हिमालयका पहाडहरुमा, मुख्य हिमालयका हिउँ जम्ने पहाडहरुका सिलसिलामा महालंगुर भन्ने पहाड कान्तिपुरका पूर्वपट्टि रहेको छ। यसदेखि पूर्वपट्टि यस सिलसिलाको कुंभकर्ण पहाड जोरिएरै रहेको छ।
महालंगुरका टाकुरा या चुलिहरुमा सबभन्दा अग्लो चुलि नेपालपट्टि सगरमाथा र भोटमा ‘झ्यामो–लोङ्मा’ कहिन्छ। कुंभकर्णको मुख्य चुलि नेपालमा मकालु कहिन्छ; भोटपट्टि के नाउँले पुकारिन्छ, त्यो थाहा छैन। यसको उच्चाइ समुद्रका तहबाट २७७९० फुट छ; यो उच्चाइ कम होइन, तर यसभन्दा अग्ला हिमालयका चुलि धेरै नै हुनाले विशेष महत्त्वको छैन। सगरमाथाको उच्चाइ २९१४१ फुट नापिएको छ; यति अग्लो चुलि संसार भरमा अर्को नहुनाले बडो महत्त्वको वस्तु भई रहेको छ।
ई दुवै पहाड र चुलिहरु अचेलका नेपाल र भोटका राज्यको सिमानामा छन्। इनका दक्षिणपट्टि नेपालको किरात–प्रदेश र उत्तरपट्टि भोटको चङ प्रदेश रहेको छ। नेपाल र भोटको पहिला परिचय हुँदा नेपालका पुराना बासिन्दा नेवारहरुले भोटका यसै प्रदेशका बासिन्दासँग सम्बन्ध जोडेथे। यसै कारणले नेवारी–भाषामा भोटे–जातिलाई कहने सञ शब्द यसै प्रदेशका नाउँ चङबाट बनेको छ।
सगरमाथाको महत्त्व अघि थाहा नभएको हुनाले नेपालका कुनै लेखमा पनि यसको चर्चा देखिँदैन। यसको महत्त्व अंग्रेजी–साहित्यद्वारा नेपालीहरुलाई मिलेको छ। अंग्रेजहरुले यसको नाउँ एवरेस्ट राखेका हुनाले यसको महत्त्व पहिचान गर्ने शिक्षित नेपालीहरु त्यसै अङ्ग्रेजी नाउँले जान्दछन्।
कान्तिपुरबाट यो चुलि केबल १०० माइल फरकमा छ। तैपनि यहाँका बासिन्दालाई सगरमाथा भन्ने कुन वस्तुको नाउँ हो थाहा हुँदैन। किरात–प्रदेशका जुन जुन ठाउँबाट यो चुलि देखिन्छ, उस उस ठाउँका बासिन्दाका मुखमा मात्र परम्पराबाट अरू सामान्य वस्तुको नाउँ सरह सगरमाथा भन्ने नाउँ चढिरहेको हुन्छ। यही हाल महालंगुर, कुंभकर्ण र मकालुको थियो। दशआठ वर्ख अगाडि इण्डियन–गवर्नमेण्टले प्रकाशित गरेका नेपालका नक्सा (मानचित्र) मा ई तिनौटा नाउँ चढाइएका हुनाले अब सबैलाई याद हुने भएको छ।