शुष्मा बराली
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन ११ फागुनमा सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यस अघिसम्म ‘प्रतिगमन’विरुद्ध सडकमा उत्रेका नागरिक अभियन्ता अहिले सामाजिक मुद्दातिर केन्द्रित छन् । त्यसैको पछिल्लो कडी हो, धनकुटा, भोजपुर र उदयपुर सीमामा सप्तकोशी नदीको मध्यभागस्थित किराँत समुदायको आस्थाको केन्द्र खुवालुङ संरक्षणमा अभियन्ताहरूको जागरुकता । अरुण, तमोर र दूधकोशीको संगमस्थलस्थित यो ढुंगामा सोमबार नागरिक अभियन्ताले प्रदर्शन गरे।
सप्तकोशीमा मोटरबोट चलाउन अवरोध पुगेको दाबी गर्दै सरकारले उक्त ढुंगा फुटाउने योजना अगाडि सारेको छ । त्यसविरुद्ध आन्दोलनमा उत्रिएको किरात समुदायलाई नागरिक अभियन्ताले साथ दिएका हुन् । किरात समुदायका पुर्खा यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दूधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रतिर फैलिएको इतिहास छ ।
के हो खुवालुङ ?
किराँत समुदायको सभ्यताको धरोहरका रूपमा लिइन्छ, खुवालुङलाई । खुवालुङसँग किरात समुदायको आस्था जोडिएको छ । उदयपुर, धनकुटा र भोजपुरको सीमा जोडिने ठाउँमा सप्तकोशी नदीको मध्यभागमा रहेको ढुंगालाई खुवालुङ भनिन्छ । यो वराहक्षेत्रबाट नजिक पर्छ ।
किराँती सभ्यताको संगमस्थलमा यो समुदायको छुट्टै कथा जोडिएको कवि राजन मुकारुङ बताउँछन् । उनका अनुसार किराँती सभ्यताको सुरुआतदेखि नै खुवालुङमा पूजा, अनुष्ठान गरिँदै आएको छ । ‘किराँती समुदायमा मुन्धुमबिना कुनै कर्मकाण्ड पूरा हुँदैन । मुन्धुमको सुरुआत नै खुवालुङ हो,’ उनी भन्छन्, ‘खुवालुङसँग मानव सभ्यताको विकास जोडिएको छ ।’ उनका अनुसार यसलाई शक्तिको रूप नमानेसम्म बिजुवा र धामीको शरीरमा दैवी शक्ति प्रवेश नगर्ने र उक्त शक्तिबिना मुन्धुम पूरा नहुने धार्मिक मान्यता छ ।