‘फोटो नखिच है भाई’
जिवनमा एउटा रिक्तताले सँधै चिमोटीरहन्छ कि मैले गायक नारायण गोपाललाई प्रत्यक्ष देख्न र भेटन पाइन। नारायण गोपाल जिवितै छँदा म बुटवलबाट काठमाडौं आइसकेको थिएँ र सत्र/अठार वर्षको तन्नेरी भइसकेको थिएँ।
जुन दिन प्रज्ञा प्रतिष्ठानमा नारायण गोपालले गाउने भनिएको थियो, म निमन्त्रण कार्ड बोकेर प्रज्ञा प्रतिष्ठान जाँदा त्यसै दिन स्वरसम्राट विरामी भएर अस्पताल भर्ना हुनुभएको सूचना टाँसीएको रहेछ। म मर्माहत नै भएको थिएँ।
मैले कवि हरिभक्त कटवाललाई मातेर न्यूरोडतिर ढलेको पनि देख्न पाइन। हरिभक्त एक दिन ढुनमुनीदै गोरखापत्रका तात्कालीन सम्पादक बालमुकुन्ददेव पाण्डे(बादेपा)लाई भेटन गएछन्। सम्पादकसँग रक्सी पिउन पैसा मागेछन्।
‘यत्तिकै पैसा दिन त मिल्दैन, तर एउटा कविता छ भने पाउँ, त्यो छाप्छु, त्यसको पारिश्रमिक अहिल्यै दिउँला’, बादेपाले भनेछन्। हरिभक्तले त्यही बसेर फटाफट लेखेछन्, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु, बिथोल्न नआउ।’
प्रकाशित हुनुअगावै पारिश्रमिक लिएर हरिभक्त लागे, भुगोलपार्कबाट पश्चिमतिरको साँघुरो गल्लीतिर, रेगुलर भट्टीमा। सोही गीतपछि नारायण गोपालले गाए। बस, हरिभक्तका यस्ता किस्सा अनेक सुनियो, उनका समकालीन किशोर नेपाल, बादेपा र हरि अधिकारीको मुखबाट। उनीहरुको मातहत रहेर मैले पत्रकारिता गर्न पाउँदाको ‘बेनिफिट’ हो कि यस्ता किस्सा धेरै सुनियो, जुनपछि कुनै सन्दर्भमा चर्चा गरौंला।
कोठामा पिउन बस्दा झ्याल बन्द गर्ने कवि भूपी शेरचनसँग पनि भएन भेट मेरो। मातेपछि झ्याललाई ढोका मानेर बाहिर निस्कन खोज्दा तल लडिएला भन्ने भयबोधकै कारण उनी झ्याल बन्द गर्थे रे भन्ने किस्सा सुन्नु र ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ पढनुबाहेक अब मसँग अरु विकल्प बाँकी छैन।
मैले प्याजका पत्र–पत्र केलाउने निबन्धकार शंकर लामिछानेलाई पनि देख्न पाइन। अनि मैले देख्न पाइन, भैरव अर्याललाई, जसको ‘जय भुँडी’ पढदै म आफ्नै भुँडी छाम्थें।
मेरो अहोभाग्य भनौं, संयोग भनौं या बालकृष्ण समले भन्ने गरेको नियमित आकस्मिकता, मैले सशक्त नारी हस्ताक्षर पारिजातलाई चाहिँ पटक–पटक भेटने मात्र हैन, दोहोरो चिनजान गर्ने मौका पाएँ।
नेपाली साहित्यसँगको यस्तो सामिप्यता र पारिजातसँगको मेरो पहिलो भेटको सन्दर्भ त मेरै नामाकरणबाट प्रारम्भ हुन्छ। यो २०३४ सालतिरको प्रसंग हो। म त्यसबेला भर्खर चार वर्षको फुच्चे थिएँ। हाम्रो घरमा एक दिन कविवर केदारमान व्यथित आए। मेरो चंचलेपन देखेर कविवरले भने, ‘कस्तो कुसुमजस्तो कोमल र चंचल।’
कविवर गएपछि आमाले जिस्क्याएर ‘कुसुम कुसुम’ भन्न थाल्नुभयो। बाले पनि ‘ए कुसुम कुसुम’ भनेर बोलाउन थाल्नुभयो। लौ, मेरो न्वारानमा पण्डितजीले राखिदिएको गहन र ओजपूर्ण नाम ‘गेहेन्द्रराज भट्टराई’ त एकाएक ओझेल पो हुन थाल्यो। पाँच वर्षको उमेरमा भैरहवाको इन्द्रराज्य लक्ष्मी माविमा कक्षा एकमा भर्ना गर्दा मेरो नाम लेखियो, ‘कुसुम भट्टराई ।’
२०३७ सालको जनमतसंग्रहपछिको परिवेशमा सम्भवतः २०३९ सालतिर हुनुपर्छ, भैरहवामा एउटा बृहत कवि सम्मेलनको आयोजना गरियो, जुन सम्मेलनमा सहभागी हुन काठमाडौंबाट मेरो नाम राखिदिने कविवर केदारमान व्यथित र पारिजातलगायतका साहित्यकारको टोली आएको थियो। पारिजात नयाँ सडकस्थित हाम्रै डेरामा बसिन्। हो, त्यसैबखत नौ/दश वर्षको उमेरमा मैले पहिलो पटक पारिजातलाई दैख्ने मौका पाएको थिएँ।
मलाई सम्झना छ, उनी पक्षघात पिडित भइसकेकी थिइन्। उनलाई पिसाब फेर्न जानका लागि अरु कसैको सहाराको खाँचो पथ्र्यो। पारिजातले हामी केटाकेटीलाई गाला मुसारेर माया गरेको, चकलेट दिएको अनि ‘पढनुपर्छ, लेख्नुपर्छ, देश र जनताको सेवा गर्नुपर्छ’ भनेको म झलझली सम्झिरहेको छु।
२०४६ सालमा एसएलसी पास गरेर काठमाडौं आउँदा मुलुकमा जनआन्दोलन उफानमा थियो। र, म्हेपीमा बुबा रामचन्द्र भट्टराईसँगै गएर मैले पारिजातलाई फेरि भेटें। म्हेपीमा उनको निवास मानौं साहित्यको मन्दिर झैं थियो। चारैतिर किताबै किताब। नयाँ किताब टन्नै थिए, जुन पढन मन लागे किन्नुपथ्र्यो। लेखकहरूले पारिजातका लागि भनेर पाँच/दश प्रति नयाँ किताब लगेर उपहार स्वरुप छाडिँदिन्थे र उनको आयको एउटा झिनो श्रोत त्यही थियो।
‘फुच्चे हुँदा देखेकी थिएँ, यो त तन्नेरी भएछ, अब के पढने विचार छ?’ पारिजातले भनिन्।
‘आन्टी म त पत्रकारिता पढने’, मैले भनें।
‘पत्रकारिता राम्रो हो, लेखक पनि बन्नुपर्छ है’, पारिजातले भनिन्।
सुकन्या दिदी त्यही थिइन्। पारिजात निकै दुब्लाइसकेकी थिइन्। तैपनि विचार र भावमा क्रान्तिकारी ओज उस्तै थियो। पारिजातको आम्दानीको श्रोत लेखनमात्र थियो। फुटकर रचनाको पारिश्रमिक, पुस्तकको रोयल्टी र प्रज्ञा प्रतिष्ठानको विद्वतवृत्ति उनका आम्दानीका श्रोत थिए। उनकी बहिनी सुकन्या एक प्रोजेक्टमा जागिरे थिइन् र त्यसबाट पनि उनीहरूको खर्च धान्न मद्दत गरेको थियो।
दार्जीलिङको लिंगीय चियाकमानमा जन्मिएकी पारिजात २०११ सालमा काठमाडौं आएकी हुन्। पद्यमकन्या कलेजमा बिएसम्म त पढिन् तर एमए गर्ने धोको भने शारिरीक अस्वस्थताका कारण पुरा हुन पाएन। सानैमा मातृबात्सल्यबाट बञ्चित पारिजातले २०२९ सालमा पितृशोकको पिडा भोगिन्।
नेपालको प्रगतिशील साहित्य र जनवादी संगीतमा प्रख्यात पारिजातको चर्चित कृति ‘शिरिषको फूल’ ले मदन पुरस्कार पाइसकेको थियो, २०२२ सालमा। २०२५ सालमा ‘महत्ताहिन’ उपन्यास, सोही साल ‘आदिम देश’ कथा संग्रह, २०२९ सालमा वैंशको मान्छे’ उपन्यास, २०३२ सालमा ‘तोरीबारी बाटा र सपनाहरू’ उपन्यास, सोही साल ‘सडक र प्रतिभा’ कथा संग्रह, २०३५ सालमा ‘अन्र्तमुखी’ उपन्यास र सोही साल ‘उसले रोजेको बाटो’ उपन्यास प्रकाशित भए। यसरी नेपाली साहित्यमा एउटी सशक्त नारी हस्ताक्षरको उदय भएको थियो।
२०२४ सालमा ‘राल्फा’ नामक जनवादी लेखक, कलाकार र कविको संगठन स्थापना भएको थियो र पारिजात सोही संगठनमा आवद्ध थिइन्। राल्फा समूहमा रामेश श्रेष्ठ, रायन, अरीम, मंजुल आदि सक्रिय थिए। उनीहरूसँगै पारिजात पनि देशका विभिन्न ठाउँमा सांगीतिक र साहित्यिक कार्यक्रम लिएर जनतालाई परिवर्तनका पक्षमा जगाउँदै हिँडथिन्।
यही सक्रियताबीच उनमा हाडजोर्नीको समस्या देखियो। हुँदाहुँदा उनलाई क्षयरोग, अल्सर र दम पनि भयो। यस्ता अनेक स्वास्थ्य समस्यासँग जुझ्दै उनी लेखनमा सक्रिय रहँदै आइन्।
२०३४ सालमसम्म आइपुग्दा पारिजात साहित्यिक मात्र हैन, राजनीतिक रुपमा पनि सक्रिय भइन्। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)को सदस्य भइन्। त्यसैताका उनी अखिल नेपाल महिला संघको पनि अध्यक्ष बनिन् र शारिरीक अस्वस्थताकै बीच २०३६ सालको आन्दोलनमा सक्रिय भइन्।
२०३६ सालमा प्रगतिशील लेखक कलाकार संघको स्थापनामा उनको विशेष भूमिका थियो र मेरा पिताजी पनि सोही संगठनमा हुनुहुन्थ्यो। म्हेपीमा तीन चार पटक पारिजातलाई भेटन गएँ। उहाँका कृतिहरू पढ्न थालेपछि पारिजातको प्रभाव ममा पनि परिहाल्यो।
२०४७ सालको परिवर्तनपछि म पत्रकारिता विषय लिएर आरआर कलेजमा भर्ना भएँ। आरआर कलेजमा अखिलका कार्यकर्ताको जगजगी थियो। कवि बासुदेव अधिकारीले हरेक महिना साहित्य सन्ध्या कार्यक्रम चलाउँथे, जसमा म नियमित भाग लिन्थे। साहित्य सन्ध्यामा हरेक महिना एकजना चर्चित साहित्यकारलाई प्रमुख अतिथिका रुपमा डाकिन्थ्यो। यसैक्रममा एकपटक पारिजात प्रमुख अतिथिका रुपमा आइन्।
तीन दर्जन नयाँ पुराना कविले कविता सुनाएँ। मैले पनि पारिजातको सामुन्ने एउटा बडो क्रान्तिकारी कविता सुनाएँ। मलाई सम्झना छ, ‘भरिया’ शिर्षकको त्यो कविताका अन्तिम पंक्ति यस्ता थिए–
‘भरीया दाई, कति बोक्छौ मालिकका भारीहरू
कति खन्छौ साहुका बारीहरू
अब खन्नुपर्छ संघर्षका बारीहरू
अब बोक्नुपर्छ बमका भारीहरू’
मेरो कविता सुनेर पारिजात निकै खुशी भइन्। उनले सबै कविको कविता मुल्यांकनका क्रममा मेरो नामै लिएर भनिन्, ‘कुसुम भाईको कवितामा क्रान्ति र विद्रोहको भनक पाउन सकिन्छ।’ मेरो त्यसबेलाको युवा आवेग र संगतको परिणाम थियो, विद्रोही भावको कविता। तर, म कम्युनिष्ट चाहिँ कहिल्यै भइन।
२०४९ सालतिरको प्रसंग हो। पारिजात विरामी भएर वीर अस्पतालमा भर्ना भएकी थिइन्। म तिनताक सोल्टी क्यासिनोका मालिक आरडी टटलको लगानीमा प्रकाशित र मुकुन्द पराजुली सम्पादक रहेको ‘जनमञ्च साप्ताहिक’ मा संवाददाता थिएँ। पारिजात लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ भर्ना भएको खबर पाएपछि फोटो पत्रकार चन्द्रशेखर कार्की, पत्रकार मित्र रमेश केसी र म उनलाई भेटन अस्पताल गयौं।
‘आन्टी एउटा अन्तर्वार्ता गर्नुप-यो, लामो हैन, दश पन्ध्र मिनट भए पनि कुराकानी गरौं’, मैले भनें।
‘अब मैले भन्न के बाँकी छ र? जे भन्नु छ सबै मेरा कृतिहरूमा भनिसकेकी छु। मलाई मिडियाबाजी मन पर्दैन भाई’, पारिजातले भनिन्।
‘हजुरको लागि हैन, हाम्रो लागि भए पनि कुराकानी गर्नुस् न दिदी’, रमेश केसीले भन्यो। बल्ल बल्ल दश पन्ध्र मिनेट कुराकानी गर्ने समय दिइन् पारिजातले। अस्पतालको बेडमै थिइन् र सकी नकसी कुराकानी गरिन्। जब चन्द्रशेखरले फोटो खिच्न थाले, पारिजातले भनिन्, ‘फोटो नखिच न भाई।’
‘किन दिदी ?’ रमेशले सोध्यो।
‘मलाई ग्लेमरस जिवन र मृत्यु मन पर्दैन क्या। म समान्य मान्छे हुँ, समान्य भएरै मर्ने हो। ग्लेमरस मान्छे हैन क्या म’, पारिजातले भनिन्।
मलाई लाग्यो, पारिजातले त्यसो भन्नुमै ग्लेमर थियो, त्यसो भन्नुमै सौन्दर्य थियो।
केही सातापछि पारिजातको निधन भयो।
ती पारीजात थिइन् कि सकम्बरी, बहस हुँदै जाला। तर, ‘शिरिषको फूल’ भने फुलिरहनेछ, पारिजातको कृतिमा पनि, प्रकृतिमा पनि।