काम पाइरहने निर्देशक

नरेश फुयाँल

काठमाडाैं

नेपाली चलचित्र क्षेत्रमा निर्देशकको संख्या उल्लेख्य रहे पनि निरन्तर काम गरिरहनेहरूको संख्या भने न्यून छ । एक/दुईवटा चलचित्र निर्देशन गरेर यो क्षेत्रबाटै पलायन हुनेहरूको बाहुल्यता रहे पनि केही भने निरन्तर निर्देशनमै छन् । यद्यपि दशकौंदेखि निर्देशनलाई अविराम निरन्तरता दिनेको संख्या भने शून्य प्रायः छ । 

रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, मिलन चाम्स, विकास आचार्य, दीपाश्री निरौला, प्रदीप भट्टराई, दिनेश राउत, झरना थापा, सुदर्शन थापा, दीपेन्द्र लामा, हेमराज बीसी, दिवाकर भट्टराईलगायत निर्देशकहरूले बाक्लै संख्यामा चलचित्र निर्देशन गरिरहेका छन् ।

रामबाबु गुरुङ कबड्डी सिरिजसँगै अन्य चलचित्र निर्देशन गर्दै आएका छन् । बर्सेनि गुरुङ निर्देशित चलचित्रहरू रिलिज भइरहेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको थियो । अहिले उनी ‘कबड्डी–४’ निर्देशन गर्ने तयारी गर्ने तयारी गरिरहेका छन् । 

दीपेन्द्र के खनाल पनि अविराम चलचित्र निर्देशन गरिरहेका निर्देशक हुन् । चलचित्रले राम्रो व्यापार गरुन् वा नगरुन् उनी निर्देशनबाट पछि हटेका छैनन् । ‘पशुपतिप्रसाद’ यता उनले निर्देशन गरेका चलचित्रले राम्रै बजार पाइरहेका छन् । अहिले उनी ‘चिसो मान्छे’ छायांकन गरिरहेका छन् । 

मिलन चाम्स पनि निरन्तर चलचित्र निर्देशन गरिरहेका निर्देशकमध्येका एक हुन् । ‘वीरविक्रम’का सिरिजसँगै ‘ब्ल्लाइन्ड रक्स’ लगायत उनले चलचित्र निर्देशन गरिरहेका छन् । केही दिनअगाडि मात्रै उनले ‘गोरखा वारियर–२’ निर्माण घोषणा गरेका छन् ।

पछिल्लो समय निरन्तर निर्देशनमा रहने निर्देशक हुन्, दीपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिज उनले निर्देशन गरेका चलचित्र हुन् । कोरोनाका कारण ‘छक्का पञ्जा–४’ भने निर्माण कहिले हुने निश्चित भइसकेको छैन । तर, यो सिरिजलाई पनि दीपाश्रीले नै निर्देशन गर्नेछिन् । उनले निर्देशन गरेका ‘छक्का पञ्जा’का सिरिज सबै व्यापारिक रूपमा सफल छन् । ‘छक्का पञ्जा’ युनिटबाहेकका चलचित्र भने उनले निर्देशन गरेकी छैनन् । 

विकास आचार्य पनि लामो समयदेखि निर्देशनमा छन् । ‘नाइँ नभन्नू ल’ का सिरिज’ उनले निर्देशन गरेका छन् । विकास आचार्यले पछिल्लो समय ‘हजार जुनीसम्म’ निर्देशन गरेका थिए । विकास अहिले ‘नाइँ नभन्नू ल–६’ को तयारीमा छन् । 

प्रकाशित मिति: : 2021-03-13 16:52:00

प्रतिकृया दिनुहोस्