त्यो 'अन्तिम बैठक'पछि बदलिएको पेरिसडाँडा : निराश नेता, अलमलमा कार्यकर्ता

प्रकाश भण्डारी

पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले सबैभन्दा बढी उतारचढाव भोगे। सडकमा शक्ति प्रदर्शनदेखि आरोपप्रत्यारोपसम्म उत्रे नेता कार्यकर्ता।

प्रतिनिधि सभाको विघटन र पुनर्स्थापनासँगै २ वर्षसम्म संघर्ष गरेको साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को इतिश्री हुँदै तथा एमाले/माओवादी केन्द्र पुनर्जन्मको साइत पनि यही मेसोमा जुर्‍यो।

नेताले गरेका फरक खाले निर्णयमा अदालतको निर्णयले एकैनासको पीडा थपिदियो।

विघटनको निर्णय अदालतले उल्ट्याउँदा जति निराश ओली देखिन्थे त्योभन्दा बढी निराशा अदालतले नेकपालाई विघटन गरेपछि एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छायो। अदालतको फैसलासँगै लड्डु खाएर प्रचण्ड-नेपालले खुसी मनाउ गर्दा ओली भारी मनका साथ बालुवाटारमा ७० औं जन्मजयन्ती मनाइरहेका थिए।

अदालतको फैसला भने ओली र नेपालका लागि जन्मदिनको उपहार बन्न पुग्यो। तर, ढुक्क मनले बर्थ डे सेलिब्रेसन नेपालले पनि गर्न पाएनन्। केक काट्न अघि नै अदालतले फैसला सुनाइदियो नेकपा नाम विवादको।

संसद विघटन बदरको फैसला ओलीको पराजय थियो भने नेकपा विघटनको फैसला प्रचण्ड-नेपाल सम्बन्धको तगारो। फैसलाले प्रचण्ड-नेपाल दोस्तीमा ब्रेक लागेसँगै नेता कार्यकर्तासमेत अलमलमा परेका छन्। उनीहरुमा निराशा छाएको छ।

प्रकाशित मिति: : 2021-03-10 11:31:00

प्रतिकृया दिनुहोस्