'महाशय! शिरदेखि पाउसम्मै हेरेर भन- म मान्छे होइन भनेर कहाँ लेखिएको छ?'

सेतोपाटी

काठमाडाैं

काठमाडौंमा नागरिक आन्दोलन चलिरहँदा सुर्खेत, वीरेन्द्रनगरमा बादी समुदाय धर्ना बसिरहेका छन्। 

खेतीयोग्य जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत २६ बुँदे मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि उनीहरूले धर्ना दिएको दुई साता भयो।

त्यसैबीच आइतबार अस्मिता बादी त्यहाँको प्रतिनिधित्व गर्दै काठमाडौं आएकी थिइन्। नागरिक आन्दोलन भइरहँदा आफू पनि यही देशको नागरिक भएको र आफ्नो पनि उत्तिकै अधिकार भएको बताउँदै उनले भनिन्, 'हाम्रो आन्दोलन भएको करिब दुई साता भइसक्दा पनि सरकारले हाम्रो कुरा सुनेको छैन। सुर्खेतको आवाज काठमाडौंले नसुनेकाले मैले मेरो कर्णाली अनि बादी समुदायलाई मभित्र बोकेर आएकी छु।'

यही फागुन १० गतेदेखि सुर्खेतमा बादी आन्दोलन भएको हो। गत आइतबार उनीहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा मन्त्रिपरिषद कार्यालय गेटमा प्रहरीले लाठी चार्ज गरे। यसपछि उनीहरूको आन्दोलन चर्कियो। 

त्यसअघि २०६४ सालमै उनीहरूले ४८ दिने शान्तिपूर्ण आन्दोलन गरेका थिए। जग्गाजमिन, शिक्षा, स्वास्थ्य लगायत २६ बुँदे माग पनि पहिल्यै थिए। सरकारले त्यस विषयलाई हेर्‍यो, सुनेजस्तो गर्‍यो तर कार्यान्वयन गरेन। 

अनि आफूहरूले फेरि आन्दोलन गर्नुपरेको बताउँदै अस्मिताले भनिन्, 'हामी बादीहरू ७४ जिल्लामा फैलिएका छौं। तर सरकारले हामीलाई देशको नागरिकै होइन जसरी बेवास्ता गर्छ। जसले गर्दा हामी जहिल्यै पछाडि रह्यौं। त्यसै कारण सम्पूर्ण कर्णाली प्रदेशका बादीहरू एकजुट भएर आन्दोलनमा उत्रिनुबाहेकको विकल्प देखेनौं।'

प्रकाशित मिति: : 2021-03-09 19:40:00

प्रतिकृया दिनुहोस्