तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।
पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त्यसकै दलदलमा फसेका छन्। विभिन्न स्वार्थ समूह हावी हुँदा विधिविधानअनुसार कार्यसम्पादन गर्न असफल देउवाले सहमतिबाट पनि पार्टी चलाउन सकेनन्। सहमतिबाट अघि बढ्न खोजे विधिविधान, विधिविधानअनुसार चल्न खोजे सहमतिको उल्झन देउवाले कार्यकालको सुरुदेखि नै खेप्दै आएका छन्। विगतमा देउवाले नै पार्टी नेतृत्वबाहिर छँदा नेतृत्वलाई अप्ठेरो पार्न र आफ्नो स्वार्थ पूरा गर्न केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। अहिले असन्तुष्ट पक्षले देउवाको त्यही नीति अख्तियार गरेको छ। जसले कांग्रेस गतिहीन मात्र बन्न पुगेको छैन, देउवाको भागमा अपजसमात्र आइलागेको छ।
कांग्रेस नेतृत्वमा जारी भएको संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दललाई मूल प्रवाहमा ल्याउँदै देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनअन्तर्गत तीन तहको निर्वाचन गर्नेलगायत केही सकारात्मक काम गर्यो। तर कांग्रेसले त्यसको स्वामित्व नै लिन सकेन। संविधान कार्यान्वयनको पहल त कांग्रेसले लियो तर निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भयो। निर्वाचनमा भएको पराजयले कांग्रेस आन्तरिक कलहमा फस्नु अस्वाभाविक थिएन। योसँगै अर्को महत्वपूर्ण कुरा भयो, सभापतिमा निर्वाचित भएर पनि देउवालाई पार्टीभित्रै त्यस भूमिकामा अस्वीकार गर्नु। २० वर्षसम्म कोइराला परिवारको वरिपरि घुमेको कांग्रेस नेतृत्वमा देउवा प्राविधिक रूपमा त पुगे तर विद्रोही (पार्टी विभाजन गरेर फेरि आएका) नेताकै रूपमा उनलाई हेरिँदा इतर पक्षले न काम गर्न सहयोग गर्यो न त भएका सकारात्मक कामको स्वामित्व लियो।
झन्डै एक वर्ष निर्वाचनमा पराजयको जिम्मेवारी कसले लिने भन्नेमै रुमलिएको कांग्रेसले संगठन सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरे पनि विवादले बीचमै रोकियो। संगठन सुदृढीकरणतिर सभापति देउवाले मात्र होइन, पार्टीभित्र प्रतिपक्षी भूमिकामा रहेका नेता रामचन्द्र पौडेल पक्षले पनि ध्यान दिएन। गनगनमै पाँच वर्ष गुजारेका देउवा इतर पक्षमा पनि एकता र विश्वास कायम हुन सकेन। देउवाविरुद्ध एकैठाउँमा उभिए पनि आआफ्ना स्वार्थले इतर पक्षमा अनेकता बढ्दो छ। १३औं महाधिवेशनपछि पार्टीभित्र तेस्रो धारका रूपमा उभिएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूह पनि गुटगत स्वार्थ पूरा गर्न संस्थापन र इतर समूहलाई उपयोगको रणनीतिमै केन्द्रित रह्यो। आफूलाई युवा भन्ने कांग्रेस नेताहरू पनि संगठन निर्माणमा होइन, तत्कालको चर्चामा रमाइरहे। उनीहरूले पार्टीमा आफ्नो ठाउँ सुरक्षित गर्न निरन्तर गुटउपगुट र नेताको पछि कुदेर नै पाँच वर्ष बिताए।