'दागले केही अर्थ राख्दैन, मिस नेपालमा जाने सोचेकी छु' (भिडिओ)

सेतोपाटी

काठमाडौं

२१ वर्षीया जेनी खड्का 'एसिड अट्याक सर्भाइभर' हुन्। उनको बायाँ चिउँडोभन्दा तल घाँटी, छाती र हातमा तेजाबले जलेको छ। 

दुई वर्षअघिको घटनाले दिएको ज्यान र मनको घाउ आलै छ। तर उनी सबै चोट पन्छाएर आफ्नो पहिचान र कामको दायरा फराकिलो बनाउन लागिपरेकी छन्। 

हालै मात्र उनले 'मोडल हन्ट नेपाल' मा सहभागिता जनाएकी थिइन्। मोडलिङ र फेसनमा सानैदेखि रूचि भएको बताउने जेनी नेक्स्ट मोडल्स नेपाल प्रालिद्वारा आयोजित मोडल हन्टको छैठौं सिजनमा सहभागी भए पनि समय अभावका कारण थप अगाडि बढ्न पाइनन्। 

'समय नमिल्ने भएपछि यसपालि पछि हटेँ। अर्को वर्ष समय मिलाएर फेरि सहभागिता जनाउने सोचेकी छु,' उनले सेतोपाटीसँग भनिन्।

आगामी वर्ष मोडल हन्टमा मात्र नभई मिस नेपाल प्रतियोगितामै जाने योजना बनाएको उनी बताउँछिन्। 

आफ्नो रूचि पछ्याउन अभियन्ता उज्वलविक्रम थापाले प्रोत्साहन गरेको उनको भनाइ छ। जेनीका अनुसार उज्वलले नै यस प्रकारको प्रतियोगितामा सहभागी हुँदा करिअर बनाउन मद्दत हुने भन्दै सुझाएका थिए।

मोडलिङ क्षेत्रमा लाग्न जेनीको आफ्नै फोटोले पनि प्रेरणा दिएको थियो। तेजाब आक्रमणपछिको जेनीको एउटा फोटो सामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। फोटोग्राफर अर्जुन शाहले खिचेको त्यो फोटोमा शरीरमा दाग भए पनि मनबाट जेनी निकै खुलेकी र सुन्दर देखिन्छिन्। यो फोटो उनले काम गरिरहेको संस्था 'सगुन' को त्रैमासिक पत्रिकाका लागि खिचाएकी थिइन्। 

प्रकाशित मिति: : 2021-03-11 18:56:00

प्रतिकृया दिनुहोस्