केपी ओलीको अल्पमतको सरकार हामीले मात्रै जोगाएर जोगिँदैन : झलनाथ खनाल (पोडकास्टसहित)

शिलापत्र

काठमाडौं

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पुनर्स्थापित भएको एमालेमा अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षको पुनर्मिलन निकै पेचिलो देखिएको छ। यी दुई पक्षबीच औपचारिक बोलचाल सुरु भएको छैन। देशभर कार्यालय पुनर्स्थापित गर्ने सन्दर्भमा पनि ओली पक्ष आक्रामक देखिन्छ र नेपाल–खनाल पक्षले राखेका बोर्डहरू हटाइरहेका छन्। रक्षात्मक देखिएको नेपाल-खनाल पक्ष अब कसरी बढ्ला ? यही सन्दर्भमा वरिष्ठ नेता झलनाथ खनालसँग शिलापत्रका लागि बसन्त बस्नेत र योगेश ढकालले गरेको कुराकानीको सम्पादित अंश  :

० तपाईंंहरूले अब पुरानो पार्टीमा फर्किने पुल नै भाँचियो भनेर भन्नुभएको थियो। तपाईंहरू पुरानै सांगठनिक संरचनामा फर्किनुपर्ने भयो। यसलाई कति सहज ढंगले लिनुभएको छ ?

तीन वर्षअघि जुन हिसाबले एमाले र माओवादी केन्द्रबीच एकीकरण सम्पन्न भएको थियो, त्यो एकीकरण सुविचारित, सुनियोजित, सिद्धान्त, ठोस कार्यदिशामा आधारित थिएन। हाम्रो पार्टी एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई जना व्यक्तिको परिणाम थियो। त्यतिबेला हामीले संस्थागत निर्णय गरेनौँ । दुईवटा पार्टीबीच एकता हुँदा आधिकारिक संस्थाहरू केन्द्रीय समिति, पोलिटब्युरो वा स्थायी समितिमा निर्णय हुनुपर्ने थियो। ती केही पनि भएका थिएनन्। त्यसकारण एकीकरणलाई रुपान्तरण गरेर लैजाने कुरामा समस्या थियो। त्यसका बाबजुद रुपान्तरित भइरहेका थियौँ । त्यो वस्तुगत, ठोस कुरा हो। तर, त्यो पार्टीलाई जुन कारणले सर्वोच्च अदालतबाट विघटन गर्ने काम भयो, त्योचाहिँ गलत हो। सर्वोच्च अदालतको फैसला राजनीतिक फैसला हो। तर, पनि फैसला भएकाले मान्न बाध्य छौँ। बाध्यतावश पूर्व बनिसकेको एमालेमा फर्केका छौँ । हामी मात्र फर्केको होइन, सिङ्गो पार्टी तीन वर्षअघिको अवस्थामा फर्केको हो। 

० केपी ओलीलाई तपाईंहरूले कारबाही गर्नुभएको थियो। त्यसलाई फुकुवा गर्ने वा अन्य प्रक्रिया पूरा गर्न बाँकी नै छ नि होइन ?

०७५ जेठ ३ गते यताका तीन वर्षको बीचमा जे-जति काम भएका ती सम्पूर्ण काम बदर भए। हामीले कारबाही गरेको निर्णय पनि बदर भयो। हामीले नेकपा एमालेको अध्यक्षलाई कारबाही गरेको होइन। नेकपाको अध्यक्षको हैसियतमा कारबाही गरेको हो। त्यो एउटा वस्तुगत परिस्थिति हो, अहिले भिन्नै वस्तुगत परिस्थिति छ। 

० तपाईंले भिन्नै वस्तुगत परिस्थिति भन्नुभयो। प्रधानमन्त्रीको सल्लाहकारले नै तपाईंहरूले यो बीचमा राजनीतिक अपराध गर्नुभएको छ भनेर गम्भीर आरोप लगाउनुभएको छ नि ? 

कुनै पनि व्यक्ति विशेषले गरेका टिप्पणीमाथि उत्रिन चाहन्नँ। म त्यो काँटको नेता पनि होइन। मलाई अहिले तपाईंले राजनीतिक परिस्थितिमा उभिएर राजनीतिक र सांगठनिक प्रश्न सोध्नुभयो भने स्वागत गर्छु। 

प्रकाशित मिति: : 2021-03-11 19:31:00

प्रतिकृया दिनुहोस्