अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ।
धानखेतीका लागि असार साउन र गहुँ तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ।
यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो। मागकोे करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए।
मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे। त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन्।
प्रायः सधैँ खाली हुने गोदाम रासायनिक मलले भरिएका छन्। आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ। अहिले गोदाममा करीब १३ सय टन रासायनिक मल मौज्दात छ।
रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताए।
पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ।
रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादनसमेत प्रभावित हुँदै आएको छ। अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ।
धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्तमात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागेअनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताए।
अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ। बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ।
बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, एक हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ।
त्यसैगरी बाँकेमा करिब १८ हजार हेक्टरमा गहुँ खेती हुन्छ। गहुँखेतीका लागि दुई हजार ५०० मेट्रिकटन युरिया एक हजार ५०० मेट्रिकटन डिएपी र ५० टन पोटास मल आवश्यक पर्छ। (रासस)