बिहान ५ बजे घण्टी बज्यो । विद्यार्थीहरू जर्याक–जुरुक उठेर हात मुख धोए ।
अघिल्लो दिन अबेर राति १० बजेसम्म कक्षामै रहेका उनीहरू बिहान ६ नबज्दै कम्पाउन्डमा भेला भए – मर्निङ वाकका लागि । प्राध्यापकलाई देखेपछि विद्यार्थीहरूले ‘गूड मर्निङ सर’ भने ।
प्राध्यापकले जवाफ फर्काए – युरोपियन देशहरूमा प्रायः बिहानको समयमा घाम नलाग्ने भएकाले घाम लागेको दिन ‘गूड मर्निङ’ भनिन्छ, हाम्रोमा ‘मर्निङ’ भने मात्र हुन्छ ।
मर्निङ वाकको रुट थियो – नमोबुद्ध नगरपालिका–२ फुलबारीदेखि भकुण्डेबेशी नजिकैको सैनिक ब्यारेकसम्मको ओरालो र उकालो । झण्डै १० किलोमिटर वाक गरेपछि उनीहरू खाजा खान क्यान्टिनमा भेला भए ।
सहभागी विद्यार्थीमध्ये कतिपयका लागि उकाली–ओराली जीवनकै पहिलो अनुभव हो । काठमाडौंका ‘हुनेखाने’ परिवारका छोराछोरी । यीमध्ये अधिकांशले जीवनमा दुःख र अभाव झेल्नुपरेको छैन । सामान्यतया बिदाको दिनमा ७–८ बजेसम्म ओछ्यान नछाड्ने पुस्ता ।
विगत ३ दिनदेखि उनीहरू घरपरिवारबाट टाढा छन्, साथमा मोबाइल छैन, इन्टरनेटबाट पनि पूरै अलग तर उनीहरू रमाइरहेका छन् । १ मिनेट मोबाइल फोन नछाड्ने पुस्ता अहिले १ हप्तादेखि मोबाइल फोन विनै काम गरिरहेको छ । १० दिनसम्म उनीहरूले मोबाइल प्रयोग गर्न पाउने छैनन् ।
शनिवार काठमाडौं ‘स्कूल अफ ल’को भकुण्डेबेशीमा रहेको ‘आउट रीच क्लास’को दृश्य हो । भक्तपुरको दुवाकोटमा रहेको कलेजमा अध्यापन हुन्छ भने ‘आउट रीच’ कार्यक्रम काभ्रेमा रहेको होस्टलमा हुन्छ ।