सिंहका आफन्त दुर्गेशमानलाई राजदूत नबनाएको कुराले कांग्रेसमा खटपट सुरु भइसकेको थियो र गणेशमानजी गिरिजाबाबुसँग निकै रुष्ट थिए। पार्टी कार्यालयमा दुई तल्लामाथि किसुनजीको कार्यकक्षमा पुग्दा गणेशमानजी, बासु रिसाल र किसुनजी बसिरहेका थिए। हामी कुनामा थियौं। 

‘गिरिजाले एकलौटी गर्न थाल्यो, किसुनजी किन केही भन्नुहुन्न?’ गणेशमानजी यस्तै केही भन्दै थिए। 
‘संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छ, सानातिना नियुक्तिमा हामीले उहाँलाई गालि नगरौं। मालेहरूले पनि खेदिरहेका छन्, यस्तोबेला सहनु नै उत्तम होला’, किसुनजीले दिएको जवाफको भाव यस्तै थियो। 

किसुनजीको लोकतान्त्रिक संस्कार र सहिष्णुता देख्दा म चकित परेको थिएँ। केही बेरपछि गणेशमानजी र बासु रिसाल फन्कदै बाहिर निस्के। रेवती दाईले क्यासेट रेकर्डर खोलेर किसुनजीसँग अन्तर्वार्ता गर्न थाले। म छेउमै कुनातिरको सोफामा बसेर किसुनजीको बोली हैन, अनुहार नियाली रहें। किनकी, जिवनमै पहिलो पटक किसुनजीलाई मैले त्यति नजिकबाट देख्ने, भेटने र परिचय गर्ने मौका पाएको थिएँ। 

चिरञ्जिवी वाग्लेलाई खेतैखेत लखेटे

एकपटक रेवती दाई र म लक्ष्मी दिदीको पसलमा मासु चिउरा खाइरहेका थियौं। लक्ष्मी दिदीको पसलमा जुन मासु चिउरा पाइन्छ, त्यसको स्वाद अदभूत थियो। लक्ष्मी दिदीको पसलसँग किसुनजीको बडो भावनात्मक सम्बन्ध छ। पंचायतकालदेखि नै बिहान त्यो पसलमा किसुनजी चिया खान आउँथे। विशेषगरी शनिबार। अलि टाढा कुवेर शर्माको निवास पनि थियो। किसुनजीका चेलाचपेटा सबै त्यहाँ झुरुप्प हुन्थे। अनि लक्ष्मी दिदीको पसल छेउकै पान पसलमा किसुनजीले पान खान्थे। 

गिरिजाबाबुले चिरञ्जिवी वाग्लेलगायत किसुनजी पक्षका ६ मन्त्रीलाई हठात क्याबिनेटबाट बर्खास्त गरेका थिए र कांग्रेसमा किचलो चर्किएको थियो। गणेशमानजीले ‘देशान्तर साप्ताहिक’ मा भनेका थिए, ‘गिरिजाले नरसंहार नै गरे।’

चिरञ्जिवी वाग्लेलगायतका मन्त्री हटाउँदा किसुनजीको पनि चित्त दुःखेको थियो। रेवती दाईले चिरञ्जिवीका सन्दर्भमा एउटा किस्सा सुनाए। यो चाहिँ २०४२÷०४३ सालतिरको राष्ट्रिय पञ्चायत निर्वाचन ताकाको घटना हो, जुन किंवदन्ती बनिसकेको छ। भएछ के भने, किसुनजी कुनै पनि हालतमा कांग्रेसले राष्ट्रिय पञ्चायत निर्वाचनमा सहभागी नहुने अडान लिइरहेका थिए। उता, कम्युनिष्टले चाहिँ ‘पंचायतभित्र पसेर पंचायतकै भण्डाफोर गर्ने’ रणनीति अनुसार जनपक्षीय उम्मेदवार खडा गर्ने सोच बनाएछन्। 

कांग्रेसका हरिबोल भट्टराइदेखि चिरञ्जिवी वाग्लेसम्म किसुनजी निकटका केही नेता कार्यकर्ताले लक्ष्मी दिदीकै पसलमा चिया पिउँदैगर्दा के सोच बनाएछन् भने कांग्रेस पनि राष्ट्रिय पञ्चायतमा उठनुपर्छ। उम्मेदवार बन्ने लालसा बोकेका केही कांग्रेसजनमा यस्तो धारणा विकास भएको रहेछ। 

अब किसुनजीलाई मनाउने कसरी? चिरञ्जिवीले भनेछन्, ‘पंचायतको उपयोग गरौं भनेर म किसुनजीलाई सहमत गराउँछु। आजै किसुनजीलाई गएर भेट्छु।’



'गीत र कविताको जन्म संवेदनाबाट हुन्छ' (भिडियो)



चिरञ्जिवी वाग्ले चुनावमा भाग लिनुपर्यो भन्न आफूकहाँ आउन लागेको खबर किसुनजीले अन्य कार्यकर्तामार्फत थाहा पाइसकेका रहेछन्। कुपण्डोलस्थित निवासमा किसुनजी बसिरहेका थिए। चिरञ्जिवीलाई देख्नासाथ उनले जुत्ता उठाए र भने, ‘बडो चुनावमा भाग लिनुपर्यो भन्न आएको हैन, के ठान्या छ मलाई?’

यति भन्दै किसुनजी जुरुक्क उठेर जुत्ता हातमा लिएर चिरञ्जिवीलाई हान्न भन्दै दौडिए। चिरञ्जिवी त्यहाँबाट खेतैखेत कुलेलम ठोके। किसुनजीले डेराभन्दा अलि परसम्म चिरञ्जिवीलाई लखेटेको दृश्य छरछिमेकले पनि देखे। 

चिरञ्जिवी किसुनजीका प्रिय थिए, त्यसैले त्यो हदसम्मको घृणा गरे। प्रिय थिए, सोही कारण चिरञ्जिवीलाई उनले उत्तिकै प्रेम गरे, मन्त्री पनि बनाए। 

किसुनजीको प्रेम र घृणाको यो सम्बन्ध जोसँग छ, उ भाग्यमानी हो। तर, पञ्चायतको चुनावमा भाग लिने कुरालाई किसुनजीले कहिल्यै मानेनन्, आफ्नै प्रियजनले भन्दा पनि।  

‘यो पत्रकारलाई जुत्ता हान’

अर्को घटना, जसको साक्षी म पनि हुँ। किसुनजी कार्यबाहक सभापति थिए र झापाको कलबलगुडीमा कांग्रेस महाधिवेशनको तयारी हुँदैथियो। नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा पत्रकारहरुको घुइँचो लागिरहन्थ्यो। माथि कोठामा नेताहरूबीच गोप्य छलफल हुन्थ्यो, त्यसको निश्कर्ष के आयो भन्ने पत्रकारलाई पनि उत्सुकता हुन्थ्यो। तिनताका अहिले झैं दर्जनौं मिडियाको ताँती हुँदैनथ्यो। केही अग्रणी साप्ताहिक पत्रिका निस्कन्थे। कान्तिपुर दैनिक भर्खर प्रकाशन हुन थालेको थियो। टेलिभिजन भनेको उही नेटिभी। 

त्यो दिन पन्ध्र÷बीस पत्रकार तल कार्यालय परिसरमा किसुनजीको प्रतिक्षा गरिरहेका थिए। किसुनजी तल झरे। पत्रकारले घेरेर प्रश्न सोध्न थालिहाले। किसुनजीको मुड त्यो दिन खासै ठिक देखिदैनथ्यो। उनको ‘सेन्स अफ् हयूमर’ पनि कतै हराएको थियो। अन्य पत्रकारले दुई तीनवटा प्रश्न सोधेपछि पत्रकार तोया ओझाले किसुनजीसँग प्रश्न सोधे। 

‘तपाई कस्तो पत्रकार? तपाईको पत्रिका कुन हो?’ किसुनजीले सोधे। 
‘किसुनजी म मासिक पत्रिका निकाल्छु्’, तोया ओझाले भने। 
‘कुन पत्रिका?’ किसुनजीले झर्किदै सोधे। 
‘प्रस्फुटन मासिक’, तोयाले भने। 
‘प्रस्फुटन मासिक? तँलाई जुत्ता हान्छु, ए यसलाई जुत्ता हान त’, किसुनजी एक्कासी आक्रोशित भए। 
‘मैले के गरें र किसुनजी, किन जुत्ता हान्ने?’ तोयाले भने। 
‘बढ्ता बोल्छस्? तँलाई अहिल्यै जुत्ता हान्छु’, किसुनजीले भने। 

पत्रकारहरूको पँक्तिमा सन्नाटा छायो। पत्रकार तोया ओझासँग न त किसुनजीको चिनजान थियो, न उनले किसुनजीका बारेमा केही नचाहिने लेखेका थिए। किसुनजीको त्यो कुन मनोदशा थियो, जसबाट उहाँको मुखबाट त्यस्तो अप्रिय बचन निस्कियो। पत्रकारहरु हतप्रभ भए। किसुनजी घरतिर लागे। 

पत्रकार तोया ओझा स्तब्ध थिए। पत्रकारमाझ उनको नूर गिरेजस्तो भएको थियो। मैले उनलाई गएर भनें, ‘किसुनजीको आज ‘मुड–अफ’ छ, सायद पार्टीभित्रको किचलोले होला, अर्कै सन्दर्भको आवेग तिमीमाथि पोख्नुभएको हुनसक्छ।’

त्यो दिनपछि तोया ओझा पत्रकारिताको मञ्चमा कतै देखिएनन्। पाँच÷छ महिनापछि कमलादी (कुमारी हल जाने बाटो)नेर मैले उनलाई एउटा औषधि पसलमा औषधि बिक्री गरिरहेको देखें। 

‘कुसुमजी, मैले त पत्रकारिता छाँडे यार। न त खान पुग्ने, न सम्मान पाइने। फार्मेसी खोलेको छु, अब यसबाटै गुजारा हुन्छ’, तोयाले भने। 

यसरी किसुनजीको एउटा वाक्यले एउटा पत्रकारलाई फार्मेसी सञ्चालक बनाइदियो। 

‘गान्धी युगका ज्योती’

जे होस्, किसुनजी हाम्रा लागि सदा स्मरणीय छन्। 

भारतका विलक्षण आध्यात्मिक प्रतिभा ओशो रजनीश र किशुनजीको जन्मोत्सवमा एक दिनको मात्र अन्तर छ।  शान्ति, अहिंसा र सत्याग्रहको विचार दर्शनमा अडिग रहि प्रजातन्त्र प्राप्तीका लागि पचास वर्ष बढी संघर्ष गरेका किशुनजीले आफ्नो जन्मोत्सव तपोवनमा मनाउँदै आएका थिए। नागार्जुन हिलस्थित ओशो तपोवनमा किसुनजीको ८६ औं जन्मोत्सव आयोजना हुँदा म पनि सहभागी थिएँ, जुन अपूर्व थियो। मुलुकका सारा नेता त्यहाँ सहभागी थिए। 

ओशो र किशुनजीका आध्यात्मिक आयामको महत्व निर्वाण यात्रामा लागेका साधकमा मात्र सिमित छैन। ओशोले जसरी संसार र सन्यासलाई सम्यक ढंगले सन्तुलन गरेर अघि बढने र जिउने कला सिकाएर गए, त्यसैगरी किशुनजीले पनि सक्रिय राजनीतिसँगै सन्त जिवन बाँचेर राजनीतिमा नैतिक मुल्य, मान्यता, स्वच्छ छवी र सतचरीत्रको महत्व उजागर गरे। राजनीतिमा लाग्ने मानिसले उच्चता प्राप्त गर्ने माध्यम पद मात्रै हैन रहेछ भन्ने पुष्टी गरे। 

जन्मोत्सव समारोहमा तात्कालीन प्रधानमन्त्री मधवकुमार नेपालले भनेका थिए, ‘किसुनजी कसैप्रति दुर्भावना नराख्ने नेता’ हुन। अनी स्वामी आनन्दअरुणले भने झैं ‘हाँसेरै प्रधानमन्त्री भएका किशुनजी प्रधानमन्त्रीबाट हट्दा पनि हाँसेरै छाता र सुराही लिएर फर्किए।’ 

तपोवनको त्यो अपूर्व जमघट आफैमा ऐतिहासिक थियो। किशुनजीलाई शुभकामना दिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव तपोवन पुगेका थिए। नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले समेत किशुनजीलाई ‘सन्त नेता’ का साथै ‘सच्चा लोकतन्त्र र राष्ट्रवादी नेता’का रुपमा स्विकारे। 

किशुनजी निष्ठाका धरोहर थिए। त्यागका प्रतिमुर्ती। विपी कोईरालालगायतका नेतासमेत सशस्त्र संघर्षमा जुट्दा किशुनजीले निर्वासन र सशस्त्र संघर्षको विपक्षमा आफूलाई उभ्याए। अरु नेता सम्झौता गरेर जेलबाट रिहा हुँदा उनी जेलमै रहे। सिंगो मुलुक राजतन्त्र फाल्ने संघर्षमा लाग्दा उनले ‘सेरिमोनियल राजतन्त्र’को वकालत गरे। गणतन्त्र आइसक्दा पनि उनले आफ्नो अडान छाडेनन्। 

स्वामी आनन्द अरुणले किशुनजीलाई ‘गान्धी युगका ज्योती’ भनेर मुल्यांकन गरेका थिए।  त्योबेला स्वामी अरुणले भनेका थिए, ‘किशुनजीले मलाई आफना गोप्य डायरी पनि देखाउने गर्नुभएको छ। त्यसमा एक ठाउँमा किशुनजीले महात्मा गान्धीको शिरको पछाडि भागमा मैले एक प्रकारको उर्जाको उज्यारो घेरा(औराहा) देखेको उल्लेख गर्नुभएको छ। मलाई लाग्छ जसको सहस्त्रार चक्र जागृत छ, त्यस्ता सन्तमा मात्र त्यस्तो उज्यालो उर्जा चक्र हुन्छ। र त्यस्तो चक्र साधारण मानिसले हैन, कुनै साधक वा सन्तले मात्र देख्न सक्छ। मेरो अनुभवले भन्छ, किशुनजीमा पनि त्यस्तो औराहा थियो, जस्तो औराहा महात्मा गान्धीमा।’ 

किशुनजीको सोही उर्जाले नेपाली राजनीतिलाई पनि सम्यक शुद्धतातिर लगेको थियो। अहिले किशुनजीका अनेक किस्सासँगै उनका आदर्शको अभाव पक्कै खटकिएको छ। 

प्रकाशित मिति: : 2021-03-13 18:28:00

प्रतिकृया दिनुहोस्