महाशिवरात्रिका लागि ११ वटा समिति गठन, पशुपति क्षेत्रमा सफाइको काम तीव्र

File Photo
File Photo

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ।

कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ।

यसैगरी कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ।

त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ। आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले बताए।

कोषले महाशिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी शुरु गरेको छ। महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ।रासस

प्रकाशित मिति: : 2021-03-06 07:55:00

प्रतिकृया दिनुहोस्