जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त हुनेभएको छ।
नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ। सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेकाहुन्।
सो सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिएका हुन्। योजनाअन्तर्गत लैङ्गिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ।