कमला भसिन चर्चित भारतीय नारीवादी अभियन्ता हुन्। लैंगिक समानताबारे करिब चार दशकदेखि निरन्तर विमर्श गर्दै आएकी उनी महिला अधिकारका क्षेत्रमा काम गर्ने ‘संगत’की संस्थापकसमेत हुन्। उनीसँग ‘१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को सन्दर्भमा नरेश ज्ञवालीले संवाद गरेका छन् :
विश्वभर कति संख्यामा महिलाहरू हिंसाको सिकार हुने गरेका छन्, र कतिले न्यायका लागि कानुनको ढोका ढकढक्याउने गरेका छन् ? साथै दक्षिण एसियाका मुलुकमा यसको तस्बिर कस्तो देखिन्छ ?
सन् २०१२ मा विश्व स्वास्थ्य संगठनले एउटा अध्ययन गरेको थियो, त्यसमा प्रत्येक तीन महिलामा एकजनामाथि हिंसा हुने गरेको देखाएको थियो। अर्थात् समग्र विश्वमा एक सय करोडभन्दा बढी महिलामाथि हिंसा हुने गर्छ। योभन्दा पनि दुःखको कुरा के हो भने संसारको यो एक मात्र युद्ध हो, जुन घरभित्र लडिन्छ। त्यसैले हामीले सन् २०१२ मा ‘वन विलियन राइजिङ’को सुरुवात गरेका थियौँ। रह्यो कतिजनाले न्यायको ढोका ढकढक्याउँछन् भन्ने त्यसमा हामीले के बुझ्नुपर्छ भने हिंसा गर्ने मान्छे मेरो पति अर्थात् ‘मालिक’, ‘स्वामी’, ‘परमेश्वर’ हो भने मैले त्यसको उजुरी कहाँ गर्न सक्छु र ? किनभने मेरो विवाह हुँदा मेरो परिवारले मेरो ‘कन्यादान’ गरेँ, ‘गंगाको स्नान’ गरेँ भनिरहेको हुन्छ।
त्यो परिवार जिम्मेवारीबाट पन्छिन पाएकोमा सन्तोषको सास फेरिरहेको हुन्छ। त्यसपछि ऊ मेरो जिम्मेवारी लिन तयार हुँदैन। जहाँ बिहे गरेर मलाई पठाइएको हो, त्यो घरकाले मलाई बलियो गरी उभिनै सिकाएको हुँदैन कि त्यति साहस बटुल्न सकुँ। म मध्यम र श्रमजीवी वर्गकी महिला हुँ भने अलिकति हिम्मत गर्न सक्छु, किनभने मैले परिवार पाल्न काम गर्नुपरेको हुन्छ। अन्य महिलाको हकमा यो सम्भव नै छैन। त्यसैले न्याय माग्ने कुरा त छोडिदिनुस् त्यसबारे सोच्न पनि सक्दैनन् आममहिलाहरू।
निकै कम महिलाहरू जो न्याय माग्न जान्छन्, तिनलाई प्रहरीले भन्छ– ‘घर जाऊँ, लोग्नेले अलिकति कुट्यो त के भो ? उसको अधिकार हो।’ यस्तो किन हुन्छ भने हाम्रा प्रहरीले संविधान नै पढेका हुँदैनन्। उनको घरमा संविधानको एक प्रति हुन्छ कि हुँदैन, मलाई त्यो पनि थाहा छैन। भारतको हकमा भन्नुहुन्छ भने तीन दिनअघि मात्रै प्रधानन्यायाधीशले एकजना बालिकाको बलात्कार गर्ने सरकारी अधिकारीलाई बलात्कृत बालिकासँग विवाह गर्न भने। उनका अनुसार ती बालिकासँग बिहे गरेपछि सजाय पनि हुँदैन र जागिर पनि जोगिन्छ।