ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । माओवादी नफर्किने जिकिर गरेका उनले एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताए ।
एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा रायमाझी पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताए । विचार, राजनीतिर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन सकिने उनको दाबी थियो । ‘सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ रायमाझीले भने ।
बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे । ‘हामी त भइरा’छौँ भने अरु साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ,’ उनले भने, ‘बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गरौँ ।’
साबिकको नेकपा विभाजित हुँदा रायमाझीसँगै गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री मणि थापा, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरु ओलीतिर लागेका थिए । सर्वोच्च अदालतको फैसलाले एकीकरण खारेज भएर एमाले र माओवादी ब्युँतिएपछि बादल, रायमाझीहरुले प्रधानमन्त्री ओलीको साथ छोडेका छैनन् । सांसद पद भए पनि ओलीको साथ नछोड्ने रायमाझीले दोहोर्याए ।